सिरोहियाको पक्षमा प्रदर्शन

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको विरोधमा जनकपुरमा व्यापारी युवाहरुले विरोध प्रदर्शन गरेका छन् । सिरोहियालाई जिल्ला अदालत धनुषामा उपस्थित गराउने भएपछि नेपाली काग्रेस निकट तरुण दल र नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले ‘सहकारी ठग गृहमन्त्री मुर्दावाद’ ‘प्रेस स्वतन्त्रता कायम गर’ जस्ता नारा लगाएका थिए ।

त्यस्तै, सिरोहियाको पक्राउ परेपछि जनकपुर उद्योग वाणिज्य संघमा जनकपुरका व्यापारीहरुको भेलाले विरोध प्रदर्शन गर्ने निर्णय गरेपछि व्यापारीहरुले समेत प्रहरी कार्यालय जाने बाटोमा रहेको वडा नम्बर ४को कार्यालय नजिक विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले ‘राज्य आतंक बन्द गर, सञ्चार उद्यमी कैलाश शिरोहियालाई रिहा गर’ नारासहित प्रदर्शन गरेका थिए । त्यस्तै, व्यवसायीको बैठकले नै सिरोहियाको पक्राउको विरोध गर्ने निर्णय गरेको हो । पूर्वाग्रही भएर सिरोहियाविरुद्ध कामकारबाही भइरहेको जनाउँदै जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले पक्राउलाई अनुचित भनेका छन् । सोधपुछका लागि बोलाउनुको सट्टा पक्राउ गरिएको उनको भनाइ थियो । राज्यले पूर्वाग्रही कदम नरोकेमा सशक्त आन्दोलन गर्ने महासेठको चेतावनी दिए । उनले व्यापारीहरुको मनोवल गिराउने कार्य सरकारले गरिरहेको आरोप लगाउदै राज्य आतंक नरोकिए भोलीको दिनमा सशक्त आन्दोलनमा जाने चेतावनी दिए ।

सिरोहियाको समर्थनमा आएको नागरिक समाजले सरकारविरुद्ध नाराबाजी गर्दै अदालत अगाडि जान खोज्दा प्रहरीले रोक्ने क्रममा घम्साघम्सी समेत भएको थियो । व्यापारी र युवाहरुले विरोध प्रदर्शन गर्न थालेपछि बुधबार जिल्ला अदालत धनुषा र अदालत जाने विभिन्न बाटोहरुमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । साथै अदालतमा सेवाग्राहीहरुलाई समेत प्रवेशमा कडाई गरिएको थियो ।

‘हामी प्रतिशोधको विरोधमा छौँ’
जितेन्द्र महासेठ, अध्यक्ष
जनकपुरधाम उद्योग वाणिज्य संघ
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पूर्वाग्रही ढंगले पक्राउ गरेको छ । सरकारको यही प्रतिशोध र पूर्वाग्रही कमदको हामीले आज (बुधबार) विरोध गरेका हौँ, शान्तिपूर्ण धर्ना दिएका हौँ । विरोध कार्यक्रममा जनकपुर उद्योग वाणिज्य संघ, नागरिक समाज, मारवाडी समाजलगायत विभिन्न संघसंस्थाहरुले ऐक्यवद्धता जनाएका छन् । हामीले विना सर्त रिहाइ गरी अनुसन्धान गर्न माग गरेका छौँ । यदि हाम्रो माग सम्बोधन नभए आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गर्ने छौँ । विगतदेखि यो सरकारले उद्योगी व्यवसायीहरुलाई दुख दिने काम गर्दै आइरहेको छ । केही समय अघि मात्रै व्यवसायी मीन बहादुर गुरुङलाई पनि सरकारले यस्तै हर्कत गरेको थियो । अहिले पनि व्यवसायी कैलाश सिरोहियामाथि सरकारले प्रतिशोध साधेको छ । कैलाश सिरोहियाका बुबा आजभन्दा करिब ७० वर्ष अघि २००९ सालमा जनकपुर उद्योग वाणिज्य संघका संस्थापक महासचिव हुनुहुन्थ्यो । त्यो बेलादेखि नै उहाँको परिवार व्यवसाय गर्दै आएका थिए । तर, आज सरकारले पूर्वाग्रह ढंगबाट सरकारले एउटा सामान्य प्राविधिक कुरालाई लिएर जसरी पक्राउ गरियो, यो कदम भनेको व्यवसायीलाई त्रर्साउन खोजेको हो । नागरिकतामा कुनै गल्ती भए त्यसलाई सच्याउन मिल्ने सामान्य प्रक्रिया हो । नागरिकतामा गल्ती हुनुमा पनि उहाँको कुनै दोष छैन । त्यो त प्रशासनको कुरा हो । तर, यही विषयलाई लिएर सरकारले जुन व्यवहार देखाएको छ, त्यसको हामी विरोध गर्छौँ । कैलाश सिरोहियालाई बाहिरै राखेर पनि अनुसन्धान अघि बढाउन सकिन्छ । त्यसतर्फ विचार गरिनुपर्छ, होइन भने यो प्रतिशोध पूर्ण घटनाको जनकपुरधाम उद्योग वाणिज्य संघ, नागरिक समाज र विभिन्न संघसंस्था मिलेर थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नेछौँ । (कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button