
अधिकारविनाको मधेशमा ठोस काम हुन सकेन
केन्द्र गठबन्धन परिवर्तनले विकासका काममा अवरोध
६५ लाख जनसंख्यालाई कर्णालीलाई भन्दा कम बजेट
फास्ट ट्र्याक र अन्तर्राष्ट्रिय विमानस्थल अर्थतन्त्रको मेरुदण्ड
मधेशदृष्टि
वीरगंज ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अधिकारविनाको संघीयताले समृद्ध मधेश बनाउन नसकिने बताएका छन् । शनिबार वीरगंजमा आयोजित ‘वीरगंज वाणी’ कार्यक्रममा मुख्यमन्त्री यादवले देशको अर्थतन्त्रमा उल्लेख्य योगदान पु¥याउने र संघीयता ल्याउनसमेत वीरगंजले महत्वपूर्ण भूमिका खेलेको बताए ।
उनले विगत ७ वर्षदेखि मधेशले अधिकारविनाको संघीयता भोग्दै आएको र मधेशको विकासका लागि गर्नुपर्ने ठोस काम गर्न नसकेको भन्दै गुनासो गरे । उनले संविधान लागु गर्ने बेला वीरगंजवासीले नाकाबन्दीका कारण भइरहेको अप्ठ्यारो र व्यापार घाटा सहेरै भए पनि संघीयता ल्याउन खेलेको भूमिका कसैले बिर्सन नहुने बताउदै कर्मचारी र प्रहरी प्रशासन प्रदेश मातहातमा नआइकन संघीयता कार्यान्वयन हुन नसक्ने दाबी गरे । उनले केन्द्रको सत्ता गठबन्धन अकस्मात परिवर्तन हुँदा प्रदेशहरूमा समेत कम्पन आउने र थालिएका काम बीचमै अलपत्र पर्ने परिस्थिति विद्यमान रहेको बताउदै अघिल्लो गठबन्धन सरकारका पालामा मधेशमा सिँचाइ व्यवस्थापनका लागि करिब १ अर्ब रुपैयाँको परियोजना अघि सारेर टुंगोमा पुग्नै लागेका बेला केन्द्रमा नयाँ मन्त्रिमण्डल बनेपछि योजना अलपत्र परेकामा दुःखेसो व्यक्त गरे ।
उनले ‘बजेट बनाउने बेला ६५ लाखको हाराहारीमा जनसंख्या भएको मधेश प्रदेशलाई १३ अर्ब रुपैयाँ विनियोजन हुने गरेको तर जम्मा १२–१३ लाख जनसंख्या भएको कर्णाली प्रदेशलाई १९ अर्ब रुपैयाँ छुट्याइएकामा केन्द्र सरकारको ध्यानाकर्षण गराउँदै मधेशको एकमात्र महानगर वीरगंजलाई समेत सरकारले बजेट दिन विभेद गरेको बताए । मुख्यमन्त्री यादवले निजगढ–काठमाडौँ फास्ट ट्र्याक र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल तत्काल निर्माण गर्नुपर्नेमा जोड दिँदै यसबाट मुलुकको अर्थतन्त्रमा आमूल परिवर्तन आउनसक्ने दाबी गरे ।





