
मधेशदृष्टि
जनकपुरधाम ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले राजनीतिक दलहरुमा बेथिति र मन्त्रीहरुमा पनि कमिसन खाने मोह बढेको बताएका छन् । उनल संघीयता आएपछि जताततै विकासका गतिविधिमा तिव्रता आए पनि समाजमा देखिएको नकारात्मकताले संघीयताको राम्रो पक्ष छोपिएको उल्लेख गरे ।
कोशी प्रदेशका संसदीय पत्रकार मञ्चका टोलीसँगको अन्र्तक्रियामा सभामुख मण्डलले संरचना पुरानो र व्यक्ति पनि पुरानै भएकाले संघीयताबाट जनताले अपेक्षाकृत लाभ लिन नसकेको बताए । उनले मन्त्रीहरुसमेत कमिसनमा लिप्त हुने गरेका कारण संघीयताको नकारात्मकताले बढी प्रश्रय पाइरहेको जिकिर गरे । उनले भने, ‘मन्त्रीहरु नै कमिसन खाने लोभमा पल्केका कारण समस्या देखिएको छ, उनीहरुले कमिसन खान बन्द गरे प्रदेश मात्रै होइन, देश नै समृद्ध बन्न सक्छ, त्यसकारण उनीहरुको आचरणमा समेत सुधार आउनु पर्छ ।’
सभामुख मण्डलले अहिले व्यक्तिमा राज्यप्रणालीप्रति असन्तुष्टि देखिएको र यस्तो अवस्थामा पत्रकारको समेत भूमिका महत्वपूर्ण रहने बताए । उनले नेताहरुको चरित्रमा समेत सुधार हुनुपर्नेमा जोड दिँदै भने, ‘जसपा नेपालले आफनो पदाधिकारी चयनको जिम्मेवारी नै अध्यक्षलाई दिएका छन्, संसदीय दलको नेता हुँदा अर्कोले मुख्यमन्त्री बन्ने अवस्थामा विधि र थितिको कल्पनासम्म गर्न सकिन्न ।’ सभामुख मण्डलले कार्यपालिका, न्यायिपालिका सबै ध्वस्त हुन पुगेको अवस्थामा बाँकी रहेको पत्रकारिताले जनतामा केही विश्वास आर्जन गरेको बताउँदै त्यसलाई कायम राख्न अपिल गरे ।






