मधेशदृष्टि
जनकपुरधाम ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अबको केही दिनमा बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्यको टुंगो लगाइने बताएका छन् । जसपा नेपालको एकताको महाधिवेशन सकिएपछि शुक्रबार पत्रकार सम्मेलनमा अध्यक्ष यादवले अध्यक्षबाहेकका अन्य पदको टुंगो नलागेकोले आफू काठमाडौँ पुगेपछि छिट्टै यसको टुंगो लगाउने बताए ।
अध्यक्ष यादवले महाधिवेशनपछि पार्टीको नेतृत्वको निर्माण, सुदृढ संगठन निर्माणका लागि प्रकृया अगाडि बढाउँदा झण्डै ३ सय ५० जनाले विभिन्न पदमा उम्मेदवारी दिएको बताए । यादवले अध्यक्ष पदमा आफू निर्विरोध भएको पनि बताए ।
यादवले भने, ‘अब कुरा के आयो भने, यो राष्ट्रिय एकताको महाधिवेशन रहेकाले हामीले एकताको संदेश दिनुपर्छ । समावेशी र सक्षम नेतृत्व बनाउनुपर्छ भन्ने भावना प्रकट भयो । र, त्यो भावनालाई सार्थक बनाउन हाउसले एक मत भएर अख्तियारी दिने काम गरेको छ, प्रतिनिधिहरुले मलाई समावेशी, राष्ट्रिय चरित्रको, क्रियाशील र सक्षम, योग्यहरुको टिम निर्माणका लागि थप जिम्मेवारी दिएका छन् ।’ अध्यक्ष यादवले आफूहरुको महाधिवेशन पूर्ण रुपमा सफल भएको बताए । पार्टीमा सबै एकजुट रहेको र जनताको व्यापक समर्थन रहेको बताए ।






