
मधेशदृष्टि
वीरगंज ।
संकल्प लोक सेवाको तेस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार वीरगंजमा संकल्प लोक सेवा आयोगका प्रबन्ध निर्देशक अशोक साहको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रमको उद्घाटन पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले संकल्प लोक सेवाले धेरै जनालाई सरकारी जागिर दिन सफल भएको संकल्प लोक सेवाको प्रशंसा गरे । उनले वीरगंज जस्तो पिछिडिएको ठाउँमा संकल्प लोक सेवाले आयोगको तयारी गराएर हजारको संख्यामा सरकारी जागिर दिलाउन सफल भएको भन्दै लोक सेवालाई धन्यवाद समेत दिए ।
पूर्व मन्त्री समेत रहेका सांसद यादवले लोक सेवा तथा शिक्षक सेवा आयोगमा नाम निकाल्ने मधेशीको संख्यामा वृद्धि भएको बताउँदै त्यसमा संकल्प लोक सेवा आयोग र प्रबन्ध निर्देशक अशोक साहको ठूलो योगदान रहेको बताए । मधेश आन्दोलनले गर्दा प्राप्त आरक्षणका कारण पनि मधेशी धेरै जनाले सरकारी जागीर पाएको उनको भनाइ थियो । मधेश आन्दोलन नभएको भए मधेशी, जनजातिलाई जागीर पाउन धेरै कठिन हुने बताउँदै उनले अहिले अवस्था सहज भएको बताए ।
उनले भने ‘पहिला मधेशका शिक्षक हुन्थ्यो । अहिले पहाडमा पनि मधेशी समुदायका अधिकृत देख्दा खुशी लाग्छ । यो सबै मधेश आन्दोलनको उपलब्धि हो ।’ २०६२÷०६३ को आन्दोलनले गर्दा नै ४५ प्रतिशत आरक्षणको व्यवस्था आएको उनको भनाइ थियो । मधेश प्रदेशको दुई ठाउँमा लोक सेवा आयोगको परीक्षाको सेन्टरको व्यवस्था हुनु पर्ने बताउँदै उनले त्यसको लागि आफूले पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । फरक प्रसंगमा सांसद यादवले देशमा संघीयता खारेजको ठूलो सडयन्त्र भइरहेको भन्दै सबै पक्ष सतर्क हुन जरुरी रहेको बताए ।
एक बर्षमा एक सय ४० जना पास
कार्यक्रममा संकल्प लोक सेवामा पढेर २०८० सालमा नाम निकाल्नेहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा नि.मा.वि.को लाइसेन्स परीक्षा पास भएको ३८ जना र मावि तहको लाइसेन्स परीक्षा पास भएका ३१ जनालाई सम्मान गरिएको थियो । त्यसैगरी शिक्षक सेवा आयोगको परीक्षा पास गरि शिक्षकको स्थायी नियुक्तिको लागि सिफारिस भएका निमावि तहका ३ जना, मावि तहका ४ जना र प्रावि तहका ३२ जनालाई पनि सम्मान गरिएको थियो । संकल्प लोक सेवाबाट नै पढेर लोक सेवा आयोगको परीक्षा पास भई नायब सुब्बा ४ जना, सशस्त्र प्रहरी जवान ४ जना र नेपाल आर्मी २१ जना भएको संकल्प लोक सेवाका प्रशिक्षक सरोज साहले जानकारी दिए ।
वीरगंजस्थित रोयल पार्टी प्यालेसमा भएको कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव, धोबिनी गाउँपालिकाका अध्यक्ष मदन चौहान, जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, कालिकामाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमित गिरी, परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्राण मेहता, रेल्बे मावि वीरगंजका प्रधानाध्यापक प्रभु रौनियार लगायतले मन्तव्य राखेका थिए ।






