
एसपी गौरव
सर्लाही ।
बरहथवा नगरपालिका–६ कि १९ वर्षीया आरती कुमारी महतोको हत्या भएको भन्दै माइती पक्ष विगत डेढमहिनादेखि न्यायको खोजीमा भौँतारिएका छन् । हरिवन नगरपालिका–१ अत्रौलीका रामध्यान महतोले करिब १ वर्ष पहिला सामाजिक परम्पराअनुसार बरहथवा नगरपालिका–६ का अन्दाजी २४ वर्षीय धनम वीर महतोसँग छोरीको विवाह गरिदिएका थिए ।
छोरीको विवाह गर्दा लागेको ऋण तिर्न नसकेपछि वैदेशिक रोजगारीको सिलसिलामा कतार गएका रामध्यानले विवाह भएको १ वर्ष पुग्दै गर्दा छोरी गुमाएको खबर पाए । २०८० चैत २४ गते साँझ करिब ६ बजे बरहथवा नगरपालिका–६ स्थित धनम वीरको घरको कोठाको पंखामा सलको पासो लगाइ आरती झुण्डिएको अवस्थामा मृत फेला परेपछि हत्या भएको भन्दै माइती पक्ष विगत करिब डेढ महिनादेखि न्यायको खोजीमा भौँतारिएका छन् ।
उनीहरुले चैत्र २९ गते इलाका प्रहरी कार्यालय बरहथवामा छोरीको हत्या भएको भन्दै कर्तव्यद्वारा हत्या गरी झुण््ड्याएको भन्दै किटानी जाहेरी लिएर गएको भए पनि प्रहरीले कर्तव्यद्वारा हत्या गरी झुण््ड्याएको किटानी जाहेरी सच्याएर आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी ल्याए मात्रै दर्ता गर्ने भन्दै कर्तव्यद्वारा हत्या गरी झुण््ड्याएको किटानी जाहेरी दर्ता नगरेको आरतीका माइती पक्षको भनाई छ । त्यसपछि पीडित माइती पक्षले जाहेरीमा आत्महत्या दुरुत्साहन कसुर बनाएर इलाका प्रहरी कार्यालय बरहथवामा दर्ता गरेको छ ।
छोरीको विवाहपछि थप दाइजो ल्याउन भन्दै धनमवीर, धनमवीरका बुबा रञ्जित र धनमवीरकी आमा शिला महतोले पटकपटक दबाब दिनुका साथै शारीरिक तथा मानसिक यातना दिने गरेका आरतीले माइती आएको समयमा बताउने गरेको बहिनी सुशीला कुमारी महतोले बताइन् । चैत्र २४ गते घटना भएको समयमा बरहथवा नगरपालिका–६ स्थित दिदी आरतीकै घरमा भिनाजुले लिन आएर गएको सुशीलाले बताइन् ।
‘दिदीको घरमा जाँदा भिनाजु धनमवीरले केही केटा हेर्नसमेत बोलाएका रहेछन्, उनीहरुसँग सामान्य कुराकानी गरी हामी खुसी भयौँ, तर त्यो खुसी केही घण्टामै चक्नाचुर भयो । धनमवीरको अर्काे घरबाट दिदी आरती बस्ने घरमा आफू जाँदा दिदीको कोठामा ढोका लागेको छ । दिदी आरती खोइ त भनी दिदीका ससुरा रञ्जितलाई सोध्दा दिदी आरती सुतेकी छिन्, तिमी घुम्न जाउँ भन्ने जवाफ आयो,’ आरतीकी बहिनी सुशीलाले भनिन्, ‘दिदीको विवाहपछि धेरै पटक दिदीको घर गएकी र दिदी सुत्ने कोठाको वस्तुगत अवस्था थाहा भएकाले झ्यालबाट दिदी आरतीलाई ओछ्यानमा हेर्दा नदेखेपछि माथितिर हेरेँ, दिदी आरती आफ्नै कोठाको पंखामा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत देखेपछि आत्तिएँ ।’ उनले भनिन्, ‘झ्यालबाटै दिदीको कोठमा चिच्याउँदै भित्र पसेँ, दिदीको खुट्टा सुम्सुम्याउँदै चर्काे स्वरमा चिच्याएँ, तर कसैले मेरो आवाज सुनेनन् । केही समयपछि दिदी आरतीका ससुरा रञ्जित कोठमा आएर चुलेसी ल्याउ पासो काटौँ भने, त्यसपछि भान्सा कोठामा गएर चुलेसी ल्याई दिदी आरतीलाई बचाउन सकिन्छ कि भनेर पासो काटेँ ।’ उनले थपिन्, ‘दिदीलाई तल्लो तलामा झार्दैगर्दा एम्बुलेन्स अचानक आयो र प्राथमिक स्वास्थ्य केन्द्र बरहथवामा पुर्याएँ । त्यहाँ पुर्याउँदा धनमवीरका बुबासहित अन्य मानिस देखिए । प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाका चिकित्सकले उनको मृत्यु भइसकेको बताए, तर धनमवीरका बुबाले उपचारक्रममा मृत्यु भएको लेख्न लगाए ।’
