
जीवनको सवैभन्दा बढी उत्सुकता जागृत राख्ने परीक्षा चाँहि एसईई प्रवेशिका परीक्षा हो जुन अमर्यादित भयो भने आउने दिनको सवै परीक्षा अमर्यादित हुन पुग्दछ । अतः परीक्षा चाँहि स्वच्छ, मर्यादित, भयरहित एवं चीटरहित हुनुपर्दछ । परीक्षा चाँहि पूर्ण रुपमा परीक्षा जस्तो हुनुपर्दछ । परीक्षा भनेको परीक्षार्थीको आफ्नो स्वयं परीक्षण हो । आफू कतिको योग्य रहेको सम्वन्धमा गरिने स्वमूल्याँकन हो । विद्यालयमा भर्ना गर्दा केटाकेटीको आई.क्यू. (बुद्धि मापन एकाई) हेरेर मात्र भर्ना गर्दा उपयुक्त हुन आउँछ । यस्तो परम्पराको विकास गराउन सक्नु पर्दछ । साथै सिकारुको सोंच, विचार अनुसारको विषयवस्तु पढाउनु पर्दछ । मानौं कसैलाई पढ्ने इच्छा, लगनशीलता छ साइन्स तर उसलाई अभिभावकले भर्ना गराउँछ कमर्सतर्फ अनि उसमा सो विषयतिरको उत्सुकता, जागरुकतामा कमी भई जोश, जाँगर लाग्दैन जसको फलस्वरुप जति प्रगति, फड्को मार्नुपर्ने हो सो हुन सक्दैन । अभिभावकले छोरीलाई सरकारी (सामुदायिक विद्यालय) मा अनि छोरालाई बोर्डिङ्ग स्कुल (संस्थागत विद्यालय) मा पढाउने भई छोराछोरीबीच भेदभाव रहेको पाइन्छ ।
सरकारीमा समयमा किताब नपाउने परम्परा रहेको छ भने बोर्डिङ्गमा कमिशनको घनचक्करमा धेरै महंगो पुस्तकहरु वर्षेनी सञ्चालकहरुले परिवर्तन गर्ने कुनीति अपनाउने गरेको देखिन्छ जसको चपेटामा अभिभावक पिल्सिएका छन् । अत्तिचर्काे शुल्कको जोहो गरेर भएपनि बोर्डिङ्ग स्कुलमा पढाइन्छ ताकी छोराछोरीको भविष्य चाँहि उज्जवल होस् तर रटामार (रट्ने, यादगर्ने) परम्परा बढी हुने गरेका र केन्द्रहरुमा शिक्षक, केन्द्रध्यक्ष मिलाइने गरिएकाले चीटचोरीमा बोर्डिङ्गका विद्यार्थी पनि महारत प्राप्त भएका छन् । वर्षभरि ट्युशन, कोचिङ्ग पनि पढ्ने तर बिना चीटको नलेख्ने कुप्रबृत्ति रहेकोले परीक्षार्थीभित्र आत्मविश्वास जागृत हुनुपर्दछ । शहरी क्षेत्रको तुलनामा ग्रामीण भेगमा अहिले पनि परीक्षा केन्द्रमा बढी भीडभाड लाग्ने र परीक्षा लुज रहेको पाइन्छ ।
ब्रेनको याद गर्ने क्षमता हेर्दा पढेर १० प्रतिशत, सुनेर २० प्रतिशत याद गर्न सकिन्छ भने हेरेर ३० प्रतिशत, सुनेर र हेरेर दुवै सँगै हुँदा ५० प्रतिशत याद गर्न सकिन्छ । यस्तै सुनेर, हेरेर र सँगै होमवर्क गरेर ८० प्रतिशत ब्रेनले सम्झना गर्न सक्छ भने पढ्दाखेरि नै प्राक्टिकल गर्दै जाँदा ९० प्रतिशत याद गर्न सकिन्छ । यसर्थ विद्यालयमा अडियो भिजुअल एड्स् सामग्री, ‘लर्निङ् बाइ डुविङ्’ सिस्टम अपनाउनु पर्दछ । अध्ययन अध्यापनका बेला कक्षामा शान्त सुमधुर वातावरण कायम हुनुपर्दछ । हाम्रो ब्रेनले पुरानो कुराहरुलाई फाइल जस्तै बनाएर तहमाथि तह बनाउँदै जाने गरेकाले नयाँ कुरामाथि थपिंदै जान्छ जसको फलस्वरुप पुरानो कुराहरु बिर्सिने गरिन्छ । अतः पढेका लेखेका विषयवस्तु हरेक महिना दोहोर्याउनुपर्ने हुन्छ ताकी पुनः विषयवस्तु माथिल्लो तहमा आएर सम्झना रहिरहोस् ।
