
आफ्नो देशमा पनि एन्टी स्नेक भेनम खोप उत्पादनको सम्भावना हुँदा–हुँदै पनि भारतको मुख ताक्नुपर्ने अवस्था छ । भारत र नेपालमा पाइने सर्पको विषको अवस्था फरक–फरक रहेका कारण त्यहाँबाट ल्याइएको एन्टी स्नेक भेनम पूर्ण रूपमा प्रभावकारी नरहेको विज्ञहरूको भनाइ छ ।
अफरोज अर्पण
वीरगंज ।
बढ्दो गर्मी र मनसुनका कारण तराई मधेशमा सर्पदंशका घटना बढ्न थालेका छन् । गर्मीयाममा तराई क्षेत्रमा सर्पदंशका घटना बढी हुने गरेको छ । बेला बेलमा पानी पानी पर्ने र तराईमा गर्मी पनि बढी हुने भएकाले सर्प बाहिर निस्कने गरेको विज्ञहरु बताउँछन् । पर्सा, बारा, रौतहटलगायत मधेशका जिल्लामा सर्पदंशका कारण उपचार गराउन अस्पताल जानेहरुको संख्या बढ्न थालेको छ । वीरगंजको नारायणी अस्पतालमा दैनिक ५÷६ जना सर्पदशंका घाइतेहरु उपचारका लागि पुग्ने गरेका छन् । प्रचण्ड गर्मीका कारण जमिनको सतह मुनि लुकेर बसेका विषालु सर्प बाहिर निस्कदा सर्पदंशको घटना बढेको नारायणी अस्पतालका इमरजेन्सी वार्डका इन्चार्ज प्रल्हाद साह बताउँछन् । अहिले नारायणीमा सर्पले टोकेका विरामीको उपचारमा कुनै समस्या नभएको इन्चार्ज साहको भनाई छ । उनले भने, ‘हामीसँग अहिले दुई सयभन्दा बढी एन्टी स्नेक भेनम औषधि छ । खासै समस्या छैन । अस्पताल आउने सबैलाई भेनम आवश्यक हुँदैन् । जरुरी हुनेलाई हामीले दिइरहेका छौँ ।’
गर्मी तथा वर्षातको समयमा सर्पदंशका घटना बढी हुने गरेका छन् । अधिकांशलाई खेतबारीमा काम गर्न जाँदा, घास दाउरा गर्न जादा, गाउँघरमा फुस, खपडा र माटोले बनाइएको घरमा पनि सर्पले डस्ने गरेको छ । उज्यालोमा टोक्दा सर्पको पहिचान हुन्छ तर राति टोक्दा सर्पको पहिचान हुन नसक्दा कतिपय विरामी अतिन्छन् । सर्पको बासस्थान मासिँदै गएकाले आहाराको खोजीमा मानिसको घरभित्र पस्न थालेपछि सर्पदंशका घटना बढ्न थालेको विज्ञ बताउँछन् । सबै सर्प विषालु हुँदैनन्, तर जुन सुकै सर्पले डसेपनि विमारीलाई अस्पताल पुर्याउनु पर्छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु, काठमाडौँका अनुसार नेपालमा सर्पदंशका कारण हुने मृत्यु मध्ये ४० प्रतिशत समुदायमा, ४० प्रतिशतको उपचारको क्रममा बाटोमा र २० प्रतिशतको ढिलो स्वास्थ्य संस्था पुर्याउँदा मृत्यु हुने गरेको छ । सर्पदंशका घटना घट्ने गरेपनि उपचारका लागि अस्पताल आउने अधिकांश बिरामीलाई विष नभएको सर्पले डस्ने गरेको पाइएको नारायणीका इमरजेन्सी इन्चार्ज साहले बताए । ‘सर्पले डसेपछि मानिस आत्तिएर अस्पतालमा आउन्छन् तर अधिकांशलाई विष नभएको सर्पले डसेको हुन्छ,’ उनले भने, ‘अस्पतालमा आउने दशजना बिरामीमध्ये एक–दुई जना बिरामीलाई मात्र विषालु सर्पले डस्ने गरेको पाइएको छ ।’ सर्पका प्रजातिमध्ये यस क्षेत्रमा सबैभन्दा गोमन (कोब्रा) र करेत प्रजातिका विषालु सर्पले मानिसलाई डस्ने गरेका छन् । खाली खुट्टा हिँड्ने, बिहान खेतमा शौच गर्न जाने र खेतामा हिड्ने, काम गर्ने पुरुषलाई सर्पले डस्ने गरेको घटनाले देखाएको छ । अहिलेको समयमा अध्याँरोमा हिँडडुल गर्दा सजगता अपनाउनु पर्ने उनी बताउँछन् । सर्पले डसेको बिरामीलाई विषको मात्रा हेरेर एन्टीस्नेक भेनमको डोज लगाउने गरिन्छ । सुत्दा झुलको प्रयोग गर्न, सर्प लुक्ने सक्ने ठाउँको पहिचान र रातमा हिँड्नुपरे टर्च बालेर हिँड्न पनि डा. साहको सुझाव छ ।
चुरे पर्वती फेदी तथा भावर क्षेत्र र तराईका फाँटमा पाइने गनग्वारी गोमन, राजगोमन, कमन करेत, पनिया, राज, ह्यौ, बाँघे, तिरिसेजस्ता सर्प विषालु हुन्छन् । सिरिसे, सुगीया, इन्द्रेनी र उड्ने सर्प कम विषालु हुन्छन् भने डोरिया, सुगुवा (हरहरा), तेलियाँ, धामनलगायत तराईमा पाइने १४ जातका सर्प विषालु नहुने बताइएको छ । सबै सर्प विषालु हुँदैनन् । तर यो भन्दैमा हामी सर्प विषालु हो, होइन आफैं छुट्याउनु हुँदैन । सर्पले डस्ने बित्तिकै जति सक्यो छिटो सर्पदंश उपचार केन्द्रमा पुग्नुपर्छ ।
कलैयास्थित प्रादेशिक जिल्ला अस्पतालमा अहिले पनि एक दुई जना सर्पले डसेका बिरामी आकस्मिक कक्षमा उपचाररत रहेको अस्पतालका सूचना अधिकारी प्रेस कुमार पण्डित बताउँछन् । ‘कहिले कति विरामी आउँछन् त्यो भन्न सकिन्न् तर गर्मीमा सर्पदंशका विरामी बढेका छन् । हामीसँग प्रयाप्त एन्टी स्नेक भेनमको डोज छ ।’ सूचना अधिकारी पण्डितले भने, ‘सर्पले डस्नेबित्तिकै सबैलाई एन्टी स्नेक भेनम दिनुपर्छ भन्ने छैन,’ उनले भने, ‘त्यस्तो लक्षण देखिनेबित्तिकै हामी लगाउँछौं । विषालु सर्प रहेको पक्का हुनेबित्तिकै हामीले एन्टी स्नेक भेनम लगाउने गर्छौं ।’
एन्टी स्नेक भेनम उत्पादको अवस्था
आफ्नो देशमा पनि एन्टी स्नेक भेनम खोप उत्पादनको सम्भावना हुँदा–हुँदै पनि भारतको मुख ताक्नुपर्ने अवस्था छ । भारत र नेपालमा पाइने सर्पको विषको अवस्था फरक–फरक रहेका कारण त्यहाँबाट ल्याइएको एन्टी स्नेक भेनम पूर्ण रूपमा प्रभावकारी नरहेको विज्ञहरूको भनाइ छ । देशमै एन्टी स्नेक भेनम खोप उत्पादनका लागि मधेश प्रदेश सरकारले सम्भाव्यता अध्ययन सुरु गरेको छ । यसका लागि प्रादेशिक प्रयोगशालाले विज्ञहरूसँग परामर्शलगायत काम गरिरहेको छ । गर्मीसँगै पानी पर्न थालेपछि अन्य जीवहरूजस्तै सर्प पनि आहाराको खोजीमा बाहिर निस्कने र सर्वसाधारणलाई डस्ने गर्छ ।