उनले भनिन्, ‘इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी कर्मचारी प्राथमिक स्वास्थ्य केन्द्र बरहथवामा आईपुगे, घटना विवरण सुनाउँन खोज्दा दिदीका ससुराको निर्देशनमा अन्य मानिसले प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाको शैयामा पुर्याए र बेहोस बनाउने सुई लगाए । त्यसपछि दिदी आरतीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगेछन् ।’ आरतीको शव हेर्दा कान, नाक र आँखाबाट रत्तश्राव भएको देखिएको बहिनी सुशीलाले बताइन्, तर प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टम गर्दा आफैँ मृत्यु भएको रिपोर्ट लेखिएको प्रहरीले सुनाएको पीडित माइती पक्षको भनाइ छ ।
आरतीको शवलाई कात्रो समेत नओढाई माईती पक्षलाई जानकारी नदिई दहासंस्कार गरिनुले पनि आत्महत्या नभई हत्या भएको पीडितको दाबी छ । यता, आरतीका ससुरा रन्जितलाई इलाका प्रहरी कार्यालय बरहथवाले नियन्त्रणमा लिएर केही दिनमा एकलाख रुपैयाँ धरौटी राखेर तारेखमा रिहा गरेको छ । एक लाख रुपैयाँ धरौटी राखेर छुटेका आरतीका ससुरा रञ्जितले यस्ता एक–दुई मुद्दा गोजीमा राखेर हिँड्ने गरेको भन्दै धम्काएको पीडित पक्षको गुनासो छ । उनीहरुका अनुसार आरतीका श्रीमान धनमवीर र सासु शिला फरार छन् ।
त्यस्तै, इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख एवम प्रहरी नायव उपरीक्षक गौतम थापाले आफूहरुको कुनै कुरा सुन्नै नचाहेको पीडित माइती पक्षको गुनासो छ । आरतीको मृत्यु भएको घरका मानिसमा चिन्ता देखिएको छैन । उनीहरु सम्पन्न परिवारका साथै राजीतिक पहुँच भएका मानिस रहेकाले पनि प्रहरीले आफूहरुको गुनासो नसुनेको पीडित परिवारको गुनासो छ ।
यता,आफ्नै कोठाको पंखामा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेकी आरतीको घटनाको सुक्ष्म अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख एवम प्रहरी नायव उपरीक्षक गौतम थापाले बताए । तर, आरतीका सासु शिला र श्रीमान धनमवीरलाई नियन्त्रणमा लिने सवालमा प्रहरी मौन देखिएको छ ।
दाइजोकै लागि गीताको पनि हत्या ?
बरहथवा नगरपालिका–१५ मा २०८० चैत १० गते २२ वर्षीया गीता कुमारी सहनीको विवाह भएको करिब १ वर्षपछि सलको पासो लगाई मृत्यु भएको घटना बाहिर आएको छ । ‘चैत १० गते राति करिब १२ बजे गीता कुमारी सहनीको घरको कोठामा रातो सलको पासो लगाइ मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय बरहथवा यो घटनामा पनि मौन देखिएको छ । ‘थप दाइजो ल्याउन भन्दै पटकपटक घरबाट शारीरिक तथा मानसिक यातना दिने गरेको गीताले माईत आउँदा आफूहरुलाई सुनाएकी थिइन् तर आफ्नो घरको आर्थिक अवस्था कमजोर रहेका कारण सामाजिक परम्पराअनुसार विवाह गर्दा पाँच लाख रुपैयाँ दाइजो दिएको भए पनि थप दाईजो दिन नसक्दा छोरीको हत्या भयो,’ बुबा दीपलाल सहनीले भने ।
सहनीकी श्रीमान् गुड्डु सहनी, ससुरा हरिन्द्र सहनी र सासु रम्तिया देवीले थप दाइजो ल्याउन भन्दै मानसिक तथा शारीरिक यातना दिने गरेको गीताले माइत आउँदा सुनाएकी गीताकी आमा राजवतीले बताइन् । उनका अनुसार गीताको शरीरका विभिन्न भागबाट रत्तश्राव भएकाले गीतालाई थप दाइजो नल्याएको भन्दै श्रीमान् गुड्डु, ससुरा हरिन्द्र र सासु रम्तियाले कुटपिट गरेर मारेर झुण्ड्याएको र घटना भएकै दिन आफूहरुलाई जानकारी समेत नदिई दाहसंस्कार गराएका थिए । उनीहरु न्याय माग्न इलाका प्रहरी कार्यालय बरहथवा, जिल्ला प्रहरी कार्यालय सर्लाही, जिल्ला अदालत सर्लाहीमा पुग्दा समेत बेवास्ता भएपछि थप पीडित भएको दीपलालले गुनासो गरे । मधेश प्रदेशमा दाइजोको बहानामा हरेक वर्ष निर्दोष छोरीले ज्यान गुमाउनु परेको छ ।
तस्बिरः दुई वटा छ
००००






