
मधेशदृष्टि
रौतहट ।
प्रभु साह नेतृत्वको आम जनता पार्टीनिकट आम दलित मोर्चा जनता अवास कार्यक्रमअन्तर्गत निर्माणाधीन घरको भुक्तानी माग गर्दै आन्दोलनमा उत्रिएको छ । मोर्चाका कार्यकर्ताले गौरस्थित पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरेर धर्ना बसेका छन् ।
मोर्चाका अध्यक्ष एवम् जनता अवास कार्यक्रम संघर्ष समिति मौलापुरका संयोजक ठागा दासको नेतृत्वमा भुक्तानीको माग गर्दै निरन्तर आन्दोलन भइरहेको छ । संघर्ष समितिले पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गरेर धर्ना बसेपछि सरोकारवालाबीच वार्ता पनि भएको छ ।
निर्माण भइसकेका घरको भुक्तानी गर्ने र त्यसको अनुगमन गर्ने तयारी भइरहेको छ । मधेस प्रदेशका सांसद तथा जनता अवास कार्यक्रम रौतहटका संयोजक जयचन्द पटेलले निर्माण भइसकेका घरको अनुगमन गरेर भुक्तानी गर्नुपर्नेमा सहमति जनाएका छन् । कटहरिया–८ बगही, मौलापुर नगरपालिका अन्तर्गत पतौरा, मर्यादपुर, पथरा, बुधरामपुरलगायतका गाउँमा जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भइसकेको घरको भुक्तानी बाँकी रहेको संघर्ष समिति संयोजक दासले बताए ।






