
महेश कठायत
वीरगंज ।
मधेश प्रदेश सरकारका अर्थमन्त्री भरतप्रसाद साहले प्रदेश सरकारले ल्याएको बजेटको सही कार्यान्वयनका लागि हरसम्भव पर्यत्न गर्ने प्रतिबद्धता जनाएका छन् । विगतमा मधेश प्रदेश सरकारले बजेट खर्च गर्न नसक्ने परिपाटीलाई अन्त्य गर्नका लागि आफू नयाँ ढंगबाट काम गर्ने पर्यंत्न गरिरहेको उनले बताए । मधेशदृष्टि दैनिक, रेडियो वीरगंज, टिभी वीरगंज, रेडियो पोखरिया र रेडियो जनकनन्दनी जनकपुरको संयुक्त आयोजनामा शुक्रबार वीरगंजमा सरोकारवाला निकायका प्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री साहले यस्तो बताएका हुन् ।
अन्तरक्रिया कार्यक्रमका प्रमुख वक्ता मधेश प्रदेश सरकारका अर्थमन्त्री भरतप्रसाद साहले विगतमा प्रदेश सरकारबाट योजना प्राप्त गर्न विकृती देखा पर्ने गरेको उल्लेख गर्दै वीरगंजका चिया र पान पसलमा विकास निर्माणका योजना सम्बन्धी चिठ्ठीहरु बिक्री हुने परिपाटीको अन्त्य गरिने दाबी गरे । उनले भने, ‘विगतमा वीरगंजका चिया पसलहरु र पान पसलहरुमा योजनाका चिठ्ठीहरु पाँच प्रतिशत–दश प्रतिशतमा बिक्री भएको तपाई, हामीले सुनेका छौँ । यो प्वाललाई कसरी टाल्ने ? म त्यसमा लागेको छु ।’ अर्थमन्त्री साहले शसर्त योजना रोकेर बजेट छर्ने प्रवृति आगामी दिनमा हुन नदिने विश्वास व्यक्त गरे । प्रदेशमा नयाँ सरकार निर्माण भएको छोटो समयमै बजेट ल्याउनुपर्ने अवस्था भएकाले केही त्रुटी भएको स्वीकार गर्दै अर्थमन्त्री साहले कमिकमजोरीलाई सुधारेर अघि बढ्ने बताए । करिब सात वर्षसम्म एउटै पार्टीको सरकार हुनु र त्यसबीचमा पाँच दिनमा बजेट ल्याउनु जोखिमपूर्ण रहेको सुनाउँदै उनले भने, ‘कतिपय योजनाहरु म अर्थमन्त्री छु, मलाई थाहाँ छैन । तर मेरै मन्त्रालयबाट त्यहाँ (बजेटमा) छिरेको छ । यस्तो अवस्थाबाट हामी अघि बढिरहेका छौँ ।’
संविधानले नै ठूला परियोजना संघीय सरकार, मझौला योजना प्रदेश र साना योजना स्थानीय सरकारले गर्ने भनिएको उल्लेख गर्दै मन्त्री साहले ५० लाख रुपैयाँभन्दा माथिका योजना टेण्डरबाट गर्दा योजना बिक्री गर्ने परिपाटी न्युनिकरण हुने बताए । आगामी दिनमा मधेश प्रदेश सरकारको उचाइलाई कायम राख्ने गरी काम गर्ने मन्त्री साहको भनाइ थियो । अहिले पनि कतिपय व्यक्तिले मन्त्रालयबाट कमिसन दिएर बजेट माग्नका लागि आफूलाई एक्लै भेट्न खोज्ने गरेको सुनाउँदै अर्थमन्त्री साहले यस्ता कुरालाई आफूले सच्याउने प्रष्ट पारे । विगतको मधेश प्रदेश सरकारमा आफू सहभागी भएको र अहिले पनि सरकारमा सहभागी भएकाले आफूमा साच्चिकै काम गर्छु भन्ने आत्मविश्वास रहेको सुनाए । विकास निर्माणका कामहरुदेखि सुशासनका सवालमा अहिलेको प्रदेश सरकारप्रति जनताको भरोसा बढ्दै गएको उनले दाबी गरे ।
विकासका लागि राजनीतिक स्थिरता आवश्यक
अर्थमन्त्री भरतप्रसाद साहले देशको विकास र समृद्धिका लागि स्थिर सरकारको आवश्यकता औल्याए । वि.स.२०१५ सालदेखि हालसम्मका सबै सरकारको समिक्षा गर्दा नेपालमा कुनै पनि सरकारले पाँच वर्षे कार्यकाल पूरा गर्न नसकेको भन्दै उनले विकासका लागि सरकारको स्थायित्व हुनुपर्नेमा जोड दिए । अहिलको मिश्रित निर्वाचन प्रणालीले विकृती ल्याएको भन्दै मन्त्री साहले निर्वाचन प्रणालीमा सुधारको खाँचो रहेको बताए । निर्वाचन प्रणाली सुधार गरेर प्रत्यक्ष कार्यकारी राष्ट्रपति वा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने उनको भनाइ थियो । अहिलेको मिश्रित निर्वाचन प्रणालीको मर्मलाई आत्मसाथ गर्न नसक्दा समानुपातिक प्रतिनिधित्वको नाममा आफ्ना मान्छेहरुलाई सांसद बनाउने प्रवृति देखिएको उनले बताए ।
