व्यवसायीले गुणस्तरीय सेवा र बजारीकरणमा ध्यान दिन जरुरी

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
घरेलु तथा साना उद्योग कार्यालय वीरगंज पर्साले पर्सा जिल्लाको ग्रामिण क्षेत्र ठोरीमा ‘बजार विस्तार तथा अन्तरक्रिया’ कार्यक्रम गरेको छ । शुक्रबार ठोरी गाउँपालिका–५ को सवर्णपुरमा घरेलु कार्यालयले स्थानीय उत्पादन र सेवाको बजार विस्तारबारे प्रकाश पारेको थियो । सवर्णपुरमा विगत सात वर्षदेखि सञ्चालित होमस्टेको अवस्था, उनीहरुले दिइरहेका सेवा सुविधा, होमस्टे सञ्चालनको समस्याबारे स्थानीयको समस्यासमेत बुझेको थियो ।

सुनाखरी मध्यवर्ती होमस्टेमा एक दिने कार्यक्रममा घरेलु तथा साना उद्योग पर्साका प्रमुख उद्योग अधिकृत धनञ्जय कुमार सिंहले होमस्टे सञ्चालकलाई फोर पी (प्रोडक्सन, प्रोमोसन, प्लेस र प्राइस)को महत्वबारे प्रकाश पारेका थिए । उनले सेवा र उत्पादनलाई विस्तार गर्न सकिने तरिका बारे जानकारी गराएका थिए । उनले होमस्टे सञ्चालकहरुले आन्तरिक तथा वाह्य पर्यटक भित्रियाउन गुणस्तरीय उत्पादन र सेवामा विशेष ध्यान दिन आग्रह गरेका थिए । उत्पादनलाई बजारीकरण गर्न पनि विभिन्न प्रविधिको सहयोगमा प्रचार प्रसारमा जोड दिन भनेका थिए । आफ्नो गाउँठाउँको प्राकृति तथा ऐतिहासि महत्वका स्थानको प्रचार प्रसार, मौलिक खाना तथा संस्कृतिलाई दुनियाँसामु प्रस्तुत गर्न सक्रिय भएर लाग्न आग्रह गरे ।

प्रमुख सिंहले वीरगंजलाई ठोरीसँग जोडन तथा बारा, पर्सा, मकवानपुर, चितवनलगायत भारतीय पर्यटकलाई यहाँसम्म ल्याउन स्थानीय तहसँग सहकार्य र समन्वय गरेर यातायातको व्यवस्था गर्न सुझाव दिएका थिए । कार्यक्रममा सुनाखरी होमस्टेका अध्यक्ष शम्भु पौडेलले प्रदेशमा ऐन र कानुनको अभावमा होमस्टेको नविकरणमा समस्या भएको बताएका थिए । सुनाखरी उपभोक्ता समितिका अध्यक्षले भीम बहादुर पाख्रिनले लाखौं लागनीमा शुरु गरिएका होमस्टेले ऐतिहासिक ठाउँको पहिचान जोगाउन र प्राकृतिक संरचनाको संरक्षणमा सहयोग पुर्याउनुका साथै स्थानीयको आर्थिक अवस्था सुधारमा भूमिका खेलेको भन्दै यसको स्थायीकरणका लागि सरोकारवालाहरुले ध्यान नदिएको दुखेसो पोखे ।

कार्यक्रममा सहभागीहरुले घरेलु कार्यालयले सीप र क्षमतावृद्धिमा गरिरहेका विभिन्न कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए । कार्यक्रममा स्थानीय, होमस्टे सञ्चालक, स्थानीय जनप्रतिनिधि, समाजसेवी, होटल व्यवसायी, सञ्चारकर्मीलागयतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button