
मधेशदृष्टि
वीरगंज ।
आगामी जेठ २८ गतेदेखि ३० गतेसम्म जनकपुरधाममा महाधिवेशनको तयारी गरिहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेशमा आफ्नो सरकार टिकाउन हदैसम्मको लचक हुने भएको छ । काठमाडौँमा महन्थ ठाकुरसँग भेटेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग सहयोग मागेको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव जेठ १३ गतेसम्म आफ्ना सबै सांसदलाई जसपा नेपालमै सनाखतको तयारीमा जुटेका छन् । निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगरी तत्काललाई यथास्थितिमा राखेर दुवै पक्षलाई बोलाउने सर्वोच्चको अल्पकालीन आदेशमा लाभ उठाउँदै जसपा नेपाल केन्द्रमा सत्ता गठबन्धनबाट बाहिरिएर प्रतिपक्षी नेपाली कांग्रेसको संसद अवरुद्ध आन्दोलनमा सरिक भएपछि मधेशमा पनि कांग्रेसको समर्थन पाउनेमा ढुक्क छ ।
जेठको अन्तिममा महाधिवेशन नभएको भए जसपा नेपाल नेतृत्व मुख्यमन्त्रीमा पनि नयाँ अनुहार उतार्न तयार थियो । तर चारपटक विश्वासको मत लिएर खासै काम गर्ने मौका नपाएको र कामै नगरेको भनेर बदनाम नै भए पनि राजेन्द्र महतो छाडेर आएका सरोजकुमार यादव नेतृत्वकै सरकारको निरन्तरताको पक्षमा उभिनु उपेन्द्र यादवको बाध्यता बनेको छ । यदि जेठको अन्तिममा महाधिवेशन नभएको भए जसपा नेपाल लालबाबु राउत या अर्काे अनुहार उतारेर भए पनि मधेश प्रदेश सरकारमा बहुमत जुटाउन तयार हुने थियो । एकातिर पार्टी विभाजनका बेला सनाखतको समय, अर्कातिर पार्टीको महाधिवेशन जनकपुरधाममै भएकाले सरोजकुमार यादवको विकल्प खोज्न जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हच्किएका हुन् ।
जनमतको मुख्यमन्त्री ?
यता, सरकारी गठबन्धनको नेकपा एमाले तयार नहुँदानहुँदै पनि माओवादीलाई पनि उछिनेर जनमत पार्टी मधेशमा मुख्यमन्त्रीको कुर्सी नजिक पुगेको छ । मधेशमा उपेन्द्र यादव नेपाल नेतृत्वको जसपा नेपाललाई कमजोर बनाउने काममा उभिएको जनमतले मुख्यमन्त्री पाए केन्द्र गठबन्धनमा पनि प्रवेश हुने र नेकपा एसलगायतका दलले छाड्दा पनि बहुमत पुग्ने भएकाले जनमतलाई मुख्यमन्त्री दिएर भए पनि माओवादी केन्द्र सरकार जोगाउन लागेपछि मुख्यमन्त्रीमा जनमतका संसदीय दलका नेता महेश यादव मुख्यमन्त्री बन्ने वातावरण बन्दै गएको छ । यसमा सबैभन्दा बढी आपत्ति ठूलो दल नेकपा एमालेको देखिएको छ । तर सत्ता जोगाउन मधेशमा जसपा नेपालको विकल्प जनमत नै हो भन्ने निष्कर्षमा माओवादी पंक्ति देखिएपछि मधेशमा मुख्यमन्त्री दाबी गरिरहेको माओवादी पनि पछि हट्ने संकेत गरेको छ । यसमा फेरि लोसपाका ८ सांसदमध्ये दुई सांसद मात्रै एमाले–माओवादी–जनमत गठबन्धनमा खुलेर लागेका छन् । रानी शर्मा तिवारी र उपेन्द्र महतोबाहेक ६ सांसद भने पार्टी उपाध्यक्ष जितेन्द्र सोनलसँग लागेका छन् ।
आलोपालो मुख्यमन्त्री ?
जसपाले अहिले पार्टी महाधिवेशन भएकाले मुख्यमन्त्रीमा सरोजकुमार यादवलाई नै विश्वासको मत दिलाएर सरकारको नेतृत्व मागेको हो । उसले सरकारले विश्वासको मत पाएर पार्टी महाधिवेशन गराएपछि सरकार परिवर्तन गराएर कांग्रेस, नेकपा एस र लोसपालाई पनि पालैपालो मुख्यमन्त्रीमा सघाउने प्रस्ताव अघि सारेपछि लोसपाका जिेन्द्र सोनल समूह सकारात्मक भएको छ भने रानी शर्मा र उपेन्द्र चैँ माओवादी–एमाले नेतृत्वको सरकारलाई साथ दिनु पर्ने भन्नेमा उभिएका छन् । कतै मुख्यमन्त्री र सरकारको विवादले लोसपा पनि विवादमा अल्झिएर विभाजनको सिकारसम्म बन्ने हो कि भन्ने देखिएको छ ।
जे होस्, पार्टी महाधिवेशन भएकाले यादवलाई विश्वासको मत दिलाउन दिलोज्यानले लाग्ने र लगत्तै सरकार परिवर्तनमा साथ दिने जसपा नेपालको प्रस्तावमा कांग्रेसको धारणा आइसकेको छैन, लोसपा मुख्यमन्त्री आलोपालोमा सहमत भएको देखिएको छ । यदि पार्टी विभाजनको आक्रोशमा एमाले–माओवादीले मधेशमा जनमतलाई नै मुख्यमन्त्री दिने अवस्था बने जसपा नेपाल महाधिवेशन सार्ने या मुख्यमन्त्रीमा अर्को अनुहार उतार्नेगरी अस्तित्वको लडाइँमा लाग्नु पर्ने उपेन्द्र यादवका दुःख अझै केही दिनलाई बढ्ने नै देखिएको छ । निर्वाचन आयोगको अल्पकालीन आदेशलाई पूर्णकालीन बनाउनु, मधेश सरकारमा विश्वासको मत बटुल्नु, पार्टी महाधिवेशन सकाउनुअघि जेठ १३ गतेसम्ममा मधेशका प्रदेश सांसदलाई जसपा नेपालमै सनाखत गराउनु उनको अहिलेका देखिएका दुःख हुन् ।






