दहेजको त्रास

सम्पादकीय

[mashshare]

समाजका विद्यमान सामाजिक विकृति मध्येको एक दहेज (दाइजो) विशेषतः गरिब घरपरिवारका लागि अभिषाप बन्दै आएको छ । पछिल्लो दुई दिनको अन्तरालमा दाइजोको निहुँमा हत्या गरिएको भन्ने दुई वटा गम्भीर समाचार सार्वजनिक भएका छन् । गत आइतबारको मधेशदृष्टि दैनिकमा ‘दाइजो नथपिँदा दुई बुहारीको झुन्ड्याएर हत्या !’ र मंगलबार ‘मनिषा मृत्यु प्रकरणमा प्रहरीले जाहेरी लिएन’ शिर्षकमा समाचार प्रकाशन भएका छन् । यि दुई घटना एउटा सर्लाही र अर्को पर्सा जिल्लामा भएका हुन् । सर्लाहीको बरहथवाकी आरती कुमारी महतोको हत्या भएको भन्दै माइती पक्ष महिनौदेखि न्यायको खोजीमा छ । एक वर्षअघि मात्रै विहे भएको छोरीलाई गत चैत २४ गते घरको कोठामा झुण्डिएको अवस्था फेला पारेका परिवारले मृत्युको कारण दाइजो नै भएको ठहर गरी न्यायको याचना गरिरहेका छन् । यता, पर्सा जिल्लामा गत शनिबार आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत भेटिएकी मनिषा देवीको घटना पनि दाइजोसँगै नै जोडिएको छ । पीडित परिवारका सदस्यहरु न्यायको लागि प्रहरी प्रशासनदेखि अदालतसम्म गुहार गरिरहेका छन् । विवाह भएको समयदेखि नै केटा पक्षले दाइजोमा सुनको सिक्री, ब्रासलेट, मोटरसाइकल, फ्रिज र वासिङ मेसिन नपाएको भन्दै मनिषालाई यातना दिने गरेको पीडित पक्षले बताइरहेका छन् । तर, यति गम्भीर विषयमा पनि प्रहरी प्रशासनले गम्भीरताका साथ चासो देखाइरहेको छैन । पीडित पक्ष प्रहरी प्रशासनबाट पनि न्याय नमिलेकोमा चिन्तित छन् । यी केही प्रतिनिधि घटनाहरु भए पनि यसबाट विशेषगरी मधेश प्रदेशमा दाइजोको अवस्था कस्तो छ भन्ने प्रष्ट चित्र देखाउँटछ ।

दाइजोको समस्या देशका अन्य जिल्लामा पाइन्छ । तर, मधेश प्रदेशका आठ वटै जिल्लामा अन्य प्रदेशको भन्दा बढी देखिन्छ । विशेषगरी, गरिबी र अशिक्षा जस्ता कुराहरुले दाइजोको समस्या मधेशमा बढी देखिएको भनिन्छ । तर, गरिबी, अशिक्षा र चेतनाको कारण मात्रै नभई एउटा परम्पराकै रुपमा रहेकाले दाइजोलाई शिक्षित वर्गले पनि स्वीकार गरिरहेका छन् । पछिल्लो समय शिक्षित समाजमा दाइजो प्रथाका स्वरुप परिवर्तन भएका छन्, तर कमि आउन सकेको कदापि छैन । दाइजोको नाममा मोटरसाइकल, घरमा प्रयोग हुने विलासी सामग्री, जग्गा वा नगद माग गर्ने क्रम विवाह अघिदेखि विवाह पछिसम्म पनि रोकिएको छैन । दाइजोको निहुँमा बुहारी हत्याका घटनाहरु कमि आउन नसक्दा झनै चिन्ता थपिएको छ । समाजमा अझै पनि दाइजोको त्रास पालेर बसेका थ्रुपै परिवारहरु छन् । छोरीलाई जन्म दिनुलाई उनीहरुले डरका रुपमा लिने गरेका छन् । यस प्रकारको मनोविज्ञानले समाजलाई कुन बाटोतर्फ डोर्याइरहेको छ ? यस्ता विषयमा गम्भीर विचार मन्थन गर्नुपर्ने बेला भएको छ ।

राज्यले कानुन बनाएर दाइजो लिने कुरालाई दण्डनीय भनेको छ । नेपालको कानुनमा विवाहमा कुनै पनि किसिमको लेनदेन गर्न नहुने प्रावधान मुलुकी अपराध संहिता २०७४ मा राखिएको छ । ‘आफ्नो परम्परादेखि चलिआएको सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहनाबाहेक विवाह गर्ने दुलाहा वा दुलहीका तर्फबाट कुनै किसिमको चल, अचल, दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन सर्त राखी विवाह गर्न वा गराउन’ नहुने व्यवस्था कानुनमा उल्लेख छ । कसैले त्यसो गरेको पाइएमा सम्बन्धित व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था गरेको छ । तर, कानुन कार्यान्वयन गर्ने निकायले पनि यस्ता घटनालाई गम्भीर रुपमा लिएको देखिदैन । जसले गर्दा पीडित परिवारले न्यायको लागि वर्षौसम्म भौतारिनु परेको छ । त्यसैले पनि आगामी दिनहरुमा दाइजोको निहुँमा दुलही वा उसका नातेदारलाई कुनै किसिमले अमानवीय वा अपमानजन्य व्यवहार गर्न गर्ने कुरामा राज्यका संयन्त्रले गम्भीर रुपमा अनुसन्धान अघि बढाउन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button