
मधेशदृष्टि
सर्लाही ।
सर्लाहीमा प्राथमिक तहको अस्थायी तथा करार शिक्षक हट्ने भएका छन् । सर्लाही भरिमा २०७६ पुस १ गते पछि नियुक्त भएका सबै अस्थायी तथा करार शिक्षक हट्ने शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीले जनाएको छ । शिक्षक सेवा आयोगबाट सर्लाहीका लागि सिफारिस भएका प्राथमिक तहका स्थायी शिक्षक उम्मेदवार एक सय ८३ जना थप्ने भएकोले सर्लाहीका ७७ जना अस्थायी÷करार शिक्षक विस्थापित हुने शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहाले जानकारी दिए । उनका अनुसार यसरी हट्ने शिक्षकहरु मध्ये २०७६ सालका १७ जना, २०७७ सालका चार जना, २०७८ सालका २७ जना, २०७९ सालका १६ जना र २०८० सालका १३ शिक्षक रहेका छन् ।
त्यसैगरी शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीमा उपलब्ध अभिलेख अनुसार सर्लाहीको २० पालिकाहरु मध्ये अस्थायी तथा करार शिक्षकहरु सबैभन्दा बढि बलरा नगरपालिकाबाट १७ जना, रामनगर गाउँपालिकाबाट ८ जना, धनकौल गाउँपालिकाबाट २ जना, विष्णु गाउँपालिकाबाट ५ जना, गोडैता नगरपालिकाबाट ५ जना, कौडेना गाउँपालिकाबाट १ जना, मलंगवा नगरपालिकाबाट ४ जना, ब्रहमपुरी गाउँपालिकाबाट ४ जना, कविलासी नगरपालिकाबाट ५ जना रहेका छन् । त्यस्तै, हरिपूर्वा नगरपालिकाबाट १ जना, बरहथवा नगरपालिकाबाट ५ जना, पर्सा गाउँपालिकाबाट २ जना, हरिपुर नगरपालिकाबाट ३ जना, लालबन्दी नगरपालिकाबाट ४ जना, वागमती नगरपालिकाबाट ६ जना र इश्वरपुर नगरपालिकाबाट ५ जना रहेका छन् । उनीहरु सबै २०७६ पुस १ गते पछिका अस्थायी÷करार नियुक्त शिक्षक हुन् ।सर्लाहीमा प्राथ
मिक तहमा सरुवा तथा अनिवार्य अवकाश भई रिक्त शिक्षक १ सय ६ जना रहेको थियो । सर्लाही जिल्लामा सामुदायिक विद्यालयको संख्या ५ सय भन्दा बढी रहेको छ । सर्लाहीमा न्यूनतम आवश्यक दरबन्दी प्रावि तहमा २ हजार ५९ जना शिक्षकमध्ये १ हजार २ सय २१, आधारभुत तहमा ६ सय २८ जना जसमध्ये ३ सय ९७ जना, मावि तहमा ४ सय ५५ जसमध्ये दरबन्दी २ सय ६३ जना, उच्च माध्यमिक तहमा १ सय १४ मध्ये ८३ जना शिक्षकको मात्र दरबन्दी रहेको छ । २०५२ पछि स्वीकृत शिक्षक दरबन्दी र २०६७ पछि शिक्षक अनुदान कोटा(राहत) नथपिएको र दिनानुदिन विद्यालयहरूमा कक्षा थप र नयाँ विद्यालय स्थापनाको क्रम जारी छ । अहिले विद्यार्थी संख्याको आधारमा शिक्षक नथपिदा सर्लाहीका सामुदायिक विद्यालयहरूमा शिक्षकको अभाव भएको शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक कुशवाहाले बताए ।






