
मधेशदृष्टि
रौतहट ।
रौतहटको मौलापुर नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा भएको छ । स्वास्थ्य मन्त्रालयबाट निर्धारित सम्पूर्ण मापदण्ड पूरा गरी शुक्रवार मौलापुर पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको हो । शुक्रवार एक समारोह बिच जिल्ला समन्वय समितिका अध्यक्ष राम अयोध्या प्रसाद यादवले पूर्ण खोप सुनिश्चित पालिकाको प्रमाणपत्र मेयर रिना कुमारी साहलाई हस्तान्तरण गरेका थिए ।
त्यस्तै, कार्यक्रममा साहले पूर्ण खोप सुनिश्चित वडाको प्रमाणपत्र सम्बन्धित वडाध्यक्ष एवं संस्था प्रमुखहरुलाई हस्तान्तरण गरेकी थिइन् । मौलापुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुन अहोरात्र खटी योगदान पुर्याएका महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मीहरुलाई मेयर साहले कदर तथा सम्माणपत्रसहित फुलमाला, टिका तथा गम्छा ओढाई सम्मान गरेकी थिइन् ।
कार्यक्रमका अध्यक्ष नगर प्रमुख रिना कुमारी साह, प्रमुख अतिथि जिसस अध्यक्ष राम अयोध्या प्रसाद यादव, विशिष्ट अतिथि पूर्व संघीय सांसद समिना हुसैन, स्वास्थ्य कार्यालय, युनिसेफ नेपाल, मान्डवीका प्रतिनिधिहरुले मौलापुर नगरपालिका एवं सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना व्यक्त गरेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिए ।






