
सञ्जय मिश्रा
रौतहट ।
प्रहरीले गरिब विपन्नको घर बनाउने भन्दै लाखौँ ठगी गर्ने गिरोहका सदस्यहरुलाई पक्राउ गरेको छ । विपन्न दलित तथा गरिबलाई आवास बनाइदिने नाममा लाखौं ठगी गर्ने ६ जनाको गिरोहलाई रौतहट प्रहरीले पक्राउ गरेको हो । स्थानीय माधव नारायण नगरपालिका ८ रजावाडा गाउँका गरिबलाई मधेश प्रदेश सहरी विकास मन्त्रालयले विपन्न वर्गका लागि आवास बनाउने कार्यादेश आएको छ भनेर १० देखि ४० हजार रुपैयाँसम्म खर्च लाग्छ भनेर सैयौं मानिसलाई ठगी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याएको हो ।
पक्राउ पर्नेमा माधव नारायण ७ लौकाहाका वर्ष ५२ का रामनाथ माझी, ३२ वर्षका प्रकाश माझी, गरुडा नगरपालिका ६ का वर्ष ४० का राकेश महरा, ९ का २५ बर्षीय सिकिन्दर ठाकुर, ४५ वर्षिया रामकली देवी, वडा ५ का ७१ बर्षीय मुङलाल महरा रहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छन् । उनीहरूमाथि ठगी सम्बन्धी मुद्दा दायर गरी अदालतबाट म्याद थमाई अनुसन्धान भईरहेको प्रवक्ता गिरीले जानकारी दिइन् ।
ठग गिरोहले बागमती किनारमा रहेको रजावाडा गाँउका एकसय भन्दा बढी सोझा परिवारको घर बनाउने योजना देखाएर ५० लाख रुपैयाँ बढी ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसैबीच सता पक्षका एकजना कथित ठूला नेताले आरोपीलाई छुटाउन रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेलाई आइतबार ठूलो दवाब दिएका थिए । तर एसपी घिमिरे भने आफ्नो अडान अथवा न्यायको पक्षबाट हटेनन्, पीडितको पक्षमा खुलेरै जवाफ दिएका थिए ।
रौतहट प्रहरी प्रमुखको रूपमा एसपी दिलीप घिमिरे आएदेखि जिल्लामा आपराधिक क्रियाकलाप, चोरी तस्करी, तुलनात्मक रूपमा काम हुनुका साथै विभिन्न सामाजिक विकृति विसङ्गति विरुद्द पनि विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन हुँदै आएको छ ।






