
मधेशदृष्टि
वीरगंज ।
सरकारले आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षाभत्ता वितरण प्रयोजनका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने भएपछि जिल्ला प्रशासन कार्यालय पर्सामा परिचयपत्र बनाउन सेवाग्राहीको भिड थामिनसक्नु भएको छ । प्रचण्ड गर्मीसँगै सेवाग्राहीको भिड बढेपछि जिल्ला प्रशासन कार्यालयको कामकाज अस्तव्यस्त भएको छ ।
दिनभरको चर्को गर्मीसँगै परिचयपत्र वितरण प्रणाली सिष्टममा आउने खराबीका कारण परिचय पत्रका लागि समयमा फोटो खिच्न र विवरण भर्न नपाउँदा सबभन्दा बढी अशक्त, अपाङ्ग र ज्येष्ठ नागरिक तथा मजदुर वर्ग मारमा परेका छन् । यस्ता समस्याले परिचयपत्र बनाउनकै लागि निरन्तर जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता छ ।
राष्ट्रिय परिचय पत्रको बायोमेट्रिक प्रणालीमा सामाजिक सुरक्षा भत्ताका लाभग्राहीलाई सहभागी गराउने भएपछि परिचय पत्र लिन जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भिड बढेको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले बताए । सरकारको राष्ट्रिय अभियानअन्तर्गत राष्ट्रिय परिचयपत्र बनाउन पर्सामा २०७८ असोजदेखि विवरण सङ्कलन शुरु भएको थियो । टोलीले १४ वटै पालिकाको वडामा पुगेर स्टेसन खडा गरी विवरण सङ्कलन गरेको थियो । सामाजिक सुरक्षा भत्तामा अनिवार्य नभएका कारण अपाङ्ग तथा ज्येष्ठ नागरिक विवरण सङ्कलनमा छुट्न पुगेका थिए ।
हाल पर्सामा दैनिक २ सय भन्दा बढी राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्नेदेखि बायोमेट्रिक गरिने काम भइरहेको र जिल्ला प्रशासन कार्यालयमा दैनिकरुपमा १ सय जना भन्दा बढीले प्रतिलिपि माग गर्दै आउने, ६०–७० थान नागरिकताका लागि आउने गर्दा प्रशासन कार्यालयमा सेवाग्राहीको भिड बढेको प्रमुख जिल्ला अधिकारी भुषालले बताए ।
गृह मन्त्रालयबाट थप ५ कर्मचारी राष्ट्रिय परिचय पत्रका लागि आएको र ठोरी, पर्सागढी, पटेर्वासुगौली, जिराभवानी र बहुदरमाई नगरपालिकामा राष्ट्रिय परिचय पत्रको काम सम्बन्धित पालिकामै पुगेर गर्न थालिएको बताउदै अब १० दिनभित्र बाँकी ९ पालिकामा समेत टोली खटाइने प्रमुख जिल्ला अधिकारी भुषालले बताए ।






