केन्द्रीय समिति चयनको जिम्मेवारी यादवलाई

[mashshare]

‘चुनाव हुने हो भने हिमाल र पहाडका एक दुई जनाभन्दा बढी निर्वाचित हुने सम्भावना कम छ, किनकि, पार्टीको मुख्य आधार तराई–मधेश हो, त्यस्तो अवस्थामा हामी कसरी पार्टीलाई सबै जातजाति, भाषा, धर्म, लिङ्गको प्रतिनिधित्व हुनेगरी समावेशी बनाउन सक्छौँ ?’ – उपेन्द्र यादव, अध्यक्ष, जसपा नेपाल

मधेशदृष्टि
जनकपुरधाम ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको तीनदिने राष्ट्रिय महाधिवेशन सकिएको छ । नयाँ नेतृत्व छान्ने जिम्मेवारी पनि अध्यक्ष उपेन्द्र यादवलाई दिँदै महाधिवेशन सकिएको हो । बुधबार नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता र बिहीबार निर्वाचन कार्यतालिका तोकिएको थियो । तर निर्वाचनमा जाँदा सबै वर्ग र समुदायको प्रतिनिधित्व कार्यसमितिमा नहुने भएपछि अध्यक्षले सर्वसम्मत कार्यसमिति बनाउने पहल गरेका थिए । महाधिवेशन प्रनितिधिले यसलाई सकारात्मक रुपमा लिँदै आफ्नो उम्मेदवारी फिर्ता लिएर सहयोग गरेका थिए ।

उम्मेदवारी कार्यतालिका अन्तर्गत अध्यक्षमा उपेन्द्र यादव निर्विरोध भए पनि सहअध्यक्षसहित अन्य पदमा ३ सय ७२ जनाको उम्मेदवारी परेको छ । त्यसका लागि बिहीबार मतदान कार्यक्रम तय गरिएको थियो । तर अन्तिम समयमा चुनाव नगरी सहमतिकै आधारमा नेतृत्व चयन गर्ने निर्णय गरिएको हो ।

अध्यक्षबाहेकका पदमा सहमतिमै टुंगो लगाउने निर्णय भएको जसपा नेपालका प्रवक्ता मनिष सुमनले बताए । ‘अध्यक्षजीले सहमति गर्नुको विकल्प नरहेकाले सहमतिमै टिम बनाउन अनुमति माग्नुभयो, प्रतिनिधिहरूले ताली पिटेर अनुमति दिए,’ सुमनले भने । अध्यक्ष यादवको आग्रहमा सबै उम्मेदवारले उम्मेदवारी त्यागेको घोषणा गरेको प्रवक्ता सुमनले बताए । सहमतिमा नेतृत्व चयनका लागि यादवलाई नै जिम्मा दिइएको छ । ‘अध्यक्षजीले समावेशी टिम निर्माण गर्नुहुन्छ,’ सुमनले भने ।

महाधिवेशन केन्द्रीय निर्वाचन समितिका अनुसार २ सय १ केन्द्रीय सदस्य र २० पदाधिकारीका लागि ३ सय ७२ उम्मेदवारी परेको छ । सर्वसम्मत नेतृत्वका लागि अध्यक्षले पार्टीका नेताहरूबीच छलफल गर्ने र नाम तय भएपछि महाधिवेशन हलबाट अनुमोदन गरिने बताइएको छ ।

एक जना सहअध्यक्ष पदका लागि राजकिशोर यादव, लालबाबु राउत र रकम चेम्जोङले उम्मेदवारी दर्ता गराएका छन् । चार जना पुरुष उपाध्यक्षका लागि मृगेन्द्रकुमार सिंह यादव, हरिनारायण यादव, सरोजकुमार यादव, अर्जुन थापा, अमरेशनारायण झा, मो. खालिद, गोविन्द चौधरी, आङ्देङ शेर्पा, प्रकाश अधिकारी, विद्युत् बज्राचार्य, शिवलाल थापामगरसहितका १७ जनाले मनोनयन दर्ता गराएका छन् ।

एक महिला उपाध्यक्ष पदका लागि रेखा यादव, लीलादेवी सिटौला, शोभा देवी, सुनी लामा, सविता यादव र राधा थापासहित छ जनाले उम्मेदवारी दिएका छन् । दुई सय एक पदका लागि तीनसय भन्दा बढीको उम्मेदवारी परेको छ । चुनावभन्दा पार्टीलाई कसरी समावेशी बनाउने र पार्टीको संरचना कसरी बलियो बनाउने भन्ने मुख्य उद्देश्य भएको बताउँदै अध्यक्ष उपेन्द्र यादवले अनुरोध गरेपछि उम्मेदवारहरु आफ्नोबारे निर्णय गर्ने अधिकार अध्यक्षलाई दिएर उम्मेदवारी त्यागको पक्षमा पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button