‘मुख्यमन्त्रीको सुविधा’ले सरकार निर्माणका विलम्ब

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
मधेश प्रदेश सरकार ढालेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र समस्यामा परेका छन् । केन्द्र सरकारबाट सोमबार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिए पनि मधेशमा सरकार बनाइहाल्ने एमाले–माओवादी सपना तत्काल रोकिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने भनेपछि उनले पाउने एक महिने म्यादको सुविधाले एमाले–माओवादीको सरकार निर्माणमा बिलम्ब हुन लागेको हो ।

आइतबार नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरु फर्काउँदै समर्थन फिर्ता मात्र लिएको थिएन । सोमबार नै सरकारको दाबी गर्ने तयारीसहित एमाले नेताका घरमा छलफल पनि भएको थियो । जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादवसँग नेकपा एसका मन्त्रीहरु मात्र रहेको सरकार छ । अल्पमतमा परेको सरकार बर्खास्त नै गर्ने गरी आइतबार एमाले–माओवादीले जनमत र जसपाको मतले नै सरकार चलाउन पुग्ने गणित प्रस्तुत गर्दै उपेन्द्र यादवको जसपालाई जस्तै नेकपा एसलाई बेवास्ता गरेको थियो । तर सोमबारसम्मको विकसित घटनाक्रममा मधेशका दलहरुलाई मिलाउन एमाले–माओवादीलाई निकै हम्मे परेको छ । अर्कातिर मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मतको सामना गर्न ३० दिन म्याद भएकाले एमाले र माओवादीले बजेट बनाउने बेला सरकार ढाले पनि नयाँ बजेट बनाउने अवस्थामा भने आफ्नो उपस्थिति बलियो बनाउन सकेका छैनन् ।

आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल भेटेर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जेठ १३ गतेसम्म मधेश सरकार नचलाउन आग्रह गरेका थिए । उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि यही अनुरोध गरेका थिए । तर यादव बाहिर भएका बेला हतारमा पार्टी विभाजन गरेको अशोक राई नेतृत्वको जसपाले उपेन्द्र यादवको पार्टीलाई सरकारबाट निकाल्न चेतावनी दिँदै ननिकाले सरकारलाई दिइएको समर्थन फिर्ता लिने चेतावनी दिएपछि प्रधानमन्त्री र एमाले अध्यक्ष उपेन्द्र यादवलाई सरकारबाट निकाल्ने मनस्थितिमा पुगेका हुन् । आइतबार नै सरकार छाड्ने निर्णयमा पुगेको जसपा नेपालका अध्यक्ष यादवले सोमबार सरकारलाई दिइएको समर्थन फिर्ता लिँदै राजीनामा दिए ।

यादवले राजनीमा मात्र दिएनन् । पहिलो पार्टीविभाजनविरुद्ध अदालत पुगे । दोस्रो, मधेश प्रदेश सरकारमा सजिलै एमाले–माओवादीलाई उपस्थिति जनाउन नदिन उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर भेट्न पुगे । नेपाली कांग्रेस र नेकपा एसले साथ दिएको अवस्थामा लोसपालाई मात्र रोक्न सकियो भने जनता समाजवादी नेपालले चाहेको सरकार बन्ने यादवको अनुमान छ । यसका लागि उनले लोसपा नेतृत्व भेटेर मिलेर सरकार बनाउन छलफल गरे ।

मधेश प्रदेशमा १ सय ७ सांसद रहेकामा एकजना निलम्बनमा परेकाले १ सय ६ जना सांसद कायम छन् । मधेश प्रदेश सभामा नेकपा एमाले २५, नेपाली कांग्रेस २२, जसपा नेपाल १९, माओवादी केन्द्र ९, लोसपा ८, जनमत १३, नेकपा एस ७, नागरिक उन्मुक्ति पार्टी १, राप्रपा नेपाल १, संघीय समाजवादी पार्टी १ सदस्य छ । यस्तो अवस्थामा लोसपा मात्रै जसपा नेपालसँग उभिएको अवस्थामा कांग्रेस, जसपा नेपाल या लोसपा र नेकपा एसमध्ये जसको नेतृत्वमा सरकार बनाए पनि पुग्ने अंकगणित छ । एमाले–माओवादीले लोसपा र जनमत जोडेर बहुमतको सरकार बनाउने भनेर जसपा नेपाल नेतृत्वको सरकार ढालेको हो । लोसपाका ८ सदस्यले एमाले–माओवादी–जनमतलाई साथ नदिएको अवस्थामा नेपाली कांग्रेसको २२, जसपाको १९, लोसपाको ८ र नेकपा एसको ७ जोड्दा सरकार बनाउन सुविधाजनक बहुमत हुने भएकाले यादव महन्थ ठाकुरकहाँ सरकार बनाउने विषयमा छलफल गर्न पुगेका हुन् ।

यता, आइतबार राति नै काठमाडौँ आएका लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलले उपयुक्त समयमा उपयुक्त निर्णयमा पुगिने भनेर दिएको प्रतिक्रियापछि एमाले–माओवादी नेतृत्व पनि झस्किएको छ । दुवै केन्द्रीय निर्देशनअनुसार मात्रै चल्न सक्ने अवस्थामा रहेकाले जनमत र लोसपाको सजिलै समर्थन पाइहाल्ने अवस्था नबनेको र जसपा नेपाल र नेकपा एससँग दूरी निकै बढाएकाले पनि समस्यामा परेको छ । यता, जसपाको सरकार ढाल्न चाहेको जनमत पार्टी पनि सजिलै एमाले या माओवादीको सरकारमा सहभागी भइहाल्ने अवस्था छैन । केन्द्र गठबन्धनमा सम्मानजनक उपस्थितिबारे टुंगोमा नपुगी प्रदेश सरकारमा सहभागी हुने अवस्थामा जनमत नरहेपछि एमाले–माओवादी अरु समस्यामा परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button