कतै बहिस्कार, कतै कुर्सी हानाहान

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
असार १० गते अर्थात् स्थानीय तहहरुले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट ल्याउने दिन । देशभरका ७ सय ५३ स्थानीय तहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट असार १० गतेसम्ममा प्रस्तुत गरिसक्नु पर्ने व्यवस्था छ । तर मधेशका केही स्थानीय तहहरुले यसवर्ष पनि समयमा नीति तथा कार्यक्रम प्रस्तुत गरेर बजेट पारित गर्न सकेका छैनन् । कतै नगर प्रमुख वा अध्यक्षले एकलौटी गरेको भन्दै उपप्रमुख वा उपाध्यक्ष नेतृत्वमा नाराबाजीसहित नीति तथा कार्यक्रम बहिस्कार भएको छ । कतै नगर प्रमुख वा अध्यक्ष अल्पमतमा परेर बहुमत कार्यपालिका सदस्यको बिरोधका बाबजुद नीति तथा कार्यक्रमस्थल रणसंग्राम बनेर स्थगित भएका छन् ।

मधेशदृष्टिकर्मीका अनुसार, रौतहटको दक्षिणी भेग बौधिमाइ नगरपालिकामा उपप्रमुख प्रमिला देवी जयसवालले ५ वडाअध्यक्षसँगै बहुमतका साथ नगर अधिवेशन बहिस्कार गरेकी छिन् । प्रमुख प्रदीप यादवले एकलौटी रूपमा नगर अधिवेशन गर्न खोजेको भन्दै उपप्रमुख जयसवालले बहुमत कार्यपालिका सदस्यसहित नगर अधिवेशन बहिस्कार गरिन् । यादव र जयसवाल एउटै दल नेकपा (एकीकृत समाजवादी) पार्टीको टिकटबाट निर्वाचित भए पनि मेयरले मनोमानी गर्न खोजेको आरोप लगाउँदै उपमेयरसहितले नारा जुलुस प्रदर्शन गर्दै नगर अधिवेशन बहिस्कार गरे ।

यादवले सोमबार नगरपालिकाको सभाकक्षमा नवौँ नगर अधिवेशन आयोजना गरेको कार्यक्रमस्थलमा उपप्रमुख जयसवालसहित ३२ जना अर्थात् बहुमत कार्यपालिका सदस्यले प्रमुखसँग प्रतिवाद गर्दै बहिस्कार गरे । प्रमुख यादवले बोलाएका अराजक समूहले कार्यपालिका सदस्यसँग दुव्र्यवहार गरेको बताइएको छ । उपप्रमुख जयसवालले प्रमुखका तर्फबाट बाउन्सर नै प्रयोग भएको आरोप लागेको हो । केहीबेर यादव र जयसवालका समर्थकबीच धक्कामुक्की भएको थियो । उपप्रमुख जयसवालका समर्थकले नगर अधिवेशन लेखिएको ब्यानर च्यातिदिएका थिए । प्रमुख यादवले बहुमत सदस्यलाई पेलेरै नगर सभा गर्न खोज्दा उपप्रमुख जयसवालका समर्थक र प्रमुख यादवका समर्थकबीच कुटाकुटको स्थिति सिर्जना भएको थियो ।

कुनै सरसल्लाह नगरी नगर प्रमुख यादवले मनोपोली ढंगले नगर अधिवेशन गर्न खोज्दा आफूहरुले नगर अधिवेशन बहिस्कार गरेको नगर उपप्रमुख जयसवालले बताइन् । नगरको सभाहल बाहिर निक्लेर उपप्रमुखसहितका जनप्रतिनिधिले विवादबारे सम्बोधन गरेका थिए । वडा नम्बर ३ का अध्यक्ष मणिभुषण साहले कार्यपालिका बोर्डको बैठकमा नगरसभाबारे छलफल नभएको र आफूहरुलाई सञ्चारमाध्यमबाट जानकारी हुँदा ३२ जना कार्यपालिका सदस्यको हस्ताक्षरसहित आइतबार नै नगरसभा स्थगन गर्न निवेदन दर्ता गराइएको बताए ।

