भक्तिपूर्वक मनाइयो जानकी नवमी पर्व

[mashshare]

अनिल पोखरेल
राजविराज ।
प्रत्येक वर्ष जस्तै वैशाख शुक्ल नवमी तिथिका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जानकी नवमी पर्व शुक्रवार राजविराजमा जानकी नवमीको अवसरमा प्रभातफेरी तथा झाँकी प्रदर्शन गरि श्रद्धा भक्तिपूर्वक मनाइएको छ । मैथिली साहित्य परिषद सप्तरी र मैथिल महिला परिषदको संयुक्त आयोजनामा प्रभात फेरी तथा झाँक्री प्रदर्शन गरिएको हो ।

राजविराज स्थित पविमाबि प्रागंणबाट बाजागाजासहित निकालिएको प्रभातफेरी तथा झाँकी राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा गरेका थिए । जानकी नवमीको अवसरमा मिथिला पहिचान झल्काउने कला संस्कृति तथा जानकी रथयात्रा समेत निकालिएको अध्यक्ष झाले जानकारी दिए । माता जानकीको जन्मोत्सवको अवसरमा मधेश प्रदेश सरकारले शुक्रबार मधेश प्रदेशभरी सार्वजनिक बिदा समेत दिइएको थियो ।

प्रभातफेरी तथा झाँकी प्रदर्शनमा राजविराज नगरपालिकाकी कार्यवाहक मेयर इसरत परविन, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, प्रमुख जिल्ला अधिकारी किरण थापा, सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गजुसिध्दि बज्राचार्यलगायतका विभिन्न सुरक्षा निकायका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, विभिन्न पालिकाका प्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधिहरू, सामाजिक संस्थाका प्रतिनिधि, मैथिली अभियन्ताहरूको सहभागिता रहेको थियो । मैथिली सभ्यताको पहिचान र शानको रुपमा रहेकी राष्ट्रिय विभूति जानकी माताको सम्मान तथा मैथिली भाषा, साहित्य तथा संस्कृतिको उजागर गर्न बल पु¥याउने उद्देश्यका साथ जानकी नवमीको अवसरमा प्रभात फेरी तथा झाँकी प्रदर्शन गरिएको मैथिली साहित्य परिषद राजविराजका अध्यक्ष अबधेश कुमार झाले बताए ।

त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायण लगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ । भगवान विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्रका रूपमा श्रीरामको जन्मपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति भएको वर्णन विभिन्न ग्रन्थमा गरिएको धर्मशास्त्र विद्हरूको भनाइ छ । सीता उत्पत्ति भएको यस दिनलाई सीता जयन्तीका रूपमा देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो पर्व मनाइन्छ ।

जगत जननी माता जानकी प्रकट भएको स्मरणमा जनकपुरधाममा भने जानकी नवमी धुमधामका साथ मनाइने गरिन्छ । एक सातादेखि यहाँका मन्दिरहरूमा विभिन्न धार्मिक अनुष्ठान जारी रहेपनि शुक्रवार वैशाख शुक्ल नवमीका दिन भने बेग्लै चहलपहल र रौनक देखिएको छ । मिथिलाका राजा राजर्षि जनकको राज्यमा खडेरी परेपछि किसानहरूको हौसला बढाउन र वर्षाका लागि इन्द्रदेवलाई आग्रह गर्न स्वयं खेतमा हलो जोतिरहेको अवस्थामा यसै दिन माता जानकी धर्तीबाट प्रकट भएको स्मरणमा जानकी नवमीलाई जानकी जन्मोत्सवको रुपमा श्रद्धाभक्तिपूर्वक मनाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button