
अफरोज अर्पण
कलैया ।
प्रादेशिक अस्पताल कलैयामा आवश्यक जनशक्ति अभावमा सेवा प्रभावित भइरहेको छ । गर्मीको समयमा अहिले बिरामीको चाँप दिनदिनै बढ्दै गएको छ । उनीहरुलाई सेवा दिन आवश्यक जनशक्ति र आधुनिक मेसिनको अभावमा बिरामीहरुले दुःख पाउने गरेको गुनासो बढेको छ । प्रयाप्त औषधि र आधुनिक प्रविधि नहुँदा बिरामीहरु अन्यत्रबाट सेवा लिन बाध्य भइरहेका छन् । अहिले अस्पतालमा दैनिक पाँच सय हाराहारीमा बिरामीहरु ओपीडी (बहिरंग) सेवा लिन पुगिरहेका छन् भने ईमरजेन्सिमा करिब ७० जनासम्म बिरामीहरु आउने गरेको कलैया अस्पताल सञ्चालक समितिका अध्यक्ष प्रकाश चौगाई बताउँछन् । ५० शय्याको अस्पतालमा अहिले ७७ शय्या सञ्चालन गरिएको छ । बिरामीको चाँपलाई थेग्न नसकेर अन्यत्र पढाउनु परेको अध्यक्ष चौगाईको भनाई छ ।
यता, दैनिक अस्पताल पुगिररहेका बिरामी र कुरुवाहरुले भएको जनशक्तिले पनि राम्रो र जिम्मेवारीपूर्वक सेवा नदिएको गुनासो गर्छन् । सरकारले ९५ वटा औषधि निःशुल्क वितरण गर्न भनेपनि अस्पतालबाट १५ देखि २० वटा मात्र औषधि वितरण भइरहेको छ । त्यो पनि कहिले पाउने कहिले नपाउने बिरामीहरुको गुनासो छ । रातिको समयमा त झन् डाक्टर तथा अस्पतालको कर्मचारीहरु लापरवाही गर्छन् । कलैया उपमहानगरपालिकाकी एक जना बिरामीकी कुरुवा भन्छन्, ‘मेरो आमालाई ट्रेक्टरले ठोकेको थियो, हतार हतार अस्पतालमा ल्यायौँ, डाक्टरले हेर्दै नहेरी यहाँ उपचार हुनसक्दैन्, वीरगंज लग्नुस् भने, यहाँ यो छैन त्यो छैन भनेर पठाउन खोजेका थिए ।’ उनले भने,‘पछि मैले मोबाइलमा भिडिओ बनाएको देखेर बिरामी लिएर आउँनुस् भने ।’
उनले आक्रोशित हुँदै भने, ‘यहाँको अवस्था दयनीय छ, सामान्य ज्वारो, खोकी लागेको उपचारमात्र गर्न मान्छन्, अलि बढी समस्या भएको बिरामी लिएर आयो भने अस्पतालका कर्मचारीहरु अफ्ठयारो मान्छन्, वीरगंज लिएर जाउँ, वीरगंज लिएर जाउँ भन्छन, पैसा भएको भए प्राइभेट मै लिएर जान्थ्यौँ, हामी गरिब मान्छे कहाँ जानु, सरकारी अस्पतालको अवस्था यस्तो छ ।’ अनुगमन गर्ने निकायको पनि लापरवाहिले दिनहुँ यस्तो घटना दोहोरिँदा पनि चुप लागेर बस्नु डाक्टर र प्रशासन प्रति विश्वास गुम्दै गएको उनले बताए ।
