द्वन्द्व बढाइरहने अत्यन्त कमजोर गठबन्धन

समाचार टिप्पणी

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार पाँचौँपटक विश्वासको मत लिने तयारीमा असफलता पाए । अन्तिम समयमा उनलाई साथ दिन आएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको साथबाट पनि यादव नेतृत्व बहुमत पुर्याउन सक्ने भएन । नेकपा एकीकृत समाजवादीको साथ भएको भए उनले पाँचौँपटक पनि विश्वासको मत पाउने थिए । तर केन्द्र गठबन्धनमा रहेको र जनता समाजवादी पार्टीजस्तै विभाजन गर्नसक्ने चेतावनी र भय अनि वाम गठबन्धनमा बाधक बनेको आरोपको त्रासले अन्तिममा नेकपा एस पनि १३ सिटको जनमत गठबन्धनमा समेटिँदा यादव सरकार अल्पमतमा परेको हो ।

डेढ वर्षको अवधिमा पाँचौँपटक विश्वासको मत लिँदा सरोज यादव असफल भएजस्तै कुनै एक सानो दलले सरकारसँग असहमति राख्दा कुनै पनि बेला अब बन्ने मधेश सरकार पनि ‘तलमाथि’ हुनेमा शंका छैन । दुईपटक जसपा नेपालको सरकार बोक्न बाध्य भएको नेकपा एमाले ठूलो दल भएर पनि मुख्यमन्त्रीको कुर्सीमा पुग्नसकेको छैन । यसपटक पनि उसलाई आफू भन्दा आधा कम संख्या रहेको र १८ महिनाअघि मात्रै संसदमा छिरेको जनमत पार्टीको सरकारको सारथि हुन परेको छ ।

यति मात्र होइन, मधेशमा मुख्यमन्त्रीको दाबी गरिरहेको नेकपा माओवादी र नेपाली कांग्रेस पनि यसपटक नेकपा एसका कारण मात्रै ‘तलमाथि’ एउटा सत्तासारथि र अर्को प्रतिपक्षी भएका छन् । नेकपा एसले साथ दिएको भए कांग्रेस–जसपा नेपाल–नेकपा एस–लोसपा गठबन्धन बन्ने थियो । नेकपा एसले जनमत गठबन्धनलाई साथ दिए पनि बहुमत पुर्याउन नागरिक उन्मुक्ति या संघीय समाजवादी पार्टीको एक सांसदको समर्थनविना यो गठबन्धन पनि संसदमा बहुमत पुर्याउने अवस्थामा हुने छैन । यसका लागि एक सिटका पार्टीलाई पनि ‘एउटा मन्त्री’ दिएर गठबन्धन टिकाउनु पर्ने बाध्यता जनमतलाई हुनेछ । अर्कातिर सडकदेखि संसदसम्म अराजक ढंगले प्रस्तुत हुने जनमतको हुलियाका कारण कुनै पनि बेला गठबन्धनमा दरार आउने अनुमान छ ।

मधेश सरकार दिएर जनमतलाई टार्न खोजिएको र केन्द्रमा उपेन्द्र यादवको पार्टी फुटाएर बनाइएको जसपाको ७ सिटमा ३ मन्त्री र एक राज्यमन्त्री दिने सहमतिमा जनमत अहिलेदेखि नै असन्तुष्ट भइसकेको छ । ६ सिटको जनमतलाई मधेशमा मुख्यमन्त्री दिएर केन्द्रमा टार्ने र मधेशमा पनि जसपा नेपाल फुटाएर ७ सांसद आफूतिर पार्ने गफ लगाएको जसपाले एउटा सांसद पनि आफूतिर पार्न नसक्दा नेकपा एसको साथ माग्नु पर्ने अवस्थामा जनमत र जसपा मिलाएर लैजाँदा कुनै पनि बेला नेकपा एस र उपेन्द्र यादवको पार्टीले मधेश र केन्द्र गठबन्धनलाई तर्सारहन सक्ने देखिन्छ । मधेशमा नागरिक उन्मुक्ति या संघीय समाजवादीले चार ठूला दलको सरकारलाई कुनै पनि बेला कोशी ब्यारेजको झैँ खतराको ‘रातो बत्ती’ देखाइदिन सक्ने भएकाले अहिलेको सरकार ढालेर अब बन्ने गठबन्धन सरकार पनि कमजोर अंकगणितमा उभिएको प्रष्ट छ ।

मधेशका जसपा नेपालका १९ प्रदेश सभा सदस्यमध्ये एक जना पनि जसपातिर गएनन् भने जसपाका ३ मन्त्रीहरु मन्त्री पदका लागि मात्र पार्टी फुटाएको देखिने छन् र कुनै पनि बेला जनमतले नै यस्तो गठबन्धनमा काम गर्न नसकिने भन्दै फिर्ता भइदिएको अवस्थामा फेरि कांग्रेस या जसपा नेपालको सहारा लिनु पर्ने अवस्थामा माओवादी–एमाले नआउलान् भन्न सकिन्न । यस्तो कमजोर गठबन्धनलाई कसरी जोगाउने भन्ने चिन्ता एमाले–माओवादी–जनमत र नेकपा एसलाई परिरहने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button