‘नारायणी अस्पताललाई एक अर्ब बजेट’

मन्त्री बनेपछि गृहजिल्लामा प्रदीप यादव

[mashshare]

‘धेरै क्रान्तिकारी कुरा गरेर सफल भइन्न भन्ने मेरो बुझाइ छ । धेरै चमत्कारी काम गरिहाल्छु भन्ने पनि लाग्दैन । किनभने, अहिलेको परिस्थिति र देशको अस्थिरताका कारण मेरो ध्यान त्यता गएको छैन । मेरो पहिलो प्राथमिकता भएका संरचनाको सुधार गर्ने हो ।’

महेश कठायत
वीरगंज ।
संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य संस्था सुधार गर्ने आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । शनिबार गृहजिल्ला पर्साको वीरगंजमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री यादवले नयाँ स्वास्थ्य संस्था थप गर्नेभन्दा पनि भएका स्वास्थ्य संस्था सुधार गर्ने आफ्नो पहिलो प्राथमिकता भएको बताए । वैशाख ३१ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेपछि यादव पहिलोपटक गृहजिल्ला आएका हुन् ।

चिकित्सक तथा स्वास्थ्यकर्मी पर्सा, नारायणी अस्पताल, नेशनल मेडिकल कलेज र वीरगंज महानगरपालिकाद्वारा संयुक्तरुपमा गरिएको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री यादवले स्वास्थ्य संस्थामा जनशक्ति अभाव हुँदा स्वास्थ्य सेवा प्रभावकारी बन्न नसकेको बताए । स्वास्थ्य क्षेत्रमा देशभर ६३ हजार जनशक्ति आवश्यक भए पनि हाल ३० हजार मात्रै जनशक्ति रहेको भन्दै उनले आफू मन्त्री हुँदा पहिलो निर्णय नै जनशक्ति थप गर्ने गरेको सुनाए । उनले भने, ‘देशभर (स्वास्थ्य क्षेत्रमा) अहिले ३० हजार जनशक्ति छ, तर थप ३३ हजार जनशक्ति आवश्यक छ । ६३ हजार कर्मचारी खाँचो छ ।’ उनले अगाडि थपे, ‘३३ हजार जनशक्ति अभाव भएकाले अस्पतालले धेरै सास्ती बेहोर्नु परेको छ । जनशक्ति अभावमा नागरिकको सेवामा कठिनाइ भइरहेको छ । सरकारले नागरिकलाई गुणस्तरीय सेवा दिन सकेको छैन ।’ मन्त्री यादवले देशभरका स्वास्थ्य संस्थामा जनशक्ति थप्ने आफ्नो पहिलो निर्णयको चौतर्फी प्रसंशा भइरहेकोे सुनाए ।

‘नारायणी अस्पताललाई एक अर्ब’
वीरगंजको नारायणी अस्पताल पर्साको मात्रै नभइ मधेशका सबै जिल्ला र भारत, बिहारका विभिन्न ठाउँको पनि सेवाग्राहीको गन्तव्य भएकाले नारायणी अस्पताल सुधारका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री यादवले नारायणी अस्पतालका लागि छुट्टै प्याकेज व्यवस्था गरिने बताए । साथै उनले यसपटको विनियोजित बजेटमा नारायणी अस्पतालका लागि एक अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिँदै बजेट उपकरण खरिद, भौतिक संचरना निर्माणमा खर्च हुने बताए । कार्यक्रममा उनले भने, ‘नीति कार्यक्रम (जेठ १ गते) को एक दिनअघि (वैशाख ३१) मन्त्री पदको शपथ नलिएको भए अहिले बोल्ने हिम्मत पनि हुँदैन थियो ।’ उनले अगाडि भने, ‘नारायणी अस्पतालका लागि यसपालि करिब एक अर्ब रुपैयाँ विनियोजन गरेको छु ।’

स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले आगामी बजेटका लागि स्वास्थ्य मन्त्रालयले ९१ अर्ब ३७ करोड ४३ लाख रुपैयाँको बजेट विनियोजन गरेको जानकारी दिए । मन्त्री यादवका अनुसार प्रदेशलाई ५ अर्ब ७७ करोड रुपैयाँ, स्थानीय तहलाई ३३ अर्ब १८ करोड १६ लाख रुपैयाँ र संघलाई ५२ अर्ब ५२ करोड ८ लाख रुपैयाँ विनियोजन गरिएको छ । राजनीतिक अस्थिरतातर्फ संकेत गर्दै मन्त्री यादवले ठूला क्रान्तिका कुरा गर्नेमा आफ्नो ध्यान नगएको बताए । उनले भने, ‘धेरै क्रान्तिकारी कुरा गरेर म सफल हुँदैन भन्ने मेरो बुझाइ छ । धेरै चमत्कारी काम मैले गरिहाल्छु भन्ने मलाई लाग्दैन । किनभने, अहिलेको परिस्थिति र देशको अस्थिरताका कारण मेरो ध्यान त्यता गएको छैन । मेरो पहिलो प्राथमिकता भएका संरचनाको सुधार गर्ने हो । त्यसलाई सुधार गर्नसके आफू सफल हुने विश्वास लिएको छु ।’

