
मधेशदृष्टि
वीरगंज ।
निजी सञ्चार प्रदायक एनसेलले बजारीकरण (मार्केटिङ) देखि विभिन्न शीर्षकमा अर्बौँ रुपैयाँे कर छली गरेको पाइएको छ । समान प्रकृतिका खर्चलाई भिन्न शीर्षक देखाएर एनसेलले अर्बौँ रुपैयाँ बराबरको कर छली गरेको हुनसक्ने महालेखापरीक्षक कार्यालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
एनसेलले बजारीकरणसँग सम्बन्धित खर्चलाई चार शीर्षकमा देखाएर दोहोरो खर्च दाबी गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । महालेखाको ६१ औँ प्रतिवेदनमा आर्थिक वर्ष २०७७–७८ र २०७८–७९ मा एनसेलले बजारीकरण खर्चमा दोहोरो दाबी गरेको भन्दै कर र त्यसमा लाग्ने ब्याज समेत निर्धारण गर्नुपर्ने बताएको छ ।
‘ठूला करदाता कार्यालय अन्तर्गतको एक दूर सञ्चार कम्पनीले बजारीकरणसँग सम्बन्धित खर्चहरू चार शीर्षकमा लेखाङ्कन गरेको छ । एकै प्रकृतिको खर्च भिन्न–भिन्न शीर्षकमा दोहोरो हुने गरी दाबी गरेको देखिएकोले आय वर्ष २०७७÷७८ र २०७८÷७९ मा बजारीकरण खर्चमा दोहोरो दाबी गरेको ३ अर्ब १९ करोड ६६ लाख ४० हजार रुपैयाँ अमान्य गरी २५ प्रतिशतले हुने कर ७९ करोड ९१ लाख ६० हजार रुपैयाँ र सोमा लाग्ने ब्याज तथा शुल्कसमेत छानबिन गरी कर निर्धारण गर्नुपर्दछ,’ महालेखाको प्रतिवेदमा उल्लेख छ ।
ठूला करदाता कार्यालयका एक अधिकारीले महालेखाले औँल्याएको बेरुजुमा थप अनुसन्धान गरिने र त्यसपछि मात्रै वास्तविक अवस्थाबारे भन्न सकिने बताए । त्यस्तै, एनसेलले नेपालको बैंकबाट ऋण लिएर पुँजीगत लाभकर तिरेको भन्दै त्यसलाई खर्च कट्टीमा अमान्य गर्नुपर्ने महालेखाले औँल्याएको छ । ऋण लिएर व्यवसायको आय आर्जनमा प्रयोग नगरेर विदेशी नियन्त्रित निकायले तिर्नुपर्ने रकम तिर्न नपाइने महालेखाको प्रतिवेदनले औँल्याएको हो ।
दुई वर्षको ५ अर्ब ३४ करोड ४८ लाख ८१ हजार रुपैयाँ खर्च कट्टी अमान्य गरी २५ प्रतिशतले हुने कर १ अर्ब ३३ करोड ६२ लाख २० हजार रुपैयाँ र सोमा लाग्ने ब्याज र शुल्क समेत छानबिन गरी कर निर्धारण गर्न महालेखाले सुझाएको छ ।






