
मधेशदृष्टि
जनकपुरधाम ।
प्राचीन मिथिला क्षेत्र जनकपुरमा शुक्रबार धुमधामका साथ जानकी नवमी मनाइएको छ । आदर्श नारी सीता प्रकट भएको वैशाख शुक्ल नवमीमा यो पर्व मनाइने परम्परा छ । यो पर्वका अवसरमा करिब एक सातादेखि जानकी मन्दिरमा बधाई गायन तथा रामलीला, धार्मिक प्रवचनसहितको कार्यक्रमसमेत आयोजना गरिएको थियो । जानकी मन्दिरमा भव्यरुपमा महोत्सव आयोजना गरिएको थियो ।
जानकी मन्दिरका महन्थको नेतृत्वमा साधुसन्तको टोली शाही स्नानका लागि जानकी मन्दिरबाट बाजागाजासहित दूधमती नदी प्रस्थान गरेको थियो । शाही स्नानमा ठूलो संख्यामा सर्वसाधारणको समेत सहभागिता थियो । हिन्दू परम्परा र मान्यतामा देवीस्वरूपा मानिने जानकीअघि त्रेता युगमा वैशाख शुक्ल नवमीका दिन प्रकट भएको विश्वास गरिन्छ । वैशाख शुक्ल पक्ष नवमीको दिन मध्यान्ह १२ बजे माता जानकी प्रकट भएको जनविश्वास छ । यस अवधिमा जानकी मन्दिर बिहार कुण्ड, अग्निकुण्डस्थित सुन्दर सदन, झुलनकुञ्जलगायत सबै मठ मन्दिरमा बधाई तथा मंगल गीत आयोजना गरिन्छ । करिब पाँच बजे जानकी मन्दिरबाट बाजागाजाका साथ माता सीताको डोलीसहितको शोभायात्रा निकालिएको थियो । शोभायात्राले नगर परिक्रमा गरेको थियो । बाटोका विभिन्न स्थानमा महिलाले घरको छतबाट अक्षता फूल चढाएर डोलीलाई स्वागत गरेका थिए ।
जानकी नवमीका अवसरमा विश्व हिन्दू परिषद् नेपाल धनुषाका अध्यक्ष सन्तोषकुमार साहको नेतृत्वमा जानकी मन्दिर परिसरमा अलौकिक कन्या पुजा गरिएको थियो । कार्यक्रममा जनकपुरका मेयर मनोजकुमार साहको समेत उपस्थिति थियो । सीता, वैदेही, जनकनन्दिनी, मिथिला, रामिणी र किशोरीजीलगायत धेरै नामले जानकीलाई पुकारिन्छ ।
बिहानैदेखि पूजापाठ गर्न श्रद्धालुको भिड लागेको थियो । जानकी मन्दिरसहित जनकपुरको हरेक मठमन्दिरमा दिउँसो विशेष आरती आयोजना गरिएको थियो । जानकी मन्दिरमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको थियो । मन्दिरमा पूजा गर्न देशका विभिन्न भागका साथै भारतबाट पनि भक्तजनको आगमन भएको थियो । यसै अवसरमा मधेश प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको छ । पर्वका अवसरमा मिथिलाका मठमन्दिरमा यो पर्व वैशाख शुक्लपक्ष शुरु भएसँगै नौ दिनसम्म विभिन्न विधिका साथ मनाउने चलन छ ।






