

शुक्रबार साँझ वीरगंजको माइस्थान एरिया एकाएक तनावमय बन्यो । तनावको विषय नयाँ थिएन । बेलाबखत कुनै पनि स्वार्थको हावाहूरीले वीरगंज बजार तनावग्रस्त भइरहेको देखिएकै छ । कसको के कुरामा चित्त बुझ्दैन त घण्टाघर निस्केर हूल तयार पार्दै ‘रुल’ को कथा सुनाउन थाल्ने बानी छ । यो बानी एक हिसाबले फुर्सतिला बेरोजगार अझ राजनीतिकर्मीलाई राम्रो होला तर वीरगंज बजारमा निस्कने उपभोक्ता र अर्को शहरका सर्वसाधारणका लागि चिन्ताको विषय हो । यसरी सम्साँझै बजारमा आतंक मच्चाउने, जुलुश देखाउने बानीले वीरगंज कति सुध्रियो, राजनीतिका गणितज्ञहरुले हिसाब गर्लान् । तर साँझ शितलमा तरकारी, दाल किन्न हिँडेकाले साइँसाइँ र सुइँसुइँ साइरन र लाठीमुंग्रीको मार किन खेप्नु पर्ने ? जनता भागाभाग हुनु पर्ने, सुरक्षाकर्मी एकाएक सडकमा उत्रनु पर्ने, शितलमा जनता, राज्य कोही पनि बस्न नपाउने गरी वीरगंजमा आतंकको कारोबार गर्नेहरु के साँच्चै वीरगंज फलिफाप भएको हेर्न चाहन्छन् या आफ्ना मुद्दामा अरुलाई पनि आक्रोशित र उत्रेजित पारेर साँझ धपक्क बल्न लागेको वीरगंजलाई ‘ब्लाक’ पार्न चाहन्छन् ? यो प्रश्नको उत्तर कसले दिने ? साँझ खरबुजा किन्न हिँडेको छोरो अस्पतालको बेडमा भेट्न जान परे बाबुआमालाई तपाईंको शहर र स्वार्थको राजनीतिप्रति कति नफरत जाग्ला ?
अलि अघिकै कुरा सुनाउँछु, गाउँबाट हामी हेटौँडा फिल्म हेर्न आउँथ्यौँ । हेटौँडाका फिल्म हलले टिकटमा हेटौँडामा सभाहल बनाउन एक सुका (पच्चीस पैसा) हामीसँग असुलिरहेको रहेछ । म त गाउँको दूरदराज, दुर्गमबाट महिनामा एउटा शनिबार समय मिलाएर फिल्म हेर्न आएको हुँ, तिम्रो शहरमा सभाहल बनाउ कि सामुहिक आत्महत्या स्टेसन बनाउ कि, मलाई के मतलब ? गाउँका मान्छे फिल्म हेर्न आउँदा यो कर किन लगाउँछौँ ? प्रश्न गरेँ । तिम्रो शहरमा तिमी जेसुकै गर, तिम्रो शहरकालाई कर लगाऊ, हामीलाई यसमा किन बाध्य पार्छौ ? तिम्रो शहरमा सभाहल बन्दा मलाई के फाइदा हुन्छ र मसँग चन्दा असुलिरहेका छौ ? यो प्रश्नको उत्तर शासकहरुले अहिले पनि मलाई पेलपाल पारेर ठेलिरहेका छन् । विद्रोह चेत बोकेर राजनीतिमा शत्रु कमाउनु नै थियो, पछि पत्रकारिता पनि गर्न थालेपछि शत्रु उमार्न कुनै नर्सरी राखिरहन पर्दैन । अहिले पनि ती एकसुका उठाउनेहरु घुरेर हेर्छन्, म ‘सुकाचोर’हरु भनेर जवाफी घुरेर देखाइदिन्छु । त्यो सुका मेरो हो, मैले घुर्न पनि यिनको अनुमति लिन परिरहन्न ।
अब कुरा बुझ्नु भयो होला नि, तपाईंको मुद्दामा तपाईं लड्नुुस् न । यसमा हामीलाई मन परे साथ दिउँला, मन नपरे पाखा बस्दिउँला । तर बाटै छेकेर फलानोलाई कारबाही गर भनेर शितलमा बजार निस्केकालाई त्राहिमाम पार्ने कस्तो राजनीति हो यो ? यो राजनीतिले वीरगंजको कति हित गर्छ ? प्रश्न तपाईं आयोजकमाथि पनि छ । अरुलाई प्रश्न गरिरहँदा तपाईं आन्दोलन आयोजक चैँ वीरगंजका कुन कुन पोखरीका पानीमा नुहाएर शुद्ध हुनु भएको हो ? तपाईंको मुद्दा कति ठाउँमा दर्ता हुनु पर्ने हो ? सडकदेखि सदनसम्म, नेताको घरदेखि मन्त्रालयको दर्ताचलानीसम्म, पार्टी कार्यालयदेखि अदालतसम्म, वडा कार्यालयदेखि सिडिओ, एसपीअफिससम्म तपाईंकै फाइलले भरिएका छन् । अब साँझ जनता शितलमा तरकारी किन्न हिँड्दा पनि भाग्नु पर्ने वीरगंज कस्तो बनाउन खोज्नु भएको हो ?