तर अस्पताल सञ्चालन समितिका अध्यक्ष चौगाई यो सबै जनशक्ति अभावमा कहिले काहीँ हुने गरेको बताउँछन् । अस्पतालमा १० जना स्थायी डाक्टरको आवश्यकता छ तर, करारको गरेर यहाँ जम्मा ८ जना डाक्टर कार्यरत रहेको अध्यक्ष चौगाई बताउँछन् । अस्पतालमा डाक्टरको संख्या कम हुँदा ‘डिउटी’ मिलाउन सकस हुने गरेको उनको भनाई छ । उनी भन्छन्, ‘अस्पतालले २४ औँ घण्टा सेवा दिइरहेको छ, इमरजेन्सीको बेड, आइसीयू ७ बेड, रेगुलर डाइलेसिस गर्न चारै तिर ध्यान दिनुपर्छ, जनशक्ति छैन, कताँ कताँ गर्न सकिन्छ, भएको जनशक्तिबाट राम्रो सेवा हामीले दिइरहेका छौँ ।’
अस्पतालले ब्लड बैंक, डाइलासिस, इन्डोस्कोपी जस्ता सेवा सञ्चालन गरिरहेको अध्यक्ष चौगाई बताउँछन् । मेसिन हुँदा हुँदै पनि जनशक्ति अभावमा ती सब सञ्चालनमा आएका थिएनन् तर आफू आएपछि सबै व्यवस्थापन गरेको उनको भनाई छ । सरकारले नागरिकलाई यो यो सेवा सुविधा दिनु पर्छ भनेर भन्छ तर, बारम्बार यहाँको समस्या सुनाउँदा ध्यान नदिएको उनको गुनासो छ । ‘सरकारले सेवा दिन भन्छ तर जनशक्ति दिँदैन भने कसरी हुन्छ, यसतर्फ तीनै तहको सरकारले ध्यान दिनु पर्छ ।’ उनले भने, ‘प्रादेशिक अस्पताललाई सय बेडको बनाउने प्रदेश सरकारले घोषणा गरेको तर, कार्यान्वयन गर्दैन्, आइसीयूमा बिरामीको चाँप अनुसार २० वटा बेड आवश्यक छ । ओपीडीमा बिरामीको चाँप यति छ कि उभिने ठाउँ छैन । म बस्ने कोठामा ओपिडी सेवा सञ्चालन भइरहेको छ । चाहेर पनि धेरै काम गर्न सक्ने अवस्था छैन्’, उनले भने ।
कलैया प्रादेशिक अस्पतालले करिब दुई महिनादेखि कलेजो बिग्रेर ज्यान जोखिममा परेका बिरामीको ज्यान जोगाउन सकिने जटिल प्रकारको ‘इभीबीएल’ उपचार सेवा, नवजात शिशुको आइसियू (एसएनसीयू) सेवा सञ्चालन गरिरहेको छ । तर, अस्पतालमा सिटी स्कान र डिआर (डिजिटल रेडियोग्राफ) एक्सरे मेसिन नहुँदा कतिपय बिरामीलाई अन्त्य पठाउनु पर्ने बाध्यता रहेको अध्यक्ष चौगाई बताउँछन् । आवश्यक मेसिनको व्यवस्थापन गर्न सरकार गम्भिर नभएको उनको गुनासो छ । अस्पतालको स्तरोन्नति र सेवा सुविधा विस्तारमा कलैया उपमहानगरपालिकाले पनि कुनै चासो नदिएको उनको भनाई छ । गत वर्ष जेनेरेटर जडानमा उपमहानगरले ६ लाख रुपैयाँ सहयोग गरेको उनले बताए । तर चालु आर्थिक वर्षमा उपमहानगरले केही सहयोग नगरेको उनी बताउँछन् । उनले भने, ‘मेयर साबसँग कुरा गर्दा उहाँ भन्नुहुन्छ ‘तपाई हाम्रो कुरा मान्नु हुन्न्’ कसरी सहयोग गर्ने ।’ कस्तो कुरा मान्नु हुन्न् भनेर सोध्दा अध्यक्ष चौगाई भन्छन्, ‘त्यहीँ हो नि हाम्रो मान्छे राख्दिनु पर्यो, अरु के होला र ?’