प्रमुख यादवले मनोमानी र बदनियतपूर्ण ढंगले अधिवेशन गर्न खोजेको बताउँदै अध्यक्ष साहले हालसम्म राजश्व परामर्श समितिको बैठक नबसेको, आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत नभएको, संघ र प्रदेशबाट आएको रकमबारे जानकारी नदिइएको, वडा र नगरको विकास बजेटको सिलिङ वितरण नभएको, २०७९–८० को आयव्यय माग गर्दा पनि नपाइएको बताए । यस्तै, मनोमानी ढंगले दैनिक ज्यालादारी र करारका कर्मचारी भर्ना गरेको, नगरको आन्तरिक आयबारे जानकारी नदिएकाले उपप्रमुखसहितको टोलीले नगरसभा बहिष्कार गरेको उनको भनाइ छ ।

उपमेयर प्रमिला देवी जयसवाल, वडा नम्बर १ का अध्यक्ष रामाजोधी राउत, वडा नम्बर २ का वडाध्यक्ष धर्मेन्द्र पटेल, वडा नम्बर ३ का अध्यक्ष मणिभुषण साह, वडा नम्बर ७ का वडाध्यक्ष नरेन्द्र कुशवाहा र वडा नम्बर ९ का अध्यक्ष मुक्तिनारायण मिश्रासँगै वडा सदस्य, कार्यपालिका सदस्यसमेत ३२ जनाले नगरसभा बहिस्कार गरेका हुन् । बौधिमाइका नगरप्रमुख प्रदीप यादवको मोबाइल स्विच अफ रहेकाले प्रतिक्रिया लिन सकिएन । नगरसभामा सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएको थियो ।

उपप्रमुखसहित बहुमतको अवरोध, धक्कामुक्की
जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभा बैठकमा झडप भएको छ । नीति तथा कार्यक्रम र बजेट ल्याउन बोलाइएको बैठकमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिले अवरोध गर्न खोजेपछि झडप भएको हो । यसअघि नगरप्रमुख राजन पौडेलको दल नेकपा माओवादी केन्द्रबाहेक नेपाली कांग्रेस, नेकपा एमाले, लोसपा र एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिधिले नगर सभा बहिष्कार गर्दै आएका थिए ।

असार ६ र ८ गते आह्वान भएको नगरसभामा ४ दल सहभागी नहुँदा कोरम नपुगेर स्थगित भएको थियो । सोमबार प्रमुख राजन पौडेलले बैठक बस्न आवश्यक संख्या २५ प्रतिशत पु¥याएर नीति तथा कार्यक्रम र बजेट पास गर्ने भनेपछि एमाले र लोसपाका जनप्रतिनिधिले अवरोध गर्न खोजेका थिए ।

उपमहानगरका एक जनप्रतिनिधिले दिएको जानकारी अनुसार, नेपाली कांग्रेस र एकीकृत समाजवादी अन्तिम समयमा नगर सभा बैठकका लागि सहमत भएका थिए । तर एमाले र लोसपा सहमत नहुँदा झडपको स्थिति बनेको हो । नगर सभामा झडप भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । नगर सभा अवरुद्ध बनेको थियो ।

कलैयाको बजेट डेढ अर्ब बढी
‘शैक्षिक, प्रशासनिक, पर्यटकीय शहर, स्वच्छ, समुन्नत कलैया नगर कृषि र पूर्वाधार, समृद्ध कलैयाको आधार’को नारासहित बारा सदरमुकाम कलैया उपमहानगरपालिकाको १३औँ नगर सभा शुरु भएको छ । सभामा उपप्रमुख रोशन प्रवीणले नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । उनले कलैयाको आर्थिक वर्ष २०८१–८२ का लागि १ अर्ब ५१ करोड ९१ लाख ३३ हजार रुपैयाँको बजेट प्रस्तुत गरिन् । प्रमुख प्रशासकीय अधिकृत नाथु साहले आर्थिक मन्दिका बेला पनि सबैले बिचार गरेर बजेट ल्याएको बताए ।