विद्यालयहरुमा प्रयोगशालाको समुचित कोठा, पर्याप्त सामग्री, आवश्यक जनशक्ति आदि उपलव्ध हुनुपर्दछ । कहिं विद्यार्थी बढी हुन्छ तर भौतिक सामग्री, शिक्षक, स्टाफमा कमी हुन्छ भने कतै भौतिक संरचना पर्याप्त हुन्छ तर विद्यार्थी संख्या न्युन रहन्छ । अतः यसतर्फ विशेष ध्यान दिनुपर्दछ । शिक्षण सामग्री चाँहि स्तरीय, आधुनिक भएमा विद्यार्थीहरुको रुची बढाउने, प्रभावकारी, आकर्षक बन्ने गर्दछ जसबाट सिकारुको मनमस्तिष्कमा बसेर सिकाईलाई दिगो बनाउन सकिन्छ । यस्तै चीनी भनाई हेर्दा म जे सुन्छु त्यो बिर्सन्छु, म जे कुरा देख्छु त्यो सम्झन्छु तर म जे कार्य गर्छु त्यो बुझ्दछु । स्कुलबाट विद्यार्थीहरुलाई फिल्ड ट्रिप (शैक्षिक भ्रमण) को ठाउँमा पिकनिक लग्ने गरिएको पाइन्छ जसमा सुधार गरी सम्वन्धित स्थानको भ्रमण गराई रिपोर्ट लेख्न लाउनुपर्दछ । जसमा लगानी बढी गरिन्छ त्यसमा अभिभावकको ध्यान बढी केन्द्रित हुन्छ । यदि सरकारीमा फ्रि छ भने सरकारीमा पढाउने शिक्षक, पढ्ने विद्यार्थीहरुको जागरुकतामा कमि रहन्छ । हुनत बोर्डिङ्गको शिक्षकलाई शोषण बढी पाइन्छ र सरकारीका शिक्षकहरुको तलब बढी हुन्छ तर सेवामा कमि पाइन्छ । यदि इमान्दारी साथ सरकारी विद्यालयका शिक्षकहरुले लाग्ने हो भने बोर्डिङ्गका तुलनामा धेरै अगाडि आउन सक्दछ । यसको लागि तलदेखि माथिल्लो निकाय, स्थानीय निकाय, अभिभावक, विद्यार्थी सवैको सोंच पोजिटिभ हुनुपर्दछ । सरकारको शिक्षामा लगानी १० देखि १५ प्रतिशत रहन्छ तर सो लगानी अनुरुप प्रतिफलमा कमि रहेको पाइन्छ । शिक्षाको स्तर उकास्नका लागि प्रअ, शिक्षक योग्य, कर्मठ, इमान्दार हुनुपर्दछ । विद्यार्थीहरुलाई खोजमूलक प्रोजेक्ट मेथड पनि प्रयोग गर्नुपर्दछ । पाठ्यक्रम बनाउँदा जीवनोपयोगी हुने गरी देश सुहाउँदो निर्माण गर्नुपर्दछ ।
बोर्डिङमा प्रतिकक्षा ३० देखि ४० विद्यार्थीहरु राखिने परम्परा रहेको छ भने सरकारी स्कुलमा ५० देखि ७० जना विद्यार्थीहरु प्रति कक्षा राखिने गरेको पाइन्छ जसले गर्दा दुबैको शैक्षणिक वातावरणमा फरकपन आउँछ । कुनै कुनै संस्थागत विद्यालयमा १० देखि १५ जना विद्यार्थीहरु मात्रै प्रतिकक्षा पाइन्छन् जसले पनि अध्ययन अध्यापनमा खल्लो अनुभव हुन्छ । यसर्थ गहन व्यावहारिक विषयमा २० जना अनि लेक्चर दिइने विषयमा ४० जनाभन्दा बढी प्रतिकक्षा विद्यार्थी संख्या हुँदा भद्दा, खैलाबैला हुन पुग्दछ जसको फलस्वरुप प्रभावकारी कक्षा हुन्न । अतः यसतर्फ विद्यालय एवं सम्वद्ध पक्षले ध्यान दिनुपर्दछ । सरकारी विद्यालयमा स्मार्ट बोर्ड, प्रोजेक्टर हुन्छ जसको प्रयोग नभएर थन्किएर बिग्रने गर्दछ भने संस्थागतमा सुरक्षित गरी प्रयोजनमा ल्याउने गरिन्छ ।
