
मधेशदृष्टि
बारा ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु शाहले राजस्व नीति विभेदकारी र लुटकारी भएका कारण देश बर्बाद भएको बताएका छन् । उनले धोखेबाज नेता एवम् लुटकारी व्यवस्थाविरुद्ध निर्णायक आन्दोलन गर्ने प्रतिवद्धता व्यक्त गरे । बाराको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत बारागढ़ी गाउँपालिकाको करैया, गढ़ीमाई नगरपालिकाको सिमरा, सुवर्ण गाऊँपालिकाको औरैया, देवताल गाउँपालिकाको पिप्राढी र पचरौता नगरपालिकाको पिपरपातीमा नयाँ वर्षको अवसरमा आयोजित आम जनता पार्टी बारा कमिटीले राखेको भेटघाट तथा शुभकामना अदानप्रदान कार्यक्रममा शाहले यस्तो बताएका हुन् ।
देशको राजस्व नीति जनताको विकासका लागि हुनुपर्नेमा नेता र पुँजीपतिको विकासका लागि भएको बताउँदै शाहले देशका ठूल्ठूला उद्योगपतिले नै राजस्व छली गरिरहेको आरोप लगाए । ‘हामीले दुई वटा कुरा उठाएका छौँ, राजस्व समान हुनुपर्छ र जनताको हितकारी हुनुपर्छ तर आजको राजस्व नीति विभेदकारी छ,’ उनले भने, उद्योगपतिहरूले कारखानामा भएको सामानभन्दा कम सामान भएको देखाएर राजस्व छली गरिरहेका छन्, कर छली गर्ने समातिए पनि व्यक्तिहरू भने पक्राउ पर्दैनन्, उनीहरू पनि पक्राउ पर्नुपर्छ ।’
भन्सारमा भएको ४५ प्रतिशत पुरस्कार कर्मचारीदेखि लिएर मन्त्रीसम्म पाउने गरेकाले यस्तो व्यवस्था खारेज गर्नुपर्ने शाहको माग थियो । भन्सार कर्मचारीले तलब पनि पाउने र पुरस्कारस्वरुप ४५ प्रतिशत पनि पाउने व्यवस्थाले कर्मचारीले दाहोरो सुविधा पाएको तथा त्यसको सूचीसमेत सार्वजनिक नहुने गरेकाले यसको खारेजीका लागि आफ्नो पार्टीले काठमाडौँदेखि देशका विभिन्न भन्सार कार्यालयमा आन्दोलन गरेको उनले जानकारी दिए । ‘भन्सारमा पुरस्कार पाएका कर्मचारी कसले कति पुरस्कार पाए, त्यो सार्वजनिक किन गरिँदैन ? त्यो सार्वजनिक गर्नुपर्ने हो नि किन सार्वजनिक गरिँदैन ?’ उनले भने ।
भारतबाट किसानले एक बोरा मल ल्याउँदा पनि प्रहरी प्रशासनले समातेर भन्सार बुझाइदिने गरेकाले तराई मधेशका किसानसित सरकारले ज्यादती गर्दै आएको उनले बताए । देशलाई दलले चलाउने गरेकाले अहिले नेपालमा गणतन्त्र नभई दलतन्त्र हाबी भएको शाहको भनाइ थियो । उनले भने, ‘गौर हत्याकाण्ड, आरती साह हत्याकाण्ड, दिलीप महतो हत्याबारे आमजनता पार्टी लड्दै छ, यो पार्टी जनताको शासनमा चल्ने पार्टी हो ,जहिले पनि सत्यको जीत हुन्छ, किन भने हामी आम जनताको लडाइँमा छौँ ।’ कार्यक्रममा पार्टी उपाध्यक्ष अशोक लामा, महासचिव त्रिभुवन साह, प्रदेश अध्यक्ष उमेश कुशवाहा , स्थायी कमिटी सदस्य विजय यादव निर्विज, नेता नरेश साह तुरहा, अजय यादव वियोगीलगायतका नेताको उपस्थिति थियो ।






