
अफरोज अर्पण
वीरगंज ।
राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झाले दिल्ली र काठमाडौँको नियम कानुनले नेपाल–भारतका सीमाबासीको सम्बन्ध निर्धारित नहुने बताएका छन् । दुई छिमेकी मुलुकका जनताबीचको सम्बन्ध धार्मिक, भाषिक, सांस्कृतिक रहेकाले यहीँका जनताले सम्बन्धलाई निर्धारण गर्ने उनको भनाई छ । बुधबार वीरगंजमा नेपाल भारत खुला सीमा सम्वाद समुह, पर्साको आयोजनामा ‘खुला सिमा सुमधुर सम्बन्धको सेतु’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै नेता झाले नेपाल र भारतको आधुनिक सीमा र नाम राखिनु अघिदेखि नै दुई देशका जनताबीच सम्बन्ध कायम रहेको बताए । नेता झाले खुला सीमाना भएका मुलुक विश्वमा कमै मात्र भएको उल्लेख गर्दै नेपाल भारतबीचको सम्बन्ध बहुआयामिक भएको बताए ।
उनले भने, ‘खुला सीमा अवसर हो र यहाँका जनता सीमाका रक्षक हुन् । युरोपियन युनियनअन्तर्गत धेरै देश छन्:, एउटा देशको भिसा लगाएर जानुभयो भने कति बेला सबै देश घुमिसक्नु भयो भन्ने थाहा हुँदैन् । उनीहरुले आफ्नै मुद्रा ल्याएका छन् । तर केही भारतविरोधी मानसिकता भएका सांसदहरुले सीमामा तारजाली लगाउने कुरा गरिरहनु भएको छ ।’ यस्तो मानसिकता नत्यागेसम्म नेपाल र मधेशको विकास र समृद्धि हुन नसक्ने उनको तर्क छ । सीमाको सुरक्षा गर्दै आइरहेका सीमाबासीका लागि दुवै देशका सरकारले कर प्रणालीदेखि अन्य विषयहरुमा विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ । कार्यक्रममा स्वागत मन्तब्य राख्दै नेता नेजामुदिन समानीले नेपाल भारत खुला सीमाका कारण सीमावासीका लागि रोजगारीदेखि दैनिक उपभोग्य वस्तुको किनबेचमा समेत सहयोग पुगेको सुनाउँदै दुई देशबीचको सम्बन्धलाई जनस्तरको सम्बन्ध भएको बताए ।
विश्लेषक एवम् पत्रकार चन्द्रकिशोर झाले नेपाल भारत सीमा क्षेत्रमा राज्यको नियन्त्रण बढ्दै बताए । मधेशमा नागरिकमैत्री प्रशासनको स्थानमा शैनिकिकरण बढिरहेको टिप्पणी गर्दै विश्लेषक झाले पछिल्लो समयमा मधेशमा कुनै हस्पिटल र विश्वविद्यालयको स्थापना हुन नसकेको बताए । सीमा क्षेत्रमा सुरक्षा संयन्त्र बढाउँदै लगिए पनि अपराध नियन्त्रण हुन नसकेको भन्दै उनले खुला सीमानाकै कारण अपराध बढेको भन्नु सही नभएको र अपराध हुनुमा अन्य कारण पनि हुन सक्ने बताए । संसदमा कतिपय सांसदहरुले नेपाल भारत सीमा क्षेत्रमा तारबार लगाउने कुरा गर्ने गरेको उल्लेख गर्दै उनले त्यसका बारेमा सीमाबासीले पनि आफ्नो धारणा राख्नुपर्ने बताए । उनले भने, ‘बोर्डर बन्द हुनुपर्छ वा खुला भन्ने विषयमा सीमाबासी बोल्नुपर्छ । हाम्रा प्रतिनिधिले के भन्छन् भन्ने होइन, हाम्रो विचार के हो ? बोल्नुपर्छ, सीमाबासीले आफ्नो एजेण्डा आफै तय गर्नुपर्छ ।’ भारतसँगको खुला सीमाकै कारण विगतमा नेपालका कतिपय राजनीतिक आन्दोलन सफल भएको उनको भनाइ थियो ।
कार्यक्रममा सीमा जागरण मञ्चका महासचिव एवम् भारत रक्सौलका समाजसेवी महेश अग्रवालले पछिल्लो १५ वर्षमा भारतको स्थिति मजबुत भएको बताए । पहिले विश्वसामु सहयोग माग्ने अवस्थामा रहेको भारत आज दुवै हातले सहयोग दिने बलियो राष्ट्र बनेको बताउँदै भातरको यो प्रगतिले दुनियाँले इष्र्या गरेको बताए । उनले भारतको प्रगति देखेर विरोधी शक्तिहरुले नेपाली भूमिलाई भारतविरुद्ध प्रयोग गरिरहेको दाबी गरे । उनले सीमामा तारबार लगाएर अपराध रोकिन्न नसकिने तर्क गरे । उनले भने, ‘भारतले पाकिस्तान, बंगलादेशको सीमामा तारबार लागएको छ । तर, के त्यहाँ अपराध रोकिएको छ त ? रोकिएको छैन । सीमालाई व्यवस्थित बनाउने र दुई देशको नागरिकबीच मजबुत सम्बन्ध स्थापित गर्न सकेमात्र कुनै पनि किसिमको गतिविधि नियन्त्रण गर्न सकिने बताए ।
वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका कन्सुल शशि भूषण कुमारले खुल्ला सीमा भएकै कारण नेपाल र भारतका जनताबीच सुमधुर सम्बन्ध स्थापित भएको बताए । उनले नेपालमा भारत विरोधी मानसिकतालाई राष्ट्रवादको प्रयाय बनाइएको प्रति दुःख व्यक्त गरे । उनले भने, ‘भारत नेपालमा शान्ति र समृद्धि चाहन्छ । दुई देशको जनताबीचको सम्बन्ध सुमधुर छ । तर नेपालमा भारत विरोधी मानसिकतालाई राष्ट्रवादको प्रयाय बनाईदैछ । तर भारतको हृदय विशाल छ ।’ भारतले मधेशका क्षेत्रमा सहयोग गर्न कम गरेको भन्ने कार्यक्रममा सहभागीको सवालमा उनले भारत समग्र नेपालको विकासमा अगाडी बढेको बताए । भारतका लागि कनै दल विषय नभएर नेपाल महत्वपूर्ण रहेको कन्सुल कुमारको भनाई छ ।
अन्तरक्रिया कार्यक्रमका अध्यक्षता गरेका सम्वाद समूहका राष्ट्रिय अध्यक्ष डा राजिव झाले इपिजि रिपोर्ट बनाउने समिति समावेशी नभएको बताए । उनले नेपाल भारत सीमा सम्बन्धी ज्ञान नभएका व्यक्तिहरुले बनाएकाले उनीहरुले दिने रिपोर्ट तथ्यपरक नहुने दाबी गरे । विश्व ग्लोबलाइजेसनतर्फ अग्रसर भइरहेका बेला सीमामा तारबार लगाउने कुरा असान्दर्भिक र हास्यासपद रहेको बताए । ‘सीमामा तारबार लगाउनु भनेको मधेशको जनतालाई नाकाबन्दीमा पार्नु हो । यो कदापी स्वीकार्य छैन । यहाँको जनताले त्यसो हुन दिँदैनन् ।’ उनले भने, ‘नेपालको संसदमा यस्तो कुरा उठ्नु भनेको नेपाल–भारतबीचको सम्बन्धलाई बिगार्न खोज्नु हो । नागरिकतामा सात वर्षे प्रावधान ल्याएपछि बेटी रोटीको सम्बन्धमा पनि धक्का लागेको छ । दुई देशका नागरिकबीच हुने बिहेवारी समेत कमी आएको छ ।’ अध्यक्ष झाले नेपालले जे कुराको उपयोग गर्नुपर्ने हो त्यो नगरेर दुई देशको सम्बन्ध बिर्गान केही भारत विरोधी तत्वहरुले नकारात्मक कुरा गरिररहेको बताए । नेपाल–भारतबीच सम्बन्धलाई खराब गर्न संघ सरकारले राजनीति गरिरहेको उनको भनाई छ ।
गत असार ४ गते प्रतिनिधि सभामा सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाल भारत सीमामा तारबार गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । उनले नेपाल भारत खुला सीमाले अपराध गरेर एक देशबाट अर्को देशमा भाग्ने प्रवृत्ति बढेको, अपराधलाई बढावा दिएको, राजस्व संकलनमा चुनौती थपिएको बताएका थिए । भारतसँग रोटीबेटीदेखि भाषा, संस्कृतिसम्म विविधतायुक्त सम्बन्ध भए पनि सीमा सुरक्षाका लागि तारबार लगाउन जरुरी रहेको उनको भनाइ थियो । सांसद बर्तौलाले भारतबाट नेपाल प्रवेश गर्ने भारतीयलगायत विदेशी नागरिकको रेकर्ड अनिवार्यरुपमा राख्न पनि गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
अन्तरक्रिया कार्यक्रममा डा. घनश्याम ठाकुर, नेजामुदिन समानी, कृष्णा पटेल, रम्भा मिश्र, मधेश प्रदेश सभा सदस्य श्याम पटेल, एमाले नेता शिव पटेल, शिपु तिवारी, देवेन्द्र मिश्र, अशोक वैद्य लगायत समाजका अगुवा, बुद्धिजीवी, प्राध्यापक, अधिवक्ता, पत्रकारहरुको उपस्थिति रहेको थियो ।