‘सात वटै प्रदेशका स्वास्थ्यमन्त्रीसँग छलफल गर्ने’
आफू मन्त्री भएको पाँच दिनमात्रै भएको र संघदेखि प्रदेश र स्थानीय तहसम्मका अस्पतालको अवस्थाबारे बुझिरहेको मन्त्री यादवले बताए । उनले स्वास्थ्य क्षेत्र सुधारका लागि सात वटै प्रदेशका स्वास्थ्य मन्त्री र स्थानीय तहका प्रमुख, उपप्रमुखसँग पनि छलफल गरेर अघि बढ्ने बताए । स्वास्थ्य मन्त्रालय आफैँमा संवेदनशील र ठूलो मन्त्रालय भएकाले आफूले गम्भीरता र धैर्यताका साथ काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । स्वास्थ्य क्षेत्रमा सुधारको आशा गरी आफूलाई स्वागत तथा सम्मान गरेकामा धन्यवाद ज्ञापन गर्दै मन्त्री यादवले प्राप्त सुझाव र सल्लाहलाई मनन गर्दै अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे । पर्सा निर्वाचन क्षेत्रका जनताले आफूलाई दोस्रोपटक जिताएर पठाएकाले आफूले अहिलेको अवसर प्राप्त गरेको भन्दै उनले मतदाताको शिर झुक्ने काम कहिल्यै नगर्ने विश्वास व्यक्त गरे । ‘म जस्तो साहासिक पुरुष वीरगंजमा नजन्मिएको भए यो मौका आउने थिएन,’ उनले भने, ‘धेरै संघर्षबाट यो मौका पाएको छु, नत्र गणेश परिक्रमा गरेर दिन बितिहाल्थो, वीरगंजले खाली राजस्व दिन्थ्यो, सुनको अण्डा दिने वीरगंज, तर केही पाउँदैन थियो । तर अब वीरगंजको हातमा निर्णय गर्ने मौका आएको छ, स्वास्थ्य सुधार गर्न ।’

स्वास्थ्य क्षेत्रमा सुधारको अपेक्षा
कार्यक्रममा वीरगंजको नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. शैलेशकुमार ठाकुरले स्वास्थ्यमन्त्री यादव समाजका हरेक तह र तप्कासँग जोडिएको व्यक्ति भएकाले आफूहरुले मन्त्री यादवबाट स्वास्थ्य संस्था सुधारका लागि ठूलो अपेक्षा गरेको बताए । त्यस्तै, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरन्जन साहले नारायणी अस्पतालको पूर्वाधार तथा जनशक्ति व्यवस्थापनका लागि मन्त्री यादवले विगतदेखि नै पहल गर्दै आएको स्मरण गर्दै आगामी दिनमा पनि पूर्वाधार, जनशक्ति तथा बजेट व्यवस्थापनमा ध्यान पुर्याउनु हुनेमा आफू आशावादी रहेको सुनाए ।

नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा.निरजकुमार सिंहले नारायणी अस्पताल, ग्रामीण भेग र समग्र पर्सा जिल्लाको स्वास्थ्य समस्याबारे स्वास्थ्यमन्त्री आफैँ जानकार भएको भन्दै अहिलेको अवसरलाई सदुपयोग गर्न मन्त्री यादवलाई सुझाए । साथै उनले आफू एक स्वास्थ्यकर्मी भएकाले आफ्नो क्षेत्रको सांसद स्वास्थ्यमन्त्री हुनु मतको सदूपयोग भएको भन्दै खुसी व्यक्त गरे ।

वीरगंज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अनिल यादवले ग्रामीण भेगका विशेषगरी पिछडिएका वर्गको स्वास्थ्य सुधारमा राज्यले ध्यान दिनुपर्ने बताए । वीरगंजका हरेक स्वास्थ्यचौकीका विभिन्न चुनौती रहेको उल्लेख गर्दै उनले वीरगंजको नारायणी अस्पतालले दिने सेवाको गुणस्तरका विषयमा पनि विचार गरी आवश्यक पहल गर्न सुझाव दिए । कार्यक्रममा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक सहनबाज अन्सारी, जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button