
मधेशदृष्टि
वीरगंज ।
प्रेस सेन्टर नेपाल पर्सा शाखाले स्व.कृष्णसेन स्मृति दिवसको अवसरमा दुई जना पत्रकारलाई पुरस्कृत गरेको छ । कृष्णसेनको २२औँ स्मृति दिवसको अवसरमा शनिबार वीरगंजमा आयोजित एक कार्यक्रमका बीच पत्रकार कृष्ण उदास खनाल र राम मण्डललाई जनही २१ हजार रुपैयाँ नगद राशीसहित पुरस्कृत गरिएको हो । खनाललाई कृष्णसेन स्मृति सम्मान पुरस्कार र मण्डललाई क्रियाशिल पत्रकार पुरस्कार प्रदान गरिएको हो ।
कृष्णसेन स्मृति दिवसका अवसरमा प्रेस सेन्टर पर्साका संस्थापक सल्लाहकार पत्रकार सुदर्शनराज पाण्डे र वर्तमान अध्यक्ष समेत रहेका दीपक गौतम र जगत राईलाई सम्मान गरिएको छ । सम्मानित तथा पुरस्कृत हुनेलाई पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल र पत्रकार महासंघका सचिव दीपेन्द्र चौहानले प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले स्व.कृष्णसेन शोषित पीडित वर्गको पक्षमा कलम चलाउने गरेको स्मरण गर्दै सो कुरालाई अरुले पनि अनुसरण गर्नुपर्ने बताए । विगतमा भएका विभिन्न परिर्वतनहरुमा नेपाली पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी भुसालले लोकतन्त्रलाई संस्थागत गर्न पत्रकारले कलम चलाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव दीपेन्द्र चौहानले प्रेसमाथि अहिले सरकारी पक्षमा चुनौति थपेको बताए । विगतमा पत्रकारिता पृष्ठभूमिबाट नै आएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको अहिले शक्तिको आडमा आफ्नो अभिष्ट पूरा गर्न खोजेको उनले आरोप लगाए ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज नीरज पिठाकोटे मगरले विगतमा स्व.कृष्णसेनले जनपक्षीय पत्रकारिता गरेको भन्दै उनको योगदानको प्रसंशा गरे । त्यस्तै, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्काले स्व.कृष्णसेन क्रान्तिकारी व्यक्तित्व रहेको भन्दै नेपाली पत्रकारितामा उनको योगदान महत्वपूर्ण रहेको बताए । कार्यक्रममा प्रेस सेन्टर पर्साका अध्यक्ष दीपक गौतमले स्व.कृष्णसेनको स्मृतिमा शुरु गरेको पुरस्कार आगामी वर्षहरुमा पनि निरन्तरता दिने जानकारी दिए ।