कतिपय विकास निर्माणका विषयहरु संघीय सरकारसँगसमेत जोडिएको हुने भए पनि प्रदेश र संघको अधिकारका सवालमा स्पष्ट हुन नसकेको मन्त्री साहले सुनाए । प्रदेशले कतिपय ऐन बनाउँदा संघीय कानुनसँग नबाझिने गरी बनाउनुपर्ने भएकोले सोही ढंगबाट काम गर्ने पर्यत्न भइरहेको उनले बताए । अहिले प्रदेशमा पनि गठबन्धन सरकार भएकाले सबैसँगको सहकार्यमा अघि बढ्नुपर्ने चुनौति समेत रहेको उनको भनाइ थियो । मधेश प्रदेश सरकारले करका दायरा बढाउनका लागि विज्ञहरुसँगको सुझाव र सल्लाहका आधारमा सरोकारवाला निकायसँग सहकार्य गर्ने मन्त्री साहले प्रतिबद्धता जनाए ।
स्थानीय सरकारसँगको सहकार्यलाई प्रभावकारी बनाउने
अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै अर्थमन्त्री साहले आगामी दिनहरुमा प्रदेश सरकारले स्थानीय सरकारसँगको सहकार्यका लागि थप प्रभावकारी काम गर्ने बताए । औधोगिक नगरी वीरगंजको विकासका लागि पनि प्रदेश सरकारले यहाँका समस्यालाई सम्बोधन गर्न सहकार्य गर्ने उनले बताए । त्यसका लागि यहाँका व्यापार व्यवसायी र सरोकारवाला निकायसँग सुझाव लिने बताए । सोक्रममा मन्त्री साहले ठोरीको विकासका लागि विगतमा खासै काम हुन नसकेको स्वीकार गर्दै आगामी दिनमा ठोरीको पर्यटन विकासका लागि पनि पहल थाल्ने बताए । वीरगंज र ठोरीसहित समग्र पर्साको विकास लागि आगामी दिनमा गर्नुपर्ने काममा आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । मन्त्री साहले चुरे उजाड हुँदा भाबर क्षेत्रमा पानीको समस्या देखिएको भन्दै उनले चुरे क्षेत्रमा ठूला पोखरी र ताल बनाएर पानीको समस्या न्युनिकरण गर्न सकिने बताए ।
व्ययभार कम गर्न पहल थाल्ने
मधेश प्रदेश सरकारले प्रदेश सरकारको व्ययभारलाई कम गर्न विज्ञहरुको सुझावका आधारमा पहल थाल्ने अर्थमन्त्री साहले बताए । मन्त्री साहले चालु खर्चको भार बढी भएको स्वीकार गर्दै व्ययभार कर्म गर्न कतिपय संस्थानहरुलाई खारेज गर्नेदेखि मर्ज गर्नेसम्मका विषयमा छलफल भइरहेको बताए । विशेषगरी, आम सञ्चार प्राधिकरण, मिडिया काउन्सिल र चलचित्र बोर्डलगायतका संस्थाहरुले व्ययभार बढाएको भन्दै मन्त्री साहले यस्ता संस्थाहरुलाई मर्ज गर्नुपर्ने धारणा व्यक्त गरे । त्यस्तै, जनलोकपाललाई पनि खारेज गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘चालु खर्चमा व्ययभार हुने सबै संस्थालाई मर्ज गर्ने । पहिलो चरणमा मिडिया कान्सिल, आम सञ्चार प्राधिकरण र चलचित्र बोर्डलाई ऐन बनाएर मर्ज गरौँ । त्यस्तै जनलोकपाललाई खारेज गरौँ । यस्ता अन्य धेरै संस्थाहरु छन् । त्यसले हाम्रो खर्च बढाइरहेका छन् । यि कुराहरुमा हामीले सुधारको सोच बनाएका छौँ ।’
चालु आर्थिक वर्षमा पनि मधेश प्रदेशले ३२–३५ प्रतिशत भन्दा बढी खर्च गर्न सक्ने अवस्था नभएको अर्थमन्त्री साहले बताए । त्यसो हुनुको कारण योजनाहरुको संख्या धेरै हुनु भएको उनको भनाइ छ । त्यसैले आफूले अहिले योजनाहरुको संख्या घटाएर काम गर्ने गरी अघि बढेको बताए । मधेश प्रदेश सरकारले चाँडो योजना सम्पन गरी खर्च बढाउने कुरामा पर्यत्न गरिरहेको भन्दै मन्त्री साहले आगामी आर्थिक वर्षमा पचास प्रतिशतसम्म खर्च गर्नसक्ने गरी लागिपर्ने बताए ।
कार्यक्रममा मधेशदृष्टि दैनिक, रेडियो वीरगंज र टिभी वीरगंजका कार्यकारी अध्यक्ष धुव्र साहले मधेश प्रदेश सरकारका अर्थमन्त्रीसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्नुको उद्देश्य बारे प्रकाश पारेका थिए । सो क्रममा अध्यक्ष साहले मधेश प्रदेशमा विकास निर्माणदेखि हरेक क्षेत्रमा विकृत मौलाएको भन्दै त्यसमा सुधारको पहल के हुन सक्छ भनेर सुझावका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताए । साथै उनले मधेश प्रदेश सरकारले ल्याएको बजेट मधेशको विकासँग जोडिएकोले बजेटमाथिको अन्तरक्रिया कार्यक्रमले बजेट कार्यान्वयनका लागि टेवा पुग्न सक्ने विश्वास व्यक्त गरे ।








