कांग्रेस तयार नभए पनि संसद चलाएर देखाउँछौँः ओली

[mashshare]

मधेशदृष्टि
वीरगंज ।
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद नेपाली कांग्रेसले आफ्नो घरबाट नल्याएको टिप्पणी गरेका छन् । नेकपा एमाले पर्साको नवौँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी, लेखा समिति र सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले संसदसँग थोरै समय रहेको र नीति तथा कार्यक्रम पास गरेर जेठ १५ गते बजेट ल्याउनु पर्ने बाध्यता रहेकाले संसद चलाउनु पर्ने बताए ।

अध्यक्ष ओलीले भने, ‘कांग्रेसले जे भन्छ, त्यो मान्नु पर्ने, जे गर्छ, त्यो सहनु पर्ने, आरोप लगाउँछ, बोल्न नपाउने भनिरहेका बेला भोलि संसद चाहिदैन भन्ला, हामीले मान्नु पर्ने ?’ उनले कांग्रेस संसद चलाउन जसरी पनि तयार हुनु पर्ने बताउँदै नमाने आफूहरुले चलाएरै छाड्ने दाबी गरे । अध्यक्ष ओलीले भने, ‘सत्ताबाट बाहिरिएपछि कांग्रेस कराएको छ, आत्तिएको छ, चिच्याएको छ, जसलाई भेट्यो, त्यसलाई टोक्छ, झुठ बाहेक केही बोल्दैन, त्यस्ताको पछाडि लाग्नुको कुनै अर्थ छैन ।’

उनले बिहीबार संसदमा आफू बसेको ठाउँमा हूल बाधेर काँग्रेसको टिम आएर लफडा गरेको बताउँदै हूलै बाँधेर हातपात गर्ला जस्तो गर्ने र संसदको नियमविपरति अभद्र तरिकाले प्रस्तुत हुने छुट कसैलाई नभएको दाबी गरे । अध्यक्ष ओलीले समृद्ध नेपालः सुखी नेपालीको गन्तव्य बोकेर अगाडि बढेको नेकपा एमालेलाई खुद्रा मसिना काममा अल्झिने फुर्सद नभएको बताउँदै प्रतिपक्षी कांग्रेसलाई जनताको समस्या समाधान र मुलुकको आर्थिक समुन्नतिको कुनै मतलब नरहेको बताए ।

उनले कांग्रेस सरकारबाट हट्नु प¥यो भन्ने कुण्ठाले रुमल्लिएको बताउँदै रवि लामिछानेको पछाडि लागिरहनु पर्ने अवस्थासमेत नरहेको बताए । उनले मिसन ८४ सफल पार्न पर्सा एमालेको नयाँ नेतृत्वले काम थाल्नु पर्नेमा जोड दिँदै प्रतिफल आउने गरी काम गर्न नयाँ नेतृत्वलाई निर्देशन दिए । उनले मिसन ८४ मा पर्साका सबै निर्वाचन क्षेत्र, ८ वटा प्रदेश निर्वाचन र १४ पालिका एमालेले जित्ने गरी अगाडि बढ्न कार्यकर्तालाई निर्देशन समेत दिए ।

नेकपा एमाले पोलिटब्यूरो सदस्य एवम् सांसद तथा पर्सा जिल्ला इन्चार्ज अच्युत मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कृषिमन्त्री ज्वाला साहलगायतको सहभागिता थियो ।

‘अदालतबाट दोषीहरुले भ्रष्टाचार छानबिन माग गरे’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई सहकारी ठगीको छानबिन समिति नभई सरकार चाहिएको बताए । बाराको प्रसौनी गाँउपालिकाको नवनिर्मित प्रशासनिक भवन शुक्रबार उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले भ्रष्टाचारको कसूरमा अदालतबाट दोषी प्रमाणित भइसकेका कांग्रेस सांसदहरुले संसदमा भ्रष्टाचारको छानबिन हुनुपर्छ भनेर नारा लगाउनु हास्यास्पद रहेको टिप्पणी गरे ।

आफूलाई लोकतन्त्रको मसिहा भन्ने कांग्रेसबाट संसदमा भइरहेको अराजकता अशोभनीय रहेको ओलीको भनाइ थियो । एमालेले मिसन ८४ को नारा लिएर अगाडि बढिरहेको भन्दै एमाले अध्यक्ष ओलीले देशको विकास गर्न एमालेले नयाँ समीकरणको सरकार बनाएको जिकिर गरे । उनले जनता एमालेका साथमा रेहको र सरकारमा मौका पाउँदा एमालेले देशको विकास गरेको बताए । मधेशको विकास गरेको बताउँदै उनले देश विकासको जिम्मा एमालेले लिएको दाबी गरे ।

आगामी दिनमा पनि पनि जिम्मा लिने बताउँदै उनले दल र संगठन निर्माणमा मात्र नभइ गरिब, किसान, मजदुुरको आर्थिक जीवनस्तर उकास्ने काममा लाग्न पार्टीका नेताकार्यकर्तालाई निर्देशन दिउ । कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री रघुवीर महासेठ, कृषिमन्त्री ज्वाला साहलगायतले सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button