
वीरेन्द्र रमण
जनकपुरधाम ।
मधेश प्रदेशमा सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी नेपाल, संसदीय दलको बैठकले समयअगावै विश्वासको मत लिने निर्णय गरेको छ । यसका लागि उसले अन्य दलहरुसँग संवाद अघि बढाउने निर्णय पनि गरेको छ । सरकारबाट समर्थन फिर्ता लिएका माओवादी केन्द्र र नेकपा एमालेबाहेकका राजनीतिक दलसँग छलफल गरेर विश्वासको मत लिन तयारी गरिहेको पार्टी प्रवक्ता एवम् मधेश प्रदेश सभा सदस्य मनिष सुमनले जानकारी दिए ।
उनले नेपाली कांग्रेस, लोसपा र जनमत पार्टीसँग संवाद गर्नेसमेत निर्णय भएको छ । सरकारलाई समर्थन फिर्ता लिएको वैशाख ३१ गतेदेखि ३० दिनभित्र विश्वासको मत लिने तयारीमा जसपा छ । त्यसैगरी, बैठकले सरकारको नीति, कार्यक्रम र बजेट तयारीका विषयमा समेत छलफल भएको छ । यसको तयारीमा जुट्न सरकारलाई दलले आग्रह गरेको छ । बजेट र नीति तथा कार्यक्रमको तयारीको लागि समेत दलहरुसँग संवाद गरेर आउने सुझाव समेट्ने निर्णय भएको छ ।
जसपा नेपालका सचेतक राम अशिष यादवले मुख्यमन्त्री सरोजकुमार यादवले निर्धारण समयभित्रै अनुकुल अवस्थामा विश्वासको मत लिने जानकारी दिए । उनले षड्यन्त्र गरी फुटाइएको पार्टीको हकमा स्र्वोच्च अदालतको निर्णयले निर्वाचन आयोगमाथि प्रश्न चिन्ह उठाएकाले सकारात्मक र अवसरका रुपमा लिँदै पार्टीमा भएको फुट गलत र अवैधानिक रहेको पुष्टि गर्न सबै शक्ति लगाइने र त्यसमा मधेशबाट साथ निर्णय भएको छ । त्यसैगरी, मधेशका सबै सांसद एक ढिक्का भएर पार्टी नेतृत्वलाई आत्मबल दिदै पार्टी बचाउन आआफ्नो तवरबाट सक्रिय रहने निर्णय भएको छ ।
आगामी जेठ २८ गतेदेखि ३० गतेसम्म तोकिएकोे महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्ने र त्यसका लागि सबैजना आआफ्नो तर्फबाट सहयोग र भूमिका निर्वाह गर्ने, नीति तथा कार्यक्रममा कस्ता योजना समावेश हुनुपर्छ भन्ने सवालमा पार्टीका सबै सांसदले लिखितरुपमा संसदीय दललाई सुझाव दिनुपर्ने निर्णय भएको छ । प्रवक्ता सुमनले संघमा रहेको विपक्षी गठबन्धनमा आफूहरुसमेत सहभागी भएपछि प्रदेश सरकारले सहजरुपमा विश्वासको मत पाउने बताए ।
मधेश प्रदेश सभामा जनमत पार्टी र जसपाबीच संसदीय छानबिन समिति गठनका विषयलाई लिएर निकै विवाद छ । प्रदेश सभाको गत बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा भएको विवादमा तोडफोडसम्मको अवस्था सिर्जना भएको थियो । जनतमले सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय भवन शिलान्यास गर्ने कार्यक्रममा विवाद हुँदा प्रहरीले गरेको लाठीचार्जका विषयमा संसदीय छानबिन समिति र मुख्यमन्त्रीले माफी माग्नुपर्ने अडान कायमै राखेको छ । विवाद र अडानका विषयमा विगतमा मुख्यमन्त्रीले विपक्षी दलको बहिष्कारबीच विश्वासको मत प्राप्त गरेका थिए । प्रवक्ता सुमनले पार्टीले सरोज यादव नेतृत्वको सरकारकै निरन्तरता चाहेको बताउदै यसका लागि संवाद गरिने र राजनितिमा एउटै अडान हुँदैन भन्दै वर्तमान सरकारले सहजरुपमा विश्वासको मत प्राप्त गर्ने बताए । बैठकमा पूर्व मुख्यमन्त्री लालबाबु राउतबाहेक १८ जनाको उपस्थिति थियो ।






