भारतीय महावाणिज्य दूतावासद्वारा योग कार्यक्रमको शुभारम्भ

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
अन्तर्राष्ट्रिय योग दिवस २०२४ को अवसरमा वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले योग शुभारम्भ कार्यक्रम आयोजना गरेको छ ।

शनिबार बिहान महिलाहरु मात्र सहभागि योग कार्यक्रमको आयोजना गर्दै शुभारम्भ गरिएको हो । विगतका वर्षहरु जस्तै यस वर्ष पनि दूतावासले विभिन्न स्थानीय सरकारी निकाय र संस्थाहरुसँगको साझेदारीमा विभिन्न स्थानमा योग कार्यक्रमहरु आयोजना गरिएको दूतावासद्वारा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

दूतावसले असार २ गते आइतबार हेटौंडाको रोयल पार्टी प्यालेस, ३ गते सोमबार नारायणी नदी किनार, ४ गते मंगलबार गौर राइस मिल, रौतहट, ५ गते बुधबार तिरहुतिया गाछी मैदान, जनकपुरधाम, ६ गते बिहीबार पर्साको पोखरियास्थित शिव मन्दिर र ७ गते शुक्रबार वीरगंजको पुरानो बसपार्कमा योग कार्यक्रमको आयोजना गरिएको दूतावासका महावाणिज्यदूत देवी सहाय मीणाले बताए ।

यी सबै स्थानमा बिहान साढे ५ बजेदेखि योग कार्यक्रमको आयोजना हुने जनाइएको छ । यी कार्यक्रमहरु निःशुल्क र सबैका लागि खुला हुने भएकाले सहभागीहरुलाई समय अगाडी नै योग स्थलमा पुग्न दूतावासले आग्रह गरेको छ । वीरगंजमा यो वर्ष कै सबैभन्दा ठूलो योग कार्यक्रम आयोजना हुने दूतावासले अपेक्षा गरेको छ ।

संयुक्त राष्ट्र संघले सन् २०१४ डेसेम्बर ११ मा एक प्रस्ताव मार्फत जुन २१ लाई विश्व अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । अन्तर्राष्ट्रिय योग दिवस स्थापना गर्ने प्रस्तावको मस्यौदा भारतद्वारा प्रस्ताव गरिएको थियो र नेपालसहित रेकर्ड १७७ सदस्य राष्ट्रहरुद्वारा अनुमोदन गरिएको थियो । अन्तर्राष्ट्रिय योग दिवसको उद्देश्य योग अभ्यासका धेरै फाइदाहरुका बारेमा विश्वव्यापी चेतना जगाउनु, शारिरीक र मानसिक रुपमा स्वास्थ राख्नु रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button