शिक्षाको गुणस्तरमा सुधार हुँदा स्वास्थ्य, आर्थिक, सामाजिक, भौतिक, पर्यावरण, व्यवहारिक परिवर्तन, सामुदायिक विकास सवै कार्यमा सुधार हुन्छ । राजनैतिक नीति, नियम, कानूनको परिपालन सुहाउँदो हुन जान्छ । राष्ट्र विकासको आधारशिला “शिक्षा” हो भने उच्चस्तरीय भविष्यका कर्णधारक उत्पादनको आधारकिल्ला “परीक्षा” हो । जसरी मानिसलाई बाँच्नका लागि आधारभूति आवश्यकता (भोजन, लत्ताकपडा, घर,) जरुरी भएसँगै स्वस्थ रहनका लागि शिक्षा, स्वास्थ्य, यौन, मनोरंजन आवश्यक हुन्छ भने थप आवश्यकतामा सुरक्षा, प्रेम, स्नेह, आदरभाव, स्वमूल्याँकन पर्दछन् । त्यस्तै देश, प्रदेश, नगर, गाउँ विकासको मूल जरो शिक्षा हो । यदि शिक्षा नै स्तरीय भएन भने सम्पूर्ण कार्य प्रक्रिया मै शिथिल्ता आउँछ । त्यसपछि स्वास्थ्य सेवा, खानेपानी, सडक, विद्युत, सञ्चार सेवा, शान्तीसुरक्षा चाँहि चुस्तदुरुस्त हुनुपर्दछ । यसर्थ “स्तरीय शिक्षा, उच्चस्तरीय एसइइ परीक्षा, गुणस्तरीय उत्पादन” मा जोड दिनुपर्दछ । शिक्षामा विभिन्न किसिमका विकृति विसंगति भित्रिदा समाजमा अराजकता, लागू औषध दुव्र्यसन, भ्रष्टाचार वृद्धिका साथै हिंसा आदिमा वृद्धि हुन्छ । नेपाल सरकारले एसइइ नामकरण सँगै ग्रेड सिस्टम लागू गरेपछि फलामे ढोकाको परीक्षा चाँहि सामान्य गेटवे बनेको छ । यसबाट विद्यार्थी, शिक्षकवर्ग परीक्षा तैयारीहेतु खासै उत्सुकता पाइँदैन । हाल टेष्ट परीक्षाको अनिवार्यता हटेपनि कतिपय विद्यालयहरुले पैसा उठाउने लाभका लागि परीक्षा लिएको पाइन्छ । अहिले २०८० चैत्र १५ गतेदेखि एसइइ परीक्षा शुरु रहेको छ । गणित बाहेक प्रायः सवै विषयहरुमा प्राक्टिकल नम्वर राखिएको हुन्छ जसको लागि स्कुलमा प्रायः बिना तैयारी कै मार्कस् पठाउने गरिन्छ । यसरी यस्तो प्रबृतिबाट शिक्षाको स्तर खस्किने हुँदा सम्वद्ध निकायको ध्यानाकृष्ट हुनुपर्दछ ।
एसईई परीक्षामा चीटचोरी, अनियमितता जस्ता कार्यहरु हुने भएकोले यसले झन् शिक्षाको स्तरीयतामा ह्रास आउँछ । अतः एसइइ परीक्षालाई मर्यादित एवं चीटरहित तुल्याउन सवै सम्वद्ध पक्ष लाग्नुपर्दछ । परीक्षाको मर्यादालाई कायम गर्न गराउनका लागि अत्यावश्यक निर्देशनहरुलाई पालना गर्नगराउने तर्फ अग्रसर भई परीक्षालाई स्वच्छ एवं शान्तीपूर्ण तुल्याउन सक्नु पर्दछ । यसका लागि परीक्षा समन्वय समितिले अहम भूमिका खेल्नु पर्दछ । साथै प्रधानाध्याक, शिक्षक, अभिभावक, कर्मचारी, अभिभावक सवैले सहयोग पुर्याउनु पर्दछ । परीक्षालाई स्वच्छ बनाउनका लागि निम्न बुन्दाहरुमाथि ध्यान दिनुपर्दछ ताकी आउने दिनहरुमा सुधार हुँदै जाओस् ।
(१) सक्कली, नक्कली प्रवेशपत्र माथि निगरानी गर्नुपर्ने (२) परीक्षा केन्द्रमा प्रावि शिक्षकको ठाउँमा चीट पुर्याउनका लागि मावि स्तरको शिक्षकमाथि ध्यान दिनुपर्ने (३) आवश्यकता भन्दा बढी अनियमित गार्डमाथि रोक हुनुपर्ने (४) परीक्षा केन्द्रवरिपरि निषेधित क्षेत्र हुनुपर्ने (५) परीक्षा हलमा चिट, गेस आदि समातिएमा निष्काशन हुनुपर्ने (६) अनिवार्य रुपमा विद्यालयको पोशाकमा परीक्षार्थीहरु हुनुपर्ने (७) शिक्षक गार्ड, स्टाफहरु नै वढी प्रश्नपत्र