सप्तरीले धेरै मन्त्री पाए, जनताले के पाए ?

[mashshare]

अनिल पोखरेल
राजविराज ।
२०४६ सालको प्रजातन्त्र प्राप्ति पछि सप्तरी मन्त्री बन्नेको नामावली लामै छ । तर सप्तरीको प्रगति र उन्नतिमा भने खासै परिर्वतन भने भएको छैन । २०४६ साल यता केन्द्र देखी प्रदेशसम्म हेर्दा सप्तरीबाट मन्त्री भएकाको नामावली लेख्ने हो भने एउटा किताब प्रकाशन गर्ने अवस्था छ । गजेन्द्र नारायण सिंहदेखि मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहसम्मले सप्तरीबाट नेतृत्व गरेका छन् तर सप्तरीको प्रगति र उन्नतिमा भने खासै परिर्वतन भने भएको छैन् । जनता भने अझै आशमा छन् । राणा कालमा आर्थिक राजस्वको उठाउने थलो यही थियो भने अहिले हरेक पटकको सरकार गठनमा कोही न कोही मन्त्री बनेकै छन् तर शैली भने राणा कालको जस्तै छ ।

वर्तमान समयमा संघीय सरकारदेखि प्रदेश सरकारसम्म हेर्दा सप्तरीले नबल किशोर साह संघीय वन तथा वातावरण मन्त्री, मधेश प्रदेशमा मुख्यमन्त्री सतिश सिंह, शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने, राज्यमन्त्री रञ्जु कुमारी मण्डल खंग सहित पाँच मन्त्री छन् । अब सप्तरीको मुहार फेरिन्छ की उस्ताको उस्तै रहन्छ हेर्न बाँकी छ । माननीय मन्त्री ज्यूहरू सप्तरीमा भनेको बेला सरकारी कार्यलयमा सर्वसाधारणको काम हुँदैन । वर्ष देखिका योजनाहरू अलपत्र अवस्थामै छन् । नेता फेरिए, पार्टी फेरिए, सरकार फेरिए तर जनताका कथा र व्यथा भने त्यही छ ।

शताब्दी अघि देखि नै नाम चलेको र नाम कहलाएको सप्तरीमा वर्तमान अवस्थामा आइपुग्दासम्म घेरै उतार चढाव भयो । सडक कयौँ बने तर सवारी साधन गुड्ने अवस्थामा छैन् । देशकै सर्वाधिक आँप उत्पादन हुने जिल्ला किसानले भने जति मूल्य पाउदैनन् । यस जिल्लाबाट शिक्षा दिन देशका कुना कुनामा शिक्षक छन् तर यही जिल्लामा शिक्षितको संख्यामा कमी छ । जिल्लबाटै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा नाम कमाएका डाक्टरहरू कयौं छन् तर यहाँ जनता उपचार नपाई मर्छन । कयौँ नाम चलेका वकिल यही जिल्लाबाट उत्पादन भए तर यहाँ जनताले न्याय पाउदैनन् । देशकै पुरानो चन्द्रनहर यही जिल्लामा छ । किसानले चाहेको बेला सिँचाइ गर्न पाउदैनन् ।

पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट ५५ जना दल बदल सहित एमालेमा प्रवेश गरेर तेश्रो पटक मधेश प्रदेश सरकारको मन्त्री राजकुमार लेखी या पञ्चायती व्यवस्था सम्हाल्दै एमाले हुँदै नेकपा एकीकृत समाजवादीसम्म पुगेका गोविन्द बहादुर न्यौपाने हुन या लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गाउँपालिका अध्यक्ष हुँदै जनमतबाट मुख्यमन्त्री बनेका सतिश सिंहसँग यो पल्ट सप्तरीवासी आशावादी छन् । सप्तरीबाट यो पटकको सरकारमा मुख्यमन्त्रीसहित तीन जना सरकारमा आरोहण भइरहदा सप्तरीको विकासले भने गिज्याइ रहेको छ ।

३६ वर्षमा चारपटक शिलान्यास भए पनि राजविराज बसपार्कको निर्माण कार्य अझै पूर्ण हुन सकेको छैन के अब पुरा होला ? मुख्यमन्त्रीका सिंहका बुबा शेखर सिंहले जिम्मा लिएको १८ वर्षअघि निर्माण सुरु भएको मुलुककै पुरानो राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको ५६ कोठे कन्या छात्रावास भवनले पनि गिज्याइ रहेको छ । यो पनि अब पुरा होला की ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button