मधेश प्रदेश सर्पदंशको उच्च जोखिममा रहेको मानिन्छ । यहाँ किङ कोब्रा, गोमन, करेत, साखडजस्ता विषालु प्रजातिका सर्प पाइन्छन् । स्वदेशमै खोप उत्पादन गर्न सके देशैभर सहज आपूर्ति त हुन्छ नै निर्यात गरेर पनि विदेशी मुद्रा भित्र्याउन सकिन्छ । हाल नेपालले भारतको भिन्स् बायो प्रोडक्ट लिमिटेडबाट वार्षिक ५ करोड रुपैयाँसम्मको ४० हजारदेखि ५० हजार भायल ‘एन्टी स्नेक भेनम’ आयात गर्दै आएको छ । विषालु सर्पले डसेको एक जना बिरामीलाई औसतमा १५ देखि २० भायल एन्टी भेनम चाहिन्छ । एन्टी भेनम उत्पादन गर्ने उद्योग स्थापना गर्न करीब १० अर्ब रुपैयाँ जति चाहिन्छ । औषधि विज्ञानका विज्ञ, जनस्वास्थ्य विज्ञ, भेटेरिनरी डाक्टर, फर्माकोलोजिष्ट र प्लान्ट डिजाइनका लागि इन्जिनियरहरूसहित सवा सय जति जनशक्ति चाहिन्छ ।
शुरुआती चरणमा दुईसय जति घोडा र १७ प्रजातिका सर्प पाल्नुपर्छ । उद्योगमा विद्युत् र स्वच्छ पानी चौबीसै घण्टा उपलब्ध हुनुपर्छ । औषधि उत्पादन गर्न ५ देखि १० वर्ष लाग्छ । नेपालमा पाइने ८९ थरीका सर्पमध्ये करेत, गोमन, हरेउसहित १७ प्रजातिका सर्प विषालु छन् । पहाडी क्षेत्रमा हरेउ तथा तराईमा करेत र गोमन सर्प पाइन्छ । नेपालमा वार्षिक करीब १५ हजार जनालाई विषालु सर्पले डस्ने गरेको छ । तीमध्ये १० हजार बिरामी उपचारका लागि स्वास्थ्य संस्थामा जाने गरेको अनुमान छ । सरकारले मुलुकभरका ८१ उपचार केन्द्रबाट निःशुल्क ‘एन्टी स्नेक भेनम’ दिने व्यवस्था मिलाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को अनुमानमा, विषालु सर्पले टोकेकामध्ये वर्षेनि दुईसय जनाको ज्यान जाने गरेको छ ।
यसरी बन्छ भेनम
विषालु सर्पको विष रक्तस्राव गराउने र स्नायु प्रणालीलाई असर पु¥याउने गरी दुई खालका हुन्छन् । एन्टी भेनम उत्पादन गर्न यी दुवै खाले सर्पलाई फार्ममा पाल्नुपर्छ । सर्प, घोडा र खरायो वा मुसा पनि पाल्नुपर्छ । एन्टी स्नेक भेनमले सर्पले डसेको उपचार गरिन्छ । सर्पले डसेको उपचारका लागि प्रयोग हुने खोप एन्टी स्नेक भेनम सर्पकै विषबाट तयार पारिन्छ । एन्टी स्नेक भेनम बनाउनुअघि घोडालाई सर्पबाट निकालेको विष सुईमार्फत दिएपछि एन्टीबडी (प्रतिरक्षात्मक) पदार्थ बनाउँछ ।
घोडाले सर्पको विषलाई सजिलैसँग आफ्नो शरीरमा एडजस्ट गर्छ । त्यसरी घोडामा सारिएको सर्पको विषले घोडाको रगतमा एन्टी स्नेक भेनमको प्रारम्भिक चरणको विकास गर्छ । भेनम विकसित भएपछि घोडाबाट एन्टीबडीयुक्त रगत निकालेर विशेष प्रक्रियाद्वारा प्रशोधन गरिन्छ । त्यसपछि घोडाबाट तानेको रगतबाट प्लाज्मा निकालिन्छ । त्यसैलाई औषधि बनाउन उपयोग गरिन्छ । औषधिलाई मानिसमा प्रयोग गर्नुअघि सुईमार्फत मुसा वा खरायोमा परीक्षण गरिन्छ । यसरी प्रशोधन गरिएको रगतबाट औषधि निर्माताहरूले एन्टी स्नेक भेनम तयार गर्छन् । एन्टी स्नेक भेनम प्राय इन्जेक्सनका रूपमा प्रयोग गरिन्छ ।
००००






