सप्तरी विकासमा पछि परेको देखियोः राष्ट्रपति

[mashshare]

मधेशदृष्टि
राजविराज ।
राष्ट्रपति रामचन्द्र पौडेलले कोशी कमला डाइभर्सन छिटो सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सप्तरीको छिन्नमस्ता मन्दिरमा पूजापाठपछि आयोजित स्वागत तथा सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले सप्तरी ऐतिहासिक जिल्ला भए पनि विकासमा पछि परिरहेको बताए ।

सप्तरीको विकासका लागि जनताको साथमा रहेको बताउँदै कृषिक्रान्ति गर्न सक्ने सप्तरीलगायतका जिल्ला सुक्खा र खडेरीको समस्याबाट गुज्रिरहेको अवस्थामा कोशी–कमला डाइभर्सन सञ्चालन भए सुक्खाको समस्या समाधान हुने उनले विश्वास व्यक्त गरे । मधेशको पुरानो र ऐतिहासिक प्रजातान्त्रिक र जनअधिकारका लागि सप्तरीले विगतमा पनि ठूलो योगदान पुर्यायको स्मरणका साथ उनले विकासमा सप्तरी पछाडि परेको भन्दै यहाँको विकासका लागि सरकारसँग कुरा राखिने बताए ।

उनले भारतीय स्वतन्त्रता आन्दोलनमा सप्तरीकै हनुमाननगर जेलमा बन्दी बनाइएका भारतीय समाजवादी नेता डा. राममनोहर लौहिया, जय प्रकाश नारायणलाई सप्तरीकै क्रान्तिकारी युवाले जेल मुक्त गराएको स्मरण सुनाए । नेपाल र भारतका लाखौँ भक्तजनले श्रद्धा, सम्मान र सुरक्षा अनुभूति गर्ने स्थल छिन्नमस्ता भगवती मन्दिर रहेको बताउँदै राष्ट्रपति पौडेलले राष्ट्रपतिको हैसियतमा आफू पहिलोपटक छिन्नमस्ता भगवतीको दर्शन गर्न पाउँदा खुशी भएको बताए ।

छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी र उपाध्यक्ष राजदेवी यादवले अभिनन्दन पत्र, दोसल्ला र मिथिलाको पाग लगाएर राष्ट्रपतिको सम्मान गरेका थिए । हेलिकप्टरबाट पत्नीसहित छिन्नमस्ता आएका राष्ट्रपति पौडेललाई प्रतिनिधिसभा सदस्यद्वय दिनेश कुमार यादव र तेजुलाल चौधरी, प्रदेश सभा सदस्य निलम रजक, छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी, प्रमुख जिल्ला अधिकारी किरण थापा, सप्तरीका पालिका प्रमुखहरूले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button