अस्थिरताको कारक बन्दैनौँः नेपाल

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अस्थिरताको कारक बन्न नचाहेका कारण प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको बताएका छन् । समाजवादी प्रेस संगठनले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले आफ्नो पार्टी जनताको चाहनाअनुसार शासन चल्न चाहेको बताउँदै अहिले मुलुकमा राजनितिक अस्थिरता होस् भन्ने देखिएकाले पार्टी सरकारमा रहेर जनताको चाहना पूरा गर्न लागेको बताए ।

नेपालले शान्ति, समृद्धि, सुशासन तथा स्थिरताका लागि वर्तमान प्रधानमन्त्रीलाई विश्वासको मत दिइएको बताए । उनले वर्तमान सत्ता गठबन्धनमा सहभागी भएका कारण नैतिक आधारमा समेत सरकारलाई साथ र समर्थन दिइएको बताए । उनले मुलुकमा निर्माण भएको घटनाक्रम सुखद नभएको बताए । अध्यक्ष नेपालले सत्ता सहकार्यलाई अघि बढाउने कुरामा सबै सत्ताघटक सदस्यमा विश्वास, सहयोग र समझदारी बनाएर अघि बढ्ने आफूहरुको काम हुने बताए । उनले संसदको गतिरोध हटाउने कुरामा वार्ता र संवादको माध्यमबाट अघि बढ्नुपर्ने बताए ।

अध्यक्ष नेपालले भने, ‘संसदमा जुन किसिमका घटना भइरहेका छन्, ती घटना वास्तवमा सुखद् छैनन्, त्यसैले वार्ता र संवाद गर्ने कुरामा पनि समाधान खोजिनुपर्छ । अरु स्वार्थमा त्यसलाई मोड्ने काम गर्नु हुँदैन ।’ उनले निजी हितमा सोच्न नहुने र विगतमा एक किसिमको अवस्था रहेकामा अहिले परिवर्तन भएकाले विभिन्न पार्टीका नेतासँग एक ढंगले संवाद कायम गरिएको बताए । अहिले अर्को ढंगले जानुपर्ने हो कि भन्ने अवस्था पनि बनेको बताउँदै नेता नेपालले यी सबै कुराका सन्दर्भमा कुनै पनि पार्टी फुटोस् भन्ने पक्षमा नरहेको बताए ।

अध्यक्ष नेपालले कुनै पनि पार्टी नफुटुन् भन्ने आफूहरुको चाहना रहेको बताए । समाजवादी मोर्चामा सहभागी जसपा नेपाल विभाजन भएपछि समाजवादी मोर्चाको भविष्यमा समेत प्रश्न खडा भएको बताउँदै अहिले नेत्र विक्रम चन्द विप्लव मोर्चाको अध्यक्ष भएकाले यसलाई जोगाउने दायित्वसमेत उहाँमा नै आएको जिकिर गरे । एक प्रश्नको जवाफमा पूर्वप्रधानमन्त्री नेपालले पछिल्लो राजनीतिक परिवर्तनका कारण मधेश प्रदेश सरकारमा परिवर्तन हुनु स्वाभाविक भएको बताउँदै आफ्नो पार्टी सरकारमा सहभागी हुने विषय परिस्थितिले निर्माण गर्ने बताए । उनले आज हामी वर्तमान सरकारमा सहभागी छौँ, भोलिको अवस्था कस्तो बन्ला, त्यो समयमा हेरौँला तर आफूहरु जनताको चाहना पूरा होस भन्नेमा रहेको बताए । जनताको चाहना राजनीतिक स्थायित्वबाट नै पूरा हुने भएकाले आफूहरु मुलुकमा राजनीतिक स्थायित्व आओस भन्ने पक्षमा रहेको बताए । उनले सरकारमा सहभागी दलहरुबीच राम्रो विश्वासको वातावरण बनोस भन्ने पार्टीको चाहना रहेको बताउँदै यसका लागि प्रधानमन्त्रीले भूमिका खेल्नुपर्ने जिकिर गरे ।

उनले केन्द्रमा आफूहरू एमालेसहितको गठबन्धन सरकारमा भए पनि नेकपा एमालेसँग नेकपा एसको पार्टी एकीकरणको कुनै सम्भावना नभएको बरु नेकपा एस महाधिवेशनको तयारीमा जुटेको बताए । नेपालले धेरै कुरा बोलेर बिग्रिएकाले आफूले धेरै बोल्न नचाहेको बताए । नेपालले केही नेताले जथाभावी बोलेकै कारण देश यस्तो अवस्थामा आइपुगेको भन्दै अब आफू बोलेर होइन गरेर जाने सोचमा रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button