
मधेशदृष्टि
वीरगंज ।
सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ मा वीरगंज महानगरपालिकाका लागि विभिन्न प्रकारको १ अर्ब २७ करोड १० लाख रुपैयाँ अनुदान विनियोजन गरेको छ । वीरगंज महानगरपालिकालाई केन्द्रबाट १ अर्ब २७ करोड १० लाख रुपैयाँ अनुदान विनियोजन गरिएको हो । वीरगंज महानगरका लागि समानीकरण अनुदानतर्फ ३४ करोड २४ लाख रुपैयाँ र सशर्त अनुदानतर्फ ९१ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । वीरगंजका लागि विशेष अनुदानतर्फ २ करोड १० लाख विनियोजन गर्दा समपूरक अनुदानका लागि कुनै पनि रकम छुट्याइएको छैन ।
त्यसैगरी, पर्सा जिल्लाकै पोखरिया नगरपालिकालाई ३३ करोड ७५ लाख रुपैयाँ अनुदान विनियोजन भएको छ । त्यस्तै, पर्सागढी नगरपालिकालाई ३३ करोड २४ लाख रुपैयाँ र बहुदरमाई नगरपालिकालाई ३२ करोड ९५ लाख रुपैयाँ अनुदान विनियोजन गरेको छ । छिपहरमाई गाउँपालिकालाई २४ करोड ९७ लाख रुपैयाँ, जगरनाथपुर गाउँपालिकालाई २८ करोड १० लाख रुपैयाँ धोबिनी गाउँपालिकालाई २२ करोड २७ लाख रुपैयाँ, पकाहमैनपुर गाउँपालिकालाई २१ करोड ९७ लाख रुपैयाँ, पटेर्वासुगौली गाउँपालिकालाई २६ करोड ६ लाख रुपैयाँ केन्द्रले विनियोजन गरेको छ ।
त्यस्तै, केन्द्र सरकारले पर्साको बिन्दबासिनी गाउँपालिकालाई २४ करोड ५ लाख रुपैयाँ, सखुवा प्रसौनी गाउँपालिकालाई ३३ करोड १२ लाख रुपैयाँ, ठोरी गाउँपालिकालाई २८ करोड २३ लाख रुपैयाँ, कालिकामाई गाउँपालिकालाई २३ करोड ११ लाख रुपैयाँ र जिराभवानी गाउँपालिकालाई २४ करोड १६ लाख रुपैयाँ विनियोजन गरेको छ ।
सरकारले आगामी आर्थिक वर्षमा ७५३ स्थानीय तहका लागि विभिन्न प्रकारको अनुदानवापत ३ खर्ब १२ अर्ब ४२ करोड ६१ लाख रुपैयाँ विनियोजन गरेको छ । यसमध्ये महानगरपालिकामा ११ अर्ब ७३ करोड ५ लाख रुपैयाँ, उपमहानरपालिकामा ११ अर्ब ६३ करोड ९२ लाख रुपैयाँ र नगरपालिकामा १ खर्ब ४२ अर्ब ५२ करोड रुपैयाँ विनियोजन भएको छ । गाउँपालिकाको लागि १ खर्ब ४६ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरेको छ ।