आउट गराई बाहिरबाट उत्तर प्राप्त गराउनमा सघाउने कार्यमा सवै भन्दा वढी सेलफोन (मोबाइल) प्रचलित रहेकोले परीक्षा केन्द्रमा गार्ड, निरीक्षकहरुको मोबाइलको स्वीच अफ गराई परीक्षा अवधिभरि कार्यालयमा जम्मा हुनुपर्ने (८) परीक्षार्थीहरुमाथि मोबाइल फोनको प्रवेशमाथि निगरानी हुनुुपर्ने (९) परीक्षा कोठामा क्यामरा रहेकाले सोबाट पनि निगरानी गर्नुपर्ने (१०) चीट, अनियमितता कार्य गर्ने गराउनेउपर सख्त कार्यवाही गर्नुपर्ने (११) परीक्षामा खट्ने गार्ड, निरीक्षकहरुलाई भत्ता उपलब्ध गराउनुपर्ने (१२) विद्यार्थीबाट चिट गराउन पैसा लिन सक्ने भएकाले रनिङ्ग गार्डबाहेक रुम गार्डहरुलाई अर्काे कोठामा आवागमनमा रोक लाउनुपर्ने (१३) परीक्षा हलमा शान्त वातावरण कायम गर्नुपर्ने (१४) परीक्षा केन्द्रहरुमा परीक्षा अवधिभरि निगरानीका विशेष पावरफूल अनुगमन टोली राख्नुपर्ने (१५) प्रमुख जिल्ला अधिकारी, जनपथ प्रमुख, सशस्त्र प्रमुख सवै अलग अलग परीक्षा केन्द्रहरुमा दैनिक रुपमा अनुगमन गर्नुपर्ने (१६) आगामी परीक्षालाई अन्तर जिल्ला वा अन्तरपालिका गर्नुपर्ने जस्तै टीयूको परीक्षा चाँहि बिरगंजको कलैया अनि कलैयाको बिरगंज हुने गरेको पाइएको (१७) सञ्चारकर्मीहरुलाई छुट्टै जान नदिई आफूसँगै मात्र परीक्षा केन्द्र लग्नुपर्ने, आदि कुराहरुमाथि ध्यान दिनुपर्दछ । यसबाट धेरै हदसम्म शिक्षा एवं परीक्षामा सुधार ल्याउन सकिन्छ । परीक्षामा सुधार भएपछि स्तरीय शिक्षा प्रदानतर्फ अग्रसरता बढ्ने हुन्छ अनि स्तरीय शिक्षा प्राप्त भएपछि गुणस्तरीय उत्पादन हुन्छ । आजका परीक्षार्थी चाँहि भोलीका कर्णधार बन्ने भएकाले कमसल परीक्षा बनाउनु हुन्न ।
अतः उच्च स्तरीय परीक्षा बनाउन सक्नु पर्दछ । शिक्षाले विद्यार्थीहरुमा चरित्र एवं मानसिक शक्तिको विकास गराउँछ । राम्रो प्रतिस्पर्धी शिक्षाले समुचित प्रतिफल दिन्छ । उचित विद्यालयीय वातावरणले विद्यार्थीहरुको ज्ञान, सीप आर्जनमा तीब्रता ल्याउँछ । आजभोली सरकारी स्कुलमा अंग्रेजी माध्यम लागू गरी पठानपाठन गराउने कार्यमा होडवाजी चलेको देखिन्छ । तर तल्लो कक्षामा केन्द्रित नभई कतिपय विद्यालयमा केवल ८, ९, १० नै अंग्रेजी माध्यम गरिनु चाँहि अनुचित देखिन्छ । अतः कक्षा १ देखि नै अंग्रेजी माध्यम गर्दा राम्रो मानिन्छ । विश्व अहिले शैक्षिक प्रतिस्पर्धात्मक अवस्थाबाट गुज्रिरहेकोले सवैको ध्यान अंग्रेजी माध्यम बनेको छ । साथै सामुदायिक विद्यालयबाट पढ्ने विद्यार्थीहरुलाई सरकारी अनुदान पाइने भएकाले धेरैको रोजाई सरकारी स्कुल भएको पाइन्छ । तसर्थ विद्यार्थीहरुको पहिलो खुडकिलो एसइइ परीक्षालाई स्वच्छ पार्न सवै ऐक्यवद्ध भई लाग्नु पर्दछ । स्वच्छ परीक्षा, शिक्षा भएमा समाजिक, राष्ट्र विकासमा योगदान हुन्छ । यसबाट समाजमा विभेद हट्ने, धार्मिक सहिष्णुता बढ्ने, शान्तिसुरक्षा स्थापित हुने, भ्रष्टाचार, घुसखोरीमा कमि हुने गर्दछ ।