तपाईंसँग यस्तो दल छ, दल होइन दलबल नै छ । परेका बेला प्रधानमन्त्रीको कार्यालय पुग्नुहुन्छ, सकेका बेला माइस्थान, वीरगंज, मधेश र देशका सबैलाई तान्न र हान्न सक्नुहुन्छ भने यसो गर्नुहोस्, वीरगंज बनाउन लाग्नुहोस् । सडक सफा गरे हुन्छ, नाला सफा गरे हुन्छ । भानुचोकमा टिनएजका भाइहरु लागुऔषध बोकेको भनेर प्रहरीको पिटाइ खाइरहेका हुन्छन्, बसपार्कमा गाडी नै नपाइने आतंक मच्चाएर दलालहरु यात्रु तर्साइरहेका हुन्छन् । बसपार्कमा पिशाब फेरेको १० रुपैयाँ तिर्न परिरहेको छ । चोकमा कतै एउटा शौचालय बनाइदिनुहोस् । ३० रुपैयाँको भोजपुरी खाजाले अघाइने तपाईंको शहरमा पिशाब फेरेको १० रुपैयाँ लिँदा म तिर्नेले लाज मान्ने कि असुल्नेले ? के वीरगंज झिलिमिली पार्ने काम चैँ राजेशमान सिंहको मात्रै हो ? तपाईंहरु सधैँ सडकमा तमासा मात्र गरिरहने ?
तपाईंको शहरमा आउनुपूर्व आज जुलुश छ कि छैन, म माइस्थान, घण्टाघरतिर किनमेलमा निस्कँदा टाउको फुट्छ कि फुट्दैन भनेर चिन्ता गर्नु पर्ने माहौल बनाइरहने हो भने किन आउँछु तपाईंको शहरमा, बजारमा, पार्टीमा, आन्दोलनमा ? तपाईंको स्वार्थको रोटी सेक्न म आमाले तेल घसिघसी हुर्काएको टाउको ‘तरबुजा’ बनाउन सक्दिन महाराज ! कुरा यो पनि छ, हरेक घर भाडामा लाग्न छाडेका छन्, पसलमा बोहनी छैन, घर बिक्रीमा छ । यी सब रहे न तपाईं २०८४ मा सत्ता फेर्न पाउनुहुन्छ, मूर्दाशान्ति छाएर नागरिकजति भागिरहेको शहरमा जित्न जितेकालाईलाई ‘आरिस’ होइन, अब जित्नलाई जनताको इन्कमिङ ‘वारिस’ बनेर आउनुहोस्, सत्ता अस्थायी हो, तपाईं जित्न ‘वाद’ले सक्नुहुन्छ, ‘लात’ले लाहाछाप लागेको लालमोहर हत्पत्ति खारेज हुन्न । यति बुझ्नुहुन्न भने तपाईंको जो आज्ञा ।






