सञ्चारमाध्यममा गुणस्तरीय सामग्री अभावः यादव

[mashshare]

महेश कठायत
वीरगंज ।
मधेश प्रदेश सरकार मातहत रहेको आम सञ्चार प्राधिकरणले मधेश प्रदेशमा सञ्चालन भइरहेका सञ्चारगृहहरुको अनुगमन गरेको छ । आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव नेतृत्वको टोलीले शनिबार पर्सा जिल्लाका विभिन्न सञ्चारगृहको अनुगमन गरेको हो । प्राधिकरणले प्रदान गर्दै आइरहेको लोककल्याणकारी विज्ञापन सञ्चार माध्यमले प्रसारण तथा प्रकाशन गरे नगरेकोलगायतका विषयहरुमा अनुगमन गरिएको अध्यक्ष यादवले बताए ।

मधेश प्रदेशका सप्तरीदेखि पर्सासम्मका आठ वटै जिल्लाका सञ्चारमाध्यमहरुको अनुगमन तथा निगरानी गर्ने गर्ने क्रममा सञ्चारमाध्यमको अवस्था सन्तोषजनक नरहेको अध्यक्ष यादवको भनाइ छ । रेडियो वीरगंज, टिभी वीरगंजलगायत थोरै मात्र सञ्चारगृहको अवस्था स्तरीय रहेको उल्लेख गर्दै उनले अधिकांश एफएमहरुको अवस्था दयनीय रहेको सुनाए । सञ्चारगृहको अनुगमनका क्रममा वीरगंज आइपुगेका आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवसँगको संक्षिप्त कुराकानीः

सञ्चारगृह अनुगनका क्रममा मधेशमा सञ्चारमाध्यमको अवस्था कस्तो पाउनु भयो ?
– समग्र सञ्चारगृहको अवस्था हेर्दा दयनीय छ । थोरै मात्र सञ्चारमाध्यमको अवस्था राम्रो छ, सबल रुपमा अघि बढिरहेका छन् । उनीहरु पस्किने कन्टेन्ट पनि स्तरीय छन्, बजारमा पनि पहुँच छ । तर, अर्कोतर्फ छापामाध्यमको अवस्था साँघुरिदै गएको छ । एफएमहरुमा पनि विज्ञापन न्यून हुँदै गएका छन् । टिभीको अवस्था पनि उस्तै छ । किनभने सञ्चार माध्यमले पस्किने कन्टेन्टले पनि सञ्चारमाध्ययम कति सबल छ भन्ने देखाउँछ । टिभी र रेडियोको कुरा गर्दा कम्तिमा नियमित समाचार प्रसारण हुनु पर्यो । विचारका कार्यक्रम हुनु पर्यो । रिर्पोटमा आधारित कार्यक्रम हुनुपर्यो । त्यसो भए मात्र हामी सवल भएको बुझ्छौ । अहिले अधिकांश रेडियोहरुमा न कार्यक्रम छ न समाचार छ । अन्य राष्ट्रियस्तरका समाचार संस्थाहरुको सहयोगमा समाचार प्रसारण गर्दै आएका छन् । यसलाई कसरी सुधार गर्न सकिन्छ, हामी गृहकार्य गरेर अघि बढ्छौँ ।

पछिल्लो समय मिडिया क्षेत्रमा पनि विकृती मौलाएको भन्ने सुनिन्छ । यसको नियमन कसरी गरिरहनुभएको छ ?
– अहिले विशेषगरी सामाजिक सञ्जालमार्फत केही विकृती देखिन्छ । यससम्बन्धमा कानुन बनाउने तयारी पनि भइरहेका छन् । हामी मधेश प्रदेशको सन्दर्भमा त्यस्ता सामग्री उत्पादन गर्नेलाई अनुगमन गर्न र कारबाहीको लागि सिफारिस गर्न सक्छौ । अहिले पत्रकारितामा गुणस्तरीय कन्टेन्टको अभाव देखिएको छ । पत्रकारिता क्षेत्रमा क्षमता र दक्षताको पनि अभाव छ । अर्को जिविकोपार्जनको लागि पनि पत्रकारितामा सुनिश्चिता नहुँदा यस्तो समस्या आएको देखिन्छ । यस्ता कुरालाई न्युनिकरण गर्दै जानुपर्छ । गुणस्तरीयतातर्फ सबैले ध्यान दिनुपर्छ ।

मधेश प्रदेशमा सञ्चारगृह तथा पत्रकारको गुणस्तर वृद्धिका लागि आम सञ्चार प्राधिकरणले के गर्दैछ ?
– आगामी आर्थिक वर्षमा हामीले मधेश प्रदेशका सम्पूर्ण पत्रकारहरुका लागि स्वास्थ्य र दुर्घटना बीमा गर्दैछौँ । मधेश प्रदेशलाई कार्यक्षेत्र बनाएर सक्रिय पत्रकारलाई एक लाख रुपैयाँको स्वास्थ्य बीमा र सात लाख रुपैयाँको दुर्घटना बीमा गर्न लागेका छौँ । मधेश प्रदेशका पत्रकारहरुलाई प्रेस प्रतिनिधि पत्र दिन आगामी आर्थिक वर्षदेखि गर्ने गरी नियमावली संशोधन कार्य अघि बढेको छ । त्यस्तै, मधेश प्रदेशमा ४३ वटा अनलाईनहरु दर्ता भएका छन् । यहाँ दर्ता भएका र यहाँबाट सञ्चालन भइरहेका अनलाईनहरुले पनि आउने आर्थिक वर्षदेखि लोककल्याणकारी विज्ञापन पाउँने भएका छन् ।

त्यसैगरी, मधेश प्रदेशका केही पत्रकार साथीहरुलाई जो पढ्न चाहनुभएको छ । पत्रकारितामा स्नातक गर्नुभएको छ, स्नाकोत्तर गर्न चाहानुहुन्छ भने त्यस्ता पत्रकारलाई हामीले पत्रकारिता छात्रावृति दिलाउने कार्य पनि आगामी आर्थिक वर्षबाट अघि बढाउन लागेका छौँ । त्यसका लागि बजेट समेत बिनियोजन भइसकेको छ । पत्रकारको क्षमता अभिवृद्धिका कार्यक्रम पनि अघि बढाउन खोजको छौँ । साथै गुणस्तरीय सामग्री उत्पादनमा जोड दिन प्रशिक्षण दिने कार्यक्रम पनि अघि बढाउने तयारी गरेका छौँ ।
००००

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button