
वीरेन्द्र रमण
जनकपुरधाम ।
त्रेता युगमा भगवान रामको जन्म भएको स्मरणमा प्रत्येक वर्ष मनाइने रामनवमी महोत्सवलाई लिएर जनकपुरको विभिन्न मठमन्दिरमा श्रद्धालुको बाक्लो उपस्थिति देखिएको छ । पुजापाठ गर्न बिहानैदेखि जनकपुरको प्रसिद्ध जानकी मन्दिर, राम मन्दिरसहितको रामनवमीको पावन अवसरमा जनकपुरकाका मठमन्दिर र देवालयमा विशेष उत्सव आयोजना गरिएको थियो । भगवान रामको जन्म भएको समय अर्थात् दिउँसो १२ बजे हरेक मठमन्दिरमा विशेष पूजा र आरती गरिएको थियो ।
जानकी मन्दिर र राम मन्दिरमा बधाई गायनसहितको उत्सव मनाइएको थियो । जसमा हजारौँको संख्यामा श्रद्धालुको सहभागिता थियो । रामनवमी महोत्सवमा सहभागिताका लागि भारतका समेत श्रद्धालुको उपस्थिति थियो । जनकपुरको प्रसिद्ध तलाउ गंगा सागरमा स्नान गरी पूजापाठ गर्नेको घुइँचो देखिएको थियो ।
भगवान विष्णुका २४ अवतारमध्ये त्रेतायुगमा भएको रामअवतार रामायणमा विशेष वर्णित छ । धार्मिक शास्त्रअनुसार भगवान श्रीरामले परिवार, समाज र राज्यभित्र कायम हुनुपर्ने सबै मर्यादा कायम गरेका कारण उहाँलाई मर्यादा पुरुषोत्तम भनिएको हो । रामराज्यका नामले परिचित भगवान रामको राज्य न्यायका लागि नमूना मानिन्छ । यसैगरी, वासन्ती नवरात्रको अन्तिम दिनसमेत रहेको कारणले जनकपुरको विभिन्न स्थानमा निर्माण गरिएको दुर्गा पुजामा समेत उत्साह देखिएको थियो ।
देवी मन्दिरमा चण्डीपाठ र देवीपूजनका कार्यक्रम भएको थियो । हिन्दू परम्परामा असोज शुक्लपक्ष र चैत शुक्ल पक्षका अघिल्ला नौ दिन देवी पूजनका विशेष अवसर मानिँदै आएको छ । शरद् ऋतुमा पर्ने हुँदा असोज शुक्लपक्षको नवरात्रलाई शारदीय र चैत शुक्लपक्षको लाई वासन्ती भनिन्छ । चैती दशहारा पनि भनिने यो पर्वमा देवी पूजन गरेर बिसर्जन गरिने मैथिल परम्परा छ ।






