
वीरेन्द्र रमण
जनकपुरधाम ।
मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेट आज ल्याउँदै छ । मधेश प्रदेशका अर्थ मन्त्री भरतप्रसाद साहले शनिबार दिउँसो ४ बजे बजेट प्रस्तुत गर्नेछन् । बजेटपूर्व प्रदेश सभाको बैठकमा मन्त्री साहले आर्थिक वर्ष २०८१–८२ को विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीति प्रस्तुत गरेका छन् ।
मधेश प्रदेशका अर्थमन्त्री साहले आउने बजेटमा टुक्रे र साना योजना नराख्ने एवम् प्रदेश गौरवको आयोजनामा लगानी बढाइने जानकारी दिए । उनले गरिबी निवारण, सामाजिक न्याय प्रदेश सरकारको आउने बजेटको प्राथमिकतामा रहने बताए । उनले भने, ‘प्रदेशको सन्तुलित विकासका लागि समुचित साधनस्रोत परिचालन गरिने छ भने कृषि र योगदान क्षेत्रलाई बढाइने छ ।’ मन्त्री साहले राजस्वको दायरा प्रभावकारी रुपमा अगाडि नबढाइएका कारण राजस्वको दायरा संकुचित रहेको र बजेट खर्चमा समेत यसको असर परिरहेको जानकारी दिए । उनले त्रैमासिकरुपमा लेखा परीक्षण गरिने र बेरुजु घटाउने काम गरिने जानकारी दिए ।
उनले लक्ष्य निर्धारण गरी नागरिकसमक्ष प्रतिवद्धता गरिएअनुसार बजेट तथा कार्यक्रमलाई कार्यान्वयन गराई सार्वजनिक खर्च बढाउनुपर्ने चुनौती रहेकाले यसलाई सम्बोधन गर्ने गरी बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने अनिवार्यता रहेको जानकारी दिए । उनले मधेश प्रदेशले अर्थतन्त्रमा उच्च योगदान दिनेसक्ने देखिएका कृषि, उद्योग र सेवा क्षेत्रमा सार्वजनिक लगानी बढाउने, नीति लगानीलगायतका अन्य सहलगानी बढाउने, निजी लगानीलगायतका अन्य सहलगानीलाई प्रोत्साहन गरी अर्थतन्त्रको आधार मजुबत बनाउने किसिमले विषय क्षेत्रगत नीति तथा कार्यक्रममा सुधार गर्दै लैजानु पर्ने आवश्यकता रहेको औँल्याए । उनले नमूना सामुदायिक विद्यालय र शैक्षिक पार्क निर्माणले प्रदेशको शैक्षिक गुणस्तरमा सुधार हुने जानकारी दिए । साहले मधेशको पहिचान झल्काउने गरी गौरवपूर्ण योजनामा लगानी बढाइनेसमेत जानकारी दिए ।
मन्त्री साहले प्रदेशमा सरकारी, निजी र सहकारी क्षेत्रको लगानीमार्फत आर्थिक वृद्धि हासिल गरी अर्थतन्त्र विकास गर्ने उच्च सम्भावना रहेको कृषि क्षेत्र एवम् उद्योगमा लगानी केन्द्रित गरी उत्पादन र उत्पादकत्व बढाउने, उत्पादनमूलक उद्योग र सेवा क्षेत्रको विस्तार, सांस्कृतिक एवम् पर्यापर्यटनको माध्यमबाट मधेशलाई खास गन्तव्यका रुपमा विकास गर्दै लैजाने, पूर्वाधार क्षेत्र विकासमार्फत अन्य आर्थिक गतिविधिका लागि परिपूरकता कायम गराउँदै लैजाने कार्य गरी रोजगारीका अवसर बढाउन आगामी आर्थिक वर्षको बजेट केन्द्रित हुने उनले जानकारी दिए ।
मन्त्री साहले प्रदेशभित्रका सबै भूगोल, जातजाति तथा भाषाभाषीका समुदायलाई समन्यायाधीक राज्यप्रणालीको अनुभूति गर्नसक्ने गरी वास्तविक आवश्यकता र औचित्यका आधारमा कार्यक्रम र आयोजना चयन गर्न ध्यान दिइने नीतिमा उल्लेख गरिएको छ ।
मन्त्री साहले बजेटको प्राथमिकतामा कृषिक्षेत्रको सलबीकरण, स्वास्थ्य सेवा, सुरक्षित खानेपानी र सरसफाइ, गुणस्तरीय सामुदायिक शिक्षा परेको बताए । मधेश प्रदेशको गौरव र पहिचान झल्काउने किसिमका आयोजना विनियोजन प्राथमिकतामा राख्ने लक्ष्य लिइने र उत्पादन तथा उत्पादकत्व अभिवृद्धिमा सहकारी र निजी क्षेत्रलाई सार्थक रुपमा सहभागी गराइने नीति लिइएको छ ।






