पर्साका नेताः जिल्लामा ‘ढाडसका भारी’ र केन्द्रमा ‘डिब्बा खाली’

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
मधेश प्रदेशको आर्थिक राजधानीका नामले परिचित पर्साले नेपालको राष्ट्रिय राजनीतिमा राम्रै प्रभाव पारिरहेको छ । पर्साबाट एकसे एक नेता जिल्लावासीको मत पाएर राष्ट्रिय राजनीतिमा स्थापित भइरहेका छन् । कांग्रेस नेता सुरेन्द्र चौधरी, रमेश रिजालजस्ता प्रभावशाली नेता पर्साकै हुन् । धेरै पुराना र स्थापित नेताका रुपमा उनीहरुको परिचय छ । पछिल्लो समय जसपा नेपालबाट विभाजित भएर बनेको जसपाका उपमहासचिव एवम् सांसद प्रदीप यादवले पनि आफ्नो राजनीतिक छविलाई प्रभावशाली रुपमा स्थापित गराएका छन् । २०७४ र २०७९ को आमनिर्वाचनमा लगातार विजयी हासिल गरेका यादव राजनीतिक जीवनमा दुई पटक मन्त्री बनिसकेका छन् । अहिले नेकपा एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा यादव ‘मालदार’ मानिने स्वास्थ्य जनसंख्या मन्त्रालयमा मन्त्री छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारबाट बाहिरएपछि उनी स्वास्थ्य मन्त्री नियुक्त भएका हुन् । मन्त्री बनेदेखि नै प्रदीप यादवले छुटै राजनीति ‘स्वाग’ देखाइरहेका छन् ।

मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला आएका उनलाई भव्य स्वागत गरिएको थियो । जिल्लामा उनी जहाँ जान्छन्, एक–दुई दर्जन कार्यकर्ता बोकेर पुग्छन् । जिल्लामा उनको राजनीतिक छवि राम्रै छ । जनताले उनको राजनीतिक सक्रियताको प्रशंसा गर्छन् । उनी मन्त्री बनेसँगै केही निकटका कार्यकर्ताहरु खुसीले अनावश्यक रुपमा गदगद् पनि छन् र कोही केही फाइदा लिन सकिन्छ कि भन्दै मौका ताकेर बसेका छन् । कतै कुनै अस्पतालमा नियुक्त पाउँन सक्छु कि भनेर समय कुरेर बस्ने पनि छन् । उनलाई नजिकबाट चिन्ने र बुझने एक जानकार भन्छन्, ‘मन्त्रीजी जहिले पनि सक्रिय रहनुहुन्छ । जनताको काम पनि गर्नु हुन्छ, आफ्नो–आफन्तको ख्याल पनि गर्नुहुन्छ । सकेसम्म सबैलाई खुशी बनाउन सक्रिय हुन्छन् ।’

२०७९ को आमनिर्वाचनपछि पर्साले दुई प्रभावशाली नेतालाई मन्त्रीका रुपमा पाएको छ । पछिल्लो प्रचण्ड सरकारमा कांग्रेसका पुराना नेता रमेश रिजाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री थिए । उनको कार्यकाल सामान्य रह्यो । देशको आर्थिक नगरी भनेर चिनिने पर्साका उद्योगी, व्यवसायी तथा साना व्यापारीका लागि उनले खास केही गर्न नसकेको गुनासो गाईंगुईं चल्ने गरेको छ । जिल्लामा कांग्रेसका प्रभावशाली नेताका रुपमा चर्चामा रहने उनी केन्द्रको राजनीतिमा भने प्रभावहीन देखिन्छन् । एक थान मन्त्री बन्नुबाहेक रिजालको अरु केही उपलब्धी नभएको पर्साका जनताको बुझाइ छ ।

यी दुवै नेताको जिल्लामा आफ्नो राजनीतिक प्रभाव देखिए पनि केन्द्रमा उनीहरुको केही नचल्ने पुष्टि आगामी वर्षको बजेट विनियोजनबाट प्रष्ट भएको छ । पर्साका जनताले वीरगंज चिनी मिल, कृषि औजार कारखाना, नारायणी रंगशाला, नारायणी अस्पतालको स्तरोन्नतिका लागि निकै पहल गरे । तर, यी नेताहरुको बजेट विनियोजनमा केही प्रभाव देखिएन । बजेटमा रंगशाला, कारखाना र मिलको चर्चासमेत छैन । मन्त्री बनेपछि गृहजिल्ला आएका यादवले आफ्नो भाषणमा नारायणी अस्पतालको लागि १ अर्ब रुपैयाँ बजेट छुट्याएको सगौरव सुनाएका थिए । तर, बजेट आएपछि उनको खोक्रो आश्वासन ‘हात्ती आयो–हात्ती आयो फुस्सा’ सावित भएको छ । त्यही भएर होला यी नेतामा पनि मन्त्री बनेको केही दिनमै ‘ढाडसका भारी–डिब्बा खाली’ भन्ने उखान चरितार्थ भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button