नगर प्रमुख बिनोद साहले कलैयाको विकासका लागि कसैको प्रभाव वा दबाबमा कलैया स्थानीय सरकार पछि नहट्ने बताउदै यसका लागि नगरबासीले समेत साथ दिइरहेको बताए । कलैया बजारको कायापलट भइरहेको र यसमा सारा नगरबासी आफ्नो साथमा देखिएको उनले बताए । साहले चैत्र मसान्तभित्रै मानवत मटिअर्वाको बाटो सम्पन्न हुने बताए ।

पोखरियाको बजेट ६७ करोड १३ लाख
वीरगंज । पर्साको पोखरिया नगरपालिकाको आठौँ नगर सभो नीति तथा कार्यक्रम पारित गरेको छ । पोखरिया नगरपालिकाले ४७ करोड १२ लाख ९३ हजार रूपैयाँको बजेट पारित गरेको हो । नगर प्रमुख प्रद्युमन प्रसाद चौहानको अध्यक्षतामा भएको नगर सभामा वित्तीय समानीकारणबाट ११ करोड १ लाख रुपैयाँ, सशर्त अनुदान चालूबाट २० करोड ४५ लाख ९९ हजार रुपैयाँ, सशर्त अनुदान पुँजीगतबाट १ करोड रुपैयाँ, सम्पूरक अनुदानबाट १४ करोड रुपैयाँको बजेट प्रस्तुत भएको छ । यस्तै, राजस्व बाँडफाडबाट ९ करोड २ लाख रुपैयाँ, वित्तीय समानीकारणमा प्रदेश सरकारबाट ७८ लाख ९४ हजार रुपैयाँ, सशर्त पुँजीगत प्रदेश सरकारबाट ९५ लाख रुपैयाँ, सम्पूरक अनुदान पुँजीगत प्रदेश सरकारबाट २० लाख रुपैयाँ प्राप्त हुने लक्ष्य प्रस्तुत गरिएको छ ।

यस्तै, विशेष अनुदान चालु प्रदेश सरकारबाट ३० लाख रुपैयाँ, राजस्व बाँडफाड प्रदेश सरकारबाट ५० लाख रुपैयाँ, मालपोतबाट राजस्व स्थानीयस्तरमा प्राप्त हुने १ करोड रुपैयाँ र आन्तरिक स्रोत स्थानीयस्तरबाट प्राप्त हुने ५० लाख रुपैयाँ विनियोजन भएको छ । नगर सभामा वडा नम्बर १ देखि १० सम्मका वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, संविधान सभा सदस्य रामेश्वर प्रसाद रौनियार, नेता निजामोदिन समानी, पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव, नगरपालिकाका कर्मचारी, विभिन्न पार्टीका प्रतिनिधि, पोखरियास्थित कार्यालयका कार्यालय प्रमुखलगायतको उपस्थिति थियो ।

जगरनाथपुरमा रिङरोड र १५ शैय्याको अस्पताल
वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाको ११ औँ नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षता एवम् प्रदेश सांसद तथा नेपाली कांग्रेस पर्साका सभापति जनार्दनसिंह क्षेत्रीको आतिथ्यमा नगरसभा भएको हो । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ४४ करोड ३४ लाख २३ लाख र ५ सय रुपैयाँ बराबरको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । भौतिक पूर्वाधार तथा विकास कार्यक्रममा ३ करोड ९० लाख रुपैयाँ, आर्थिक विकास अन्तर्गत कृषि तथा पशु विकासका लागि ९९ लाख रुपैयाँको अनुमानित खर्चको बजेट बिनियोजन भएको छ ।

त्यस्तै, सामाजिक विकासतर्फ शिक्षामा २ करोड ७० लाख रुपैयाँ, स्वास्थ्यमा ९२ लाख रुपैयाँ, खानेपानी तथा सिँचाइमा १ करोड ८४ लाख रुपैयाँ, खेलकुदमा ३७ लाख रुपैयाँ, लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा सामाजिक सुरक्षामा ५८ लाख रुपैयाँ, वन तथा विपद् व्यवस्थापनमा ३८ लाख रुपैयाँ र सोलार बत्ती बिजुली जडानमा ८५ लाख रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिका अध्यक्ष यादवले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै पालिकाका सबै वडामा सजिलै आउजाउ गर्न रिङरोड तथा १५ शैय्याको अस्पताल निर्माण जस्ता ठूला योजना ल्याइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button