अल्पमतमा उपेन्द्र, जन्मियो ‘नेपाल’रहित जसपा

[mashshare]

पार्टीको मुद्दा जनतासमक्ष प्रभावकारी रुपमा लैजान र आन्तरिक लोकतन्त्र बलियो बनाउन यो बाटो तय गरेका हौँ ।
– सुशीला श्रेष्ठ, सांसद, जसपा

जनता समाजवादी पार्टी विभाजन भएकै छैन । केही साथीहरुलाई नेता, कार्यकर्तामा विश्वास छैन, जेठ २९, २९ र ३० गते हुने महाधिवेशनमा पराजित हुने निश्चित थियो, त्यसैले उहाँहरुले दल खोल्ने अधिकार प्रयोग गर्नु भएको हो । दुई चारदिनको छापाको समाचार बन्लान् । तर आफ्नै राजनीतिक आत्महत्या गरेका हुन् । पार्टी भनेको नेता र सांसद मात्र होइनन् । गठबन्धन सरकार भत्काउन अध्यक्ष लाग्नु भएको भन्ने आरोप गलत हो । आफ्नै सरकारविरुद्ध जाने कुरा सम्भव छैन । हामी यो गठबन्धन निर्वाचनसम्म कायम रहनु पर्छ भन्नेमा अडिग छौँ । अध्यक्षविरुद्ध गलत हल्ला चलाइयो । कसैले हाम्रो पार्टी फुटायो भन्ने पनि लाग्दैन । विस्तारै सत्यता बाहिर आउने नै छ ।
– मनिष सुमन, नेता, जसपा नेपाल

१२ सांसद रहेको जसपाबा ७ सांसदले निर्वाचन आयोगमा निवेदन दर्ता गराएपछि अध्ययन भइरहेकोे छ ।
– रामदत्त पाण्डेय, सहायक प्रवक्ता, निर्वाचन आयोग

सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनले सरकार र सत्ता गठबन्धनलाई केही असर पर्दैन । सत्ताघटक जनता समाजवादी पार्टी (जसपा) विभाजन भए पनि सरकारलाई तत्काल असर पर्ने छैन । दल विभाजन जसपाको आन्तरिक विषय हो ।
– देव गुरुङ, महासचिव, नेकपा माओवादी केन्द्र

बहुमत सांसदहरु
१. अशोक राई,
२. नवलकिशोर साह सुडी (मन्त्री)
३. प्रदीप यादव (प्रमुख सचेतक)
४. रञ्जु झा,
५. वीरेन्द्र महतो
६. हसिना खान
७. सुशीला श्रेष्ठ

केन्द्रीय कार्यकारिणी समितिः नौ
केन्द्रीय समितिः २७ जना

मधेशदृष्टि
जनकपुरधाम ।
समावेशी सिद्धान्तमा देशको उपराष्ट्रपति, गठबन्धन सरकारमा उपप्रधानमन्त्रीसहित मालदार मन्त्रालय र प्रदेशमा मधेश प्रदेश सरकारको लगातार नेतृत्व पाइरहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल औपचारिकरुपमा विभाजन भएको छ । वर्तमान गठबन्धन जोगाउन पार्टी विभाजन गर्न परेको निष्कर्षसहित बहुमत सदस्य नयाँ पार्टी निर्माणका लागि तयार भएपछि मधेश आन्दोलनबाट उदाएका नेता उपेन्द्र यादव अल्पमतमा परेका छन् । उनी भने अमेरिका भ्रमणमा छन् र आइतबार राति मात्रै नेपाल आइपुगेका छन् ।

पार्टीका सात सांसदसहित बहुमत नेताहरुले यादव नेतृत्वको पार्टी छाडेका छन् । उनीहरुले नेपालरहित जनता समाजवादी पार्टी (जसपा) मात्र दर्ता गर्न आइतबार निर्वाचन आयोगमा निवेदन दिएपछि जसपा औपचारिक विभाजनको सिकार भएको हो । नयाँ पार्टीको नेतृत्व नेता अशोक राईले गरेका छन् । जसपा सांसद सुशीला श्रेष्ठले भनिन्, ‘हामी सांसदहरु सातजना छौँ, अरू पनि थुप्रै आउनुहुन्छ । उहाँहरु सम्पर्कमै हुनुहुन्छ ।’ ‘मुद्दालाई जनतासमक्ष प्रभावकारी रुपमा लैजान र आन्तरिक लोकतन्त्र बलियो बनाउन यो बाटो तय भयो,’ श्रेष्ठले भनिन् ।

निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार जसपाका सांसदहरुले निवेदन दर्ता गराएको र सोको अध्ययन भइरहेकोे छ । जसपाबाट सङ्घीय संसदमा १२ सांसद छन् । तीमध्ये सात सांसदले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका हुन् ।
अशोक राई, नवलकिशोर साह सुडी, प्रदीप यादव, रञ्जु झा, वीरेन्द्र महतो, हसिना खान र सुशीला श्रेष्ठ रहेका छन् । त्यस्तै, केन्द्रीय कार्यकारिणी समितिका नौ र केन्द्रीय समितिका २७ जनाले राई समूहलाई साथ दिएको बताइएको छ ।

‘सरकारका पक्षमा उभिनेछौँ’
जनता समाजवादी पार्टी नेपाल विभाजन गरी नयाँ दल दर्तामा अशोक राईको नेतृत्वमा समेटिएका नेता राजेन्द्र श्रेष्ठले वर्तमान सरकारको बचाउ गरेका छन् । उनले पार्टी अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादव सरकारविरुद्ध लाग्न लागेको दाबी गर्दै पार्टी फोर्नु पर्ने कारण बाहिर ल्याएका छन् । ‘उपेन्द्र यादवले समर्थन फिर्ता लिन खोजे, हामी विभाजनतिर लाग्यौँ, अस्थिरता रोक्न यो कदम चाल्नु परेको हो,’ श्रेष्ठले भने । उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन रहने बताए । पार्टीबाट सरकारका रहेका वन तथा वातावरण मन्त्री नवलकिशोर साह पनि विद्रोहमा देखिएका छन् ।

समावेशी अनुहार जसपामा
जसपालाई यादवहरुको मात्रै पार्टी भन्ने आरोप लागिरहँदा पार्टीका शीर्षस्थ यादव नेताहरुसहित समावेशी अनुहार भने नयाँ पार्टीमा लागेका छन् । अशोक राई अध्यक्ष रहेको पार्टीमा प्रस्तावित चार उपाध्यक्षमा रेणुकुमारी यादव, नवलकिशोर साह, रणध्वज लिम्बु, परशुराम रम्तेल र सुशीला श्रेष्ठ छन् । महासचिवमा मोहम्मद इस्तियाक राई, सांसद एवम् प्रमुख सचेतक प्रदीप यादव उपमहासचिव बनाइएका छन् । रेणु यादव उपेन्द्र यादवकै जिल्लाका हुन् भने प्रदीप यादव पर्साका लोकप्रिय युवा नेताका अलावा उपेन्द्र यादवद्वारा पेलानमा परेका नेता हुन् । जसपामा समानान्तर समिति बन्दा सप्तरीमा रेणुले र पर्सामा प्रदीपले नै नेतृत्व गरेका थिए । यादवनिकट हसिना खातुन, डा. वीरेन्द्र महतो पनि नयाँ पार्टीमा लागेका छन् । अब यादवका पक्षमा राजकिशोर यादव, रेखा यादव, प्रकाश अधिकारी र दीपक कार्की मात्र छन् ।

केन्द्रीय समिति
अध्यक्षः अशोक कुमार राई, केन्द्रीय कमिटी
अध्यक्षः राजेन्द्र प्रसाद श्रेष्ठ, संघीय परिषद्
सहअध्यक्षः रेणु कुमारी यादव
उपाध्यक्षः नवल किशोर साह सुडी
उपाध्यक्षः रणध्वज लिम्बू
उपाध्यक्षः परशुराम बस्नेत
उपाध्यक्षः सुशीला श्रेष्ठ
महासचिवः मो. इस्तियाक राई
उपमहासचिवः प्रदीप यादव
सचिवः दीपक कार्की
सचिवः रञ्जु ठाकुर
कोषाध्यक्षः डा. वीरेन्द्र महतो
केन्द्रीय सदस्यः आङ्गकाजी शेर्पा
केन्द्रीय सदस्यः मोहनलाल चौधरी
केन्द्रीय सदस्यः कृष्ण बहादुर घजु
केन्द्रीय सदस्यः लाल बहादुर तामाङ्ग
केन्द्रीय सदस्यः राधा तिमिल्सिना
केन्द्रीय सदस्यः सीमा सिंह
केन्द्रीय सदस्यः कमला विश्वकर्मा
केन्द्रीय सदस्यः शोभा ब्रजाचार्य
केन्द्रीय सदस्यः प्रमोद गुप्ता
केन्द्रीय सदस्यः पारस साह
केन्द्रीय सदस्यः पञ्चलाल महर्जन
केन्द्रीय सदस्यः केशव पौडेल
केन्द्रीय सदस्यः मनिकर कार्की
केन्द्रीय सदस्यः राजेशमान सिंह
केन्द्रीय सदस्यः हसिना खान
केन्द्रीय सदस्यः नानु थामी
केन्द्रीय सदस्यः हेमन्तराज भण्डारी माण्डव्य
केन्द्रीय सदस्यः पिंकी देवी यादव
केन्द्रीय सदस्यः नवीन सुनुवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button