आजबाट जसपा नेपालको महाधिवेशन

[mashshare]

वीरेन्द्र रमण
जनकपुरधाम ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रिय महाधिवेशन आज सोमबारदेखि जनकपुरमा शुरु हुँदैछ । महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जसपा नेपालले जनाएको छ । महाधिवेशनको उद्घाटन शत्रको तयारी जनकपुरको तिरहुतिया गाछीमा हुने छ । जनकपुर नगरको विभिन्न चौकहरुमा स्वागतद्वाराको निर्माण गरिएको छ । नगरभरी पार्टीका झण्डाहरु झुण्डाइएको छ ।

प्रतिनिधिहरुको जनकपुर आउने क्रम सुरु भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले महाधिवेशनमा देशभरबाट एक हजार तीन सय प्रतिनिधि सहभागी हुने र अधिवेशनको सम्पर्ण तयारी पूरा भएको जानकारी दिए । अधिवेसनको उद्घाटन शत्र विहान ११ बजेदेखि सुरु हुने छ । महाधिवेसनमा सहभागिताको लागि अशोक राईको नेतृत्वमा रहेको जसपा बाहेक हरेक राजनीतिक दललाई आमन्त्रण गरिएको पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए । उनले महाधिवेसनमा सहभागि हुन नेपाली कांग्रेसका पूर्णबहादुर खडका, रास्वापाका स्वर्णीम वाग्ले, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपाका नेत्र विक्रम चन्द्र विप्लवलगायत छिमेकी मित्र राष्ट्र भारतका केही दलका प्रतिनिधिहरु आउने जानकारी दिए ।

उनले महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक, वैचारिक, नीतिगत दस्तावेज तयार भएको र अब तीन दिनसम्म व्यापक बहस तथा छलफलपछि आवश्यक परिमार्जनसहित पारित गरिने बताए । यस्तै महाधिवेशनबाट नयाँ नेतृत्वका लागि जेठ ३० गते चुनावी प्रक्रिया सुरु हुने जानकारी दिए । महाधिवेशनमा सहभागी हुने मधेश प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षकहरूले आइतबार बेलुकी ५ बजेसम्ममा नाम दर्ता गरिसकेका छन् भने अन्य प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षकहरूले जेठ २८ गते बेलुकी ५ बजेसम्म दर्ता गर्न पाउने छन् । जेठ २९ गते बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने जसपा नेपालका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

जेठ २९ गते नै १२ बजेदेखि २ बजेसम्म मनोनयपत्र माथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने कार्य हुने र त्यसै दिन ४ बजेसम्म सोउपर निर्णय गरिने छ । जेठ ३० गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्य हुनेछ भने जसपा नेपाल केन्द्रीय समितिको निर्वाचन समापन पछि सबै पदको लागि मतगणना एकै पटक हुने बस्नेतले बताए । जसपा नेपालको केन्द्रीय निर्वाचन समितिले प्रतिनिधि तथा पर्यवेक्षकका लागि दर्ता शुल्क पन्ध्र सय रुपैयाँ तोकेको छ । महाधिवेशनले २० जना पदाधिकारीको निर्वाचन गर्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । उनका अनुसार महाधिवेशनले अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १, २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित गर्नेछ । सात सचिवमा भने प्रादेशिक क्लस्टरका आधारमा हुने उनले सुनाए ।

जसपा नेपालले महाधिवेशनमा पदाधिकारी तथा केन्द्रीय सदस्यको उम्मेदवार बन्न योग्यताको व्यवस्था गरेको छ । पदाधिकारी तथा सदस्य पदको उम्मेदवार हुन पार्टी विधानको धारा २५ मा न्यूनतम योग्यता निर्धारण गरिएको प्रचार विभाग प्रमुख बस्नेतले बताए । केन्द्रीय समितिको पदाधिकारीका लागि उम्मेदवार हुन केन्द्रीय समितिको सदस्य वा प्रदेश र राष्ट्रिय समितिको अध्यक्ष भई कम्तीमा पाँच वर्ष काम गरेको हुनुपर्नेछ । त्यसैगरी केन्द्रीय समितिको सदस्यको उम्मेदवार बन्न सङ्गठित पार्टी सदस्य भई कम्तीमा १० वर्ष पार्टी सदस्य भएर केन्द्रीय समिति वा केन्द्रीय निकाय वा प्रदेश र राष्ट्रिय समितिको सदस्य वा केन्द्रीय विभागको सदस्य वा जिल्ला समितिको पदाधिकारी वा जनवर्गीय सङ्गठनको केन्द्रीय पदाधिकारी भई एक कार्यकाल वा लगातार पाँच वर्षसम्म काम गरेको हुनुपर्नेछ ।

महिला, दलित, श्रमिक, मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम र अपाङ्गता भएका व्यक्तिको हकमा भने लगातार पाँच वर्ष वा एक कार्यकाल जिल्ला समिति वा प्रदेश÷राष्ट्रिय समिति वा जनवर्गीय सङ्गठनको केन्द्रीय समितिको पदाधिकारी भई काम गरेको भए पुग्नेछ । यस्तै महाधिवेशनमा उम्मेदवार हुनेहरूलाई दस्तुरसमेत निर्धारण गरिएको छ । पार्टीले तयार पारेको निर्वाचन निर्देशिकाअनुसार पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको दस्तुर निर्धारण गरिएको जनाइएको छ । अध्यक्ष, सहअध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवारलाई ७ हजार, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष पदका उम्मेदवारका लागि ५ हजार, केन्द्रीय सदस्यमा उम्मेदवार हुन २ हजार शुल्क निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button