
मधेशदृष्टि
काठमाडौं ।
भन्सार विभाग घेराउमा उत्रिएका प्रभु साह नेतृत्वको आम जनता पार्टीका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । त्रिपुरेश्वरस्थित भन्सार विभागको घेराउमा उत्रिएका आजपाका कार्यकर्ताहरुलाई प्रहरीले धरपकड गर्ने क्रममा झडप भएको हो । झडपका क्रममा आजपाका एक दर्जन बढी कार्यकर्ताहरु पक्राउ परेका छन् ।
आन्दोलनमा उत्रिएका आजपाका केन्द्रीय सदस्यहरु चन्दा देवी साह र चन्द्रिका साह घाइते भएका छन् भने आजपाको वरिष्ठ नेता तिलक थापा, प्रवक्ता चन्द्रभूषण साहलगायत दर्जनौंलाई प्रहरीले गिरफ्तार गरेको छ । आन्दोलनको संयोजन गरेकी रञ्जु साहले शान्तिपूर्ण आन्दोलनमा उत्रिएको बेलामा प्रहरीले आफूहरुलाई बल प्रयोग गरी पक्राउ गरेको बताइन् । उनका अनुसार पक्राउ पर्नेहरुमा रञ्जु साह, आर्य पाण्डे, चन्द्रिका लाल साह, देव कुमारी साह, कनक सिंह, मीना देवी साह, बिरबल यादव, हरिनारायण साह, सुनिल कुमार साह, सुरेश साह, प्रभु साह, अरुण कुमार साह, शम्भु साह, वीरबहादुर यादव, सिकेन्द्र साह, जयकिसोर साह, रामकिशोर साह, उमेश साह र रामनारायण साह रहेका छन् ।
आजपाले विगत लामो समयदेखि भन्सारमा भएको लुटकारी प्रावधान खारेजीको माग गरेर आन्दोलन गरिरहेको छ । अहिले चौथो चरणको आन्दोलन चलेको छ । चौथो चरणको आन्दोलनको सोमबार ९औँ दिन हो । आजपाले अब भन्सारको लुटकारी प्रावधान खारेजीमा सरकार सकारात्मक नबने कडा आन्दोलन चाल्ने र आन्दोलनबाट उत्पन्न हुनै सबैखाले परिस्थितिको जिम्मा पनि सरकारले नै लिनुपर्ने चेतावनी दिएको छ । भन्सारमा कथित पुरस्कारको नाममा लुट्ने काम भएको र निजी सम्पत्ति कब्जा गर्ने काम भएको आजपाको ठहर छ । आजपाले भन्सार नियन्त्रणको नाममा तराई÷मधेशका जनताको निजी सम्पति लुट्ने काम तुरुन्त बन्द गर्न तथा भन्सार कानुनमा रहेका सम्पूर्ण विभेदकारी एवं लुटकारी प्रावधान हटाउन गत भदौदेखि चरणबद्ध आन्दोलन गर्दै आएको छ ।
आम सम्पर्क मञ्चद्वारा भन्सार बिभागमार्फत सरकारसमक्ष प्रस्तुत गरिएका मागहरुमा भन्सार नियमावलीमा रहेको परिच्छेद–१० को पुरस्कारसम्बन्धी सम्पूर्ण प्रावधान हटाउनुपर्ने, कर कानुन, राजस्व कानुन र भन्सार कानुनमा एकरुपता ल्याउन भन्सार नियमावलीबाट अनावश्यक प्रावधान हटाउनुपर्ने रहेका छन् । यस्तै, मागमा भन्सार महशुल नबुझाएकै कारण निजी सम्पति जफत गर्ने व्यवस्थाको सट्टा भन्सार नबुझाएमा उचित दण्डको व्यवस्था गर्ने, प्रत्येक व्यापारिक नाकाहरुमा भन्सार कार्यालय स्थापना तथा स्तरवृद्धि गर्ने, घरायसी प्रयोजन र व्यापारिक प्रयोजनका वस्तुहरुको पहिचानको स्पष्ट व्यवस्था गरी घरायसी प्रयोजनको लागि ल्याइने उपयोग्य वस्तुहरुमा कुनै भन्सार कर नलाग्ने व्यवस्था गर्नुपर्ने पनि समावेश गरिएको छ । भन्सारबाट उठेको राजस्व रकमको २५% सम्बन्धित प्रदेशलाई र २५% सिमासँग जोडिएका पालिकाहरुलाई दिने व्यवस्था गर्नुपर्ने आजपाको मुख्य माग रहेको छ ।






