विकासमा पछुवा, सप्तरीमा डरलाग्दो गरिबी र बेरोजगारीः यादव

[mashshare]

मधेशदृष्टि
राजविराज ।
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष एवम् उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सप्तरी विकासको दृष्टिकोणले धेरै पछाडि परेकाले गरिबी र बेरोजगारी समस्याले झनै डरलाग्दो रूप धारण गरेको बताएका छन् । जनता समाजवादी पार्टी सप्तरीद्वारा राजविराजमा शुक्रबार आयोजित स्वागत तथा सम्मान कार्यक्रममा यादवले विकास भए मात्र गरिबी र बेरोजगारी अन्त्य हुने भएकाले विकासका लागि आवश्यक वातावरण निर्माण गर्न नागरिकको पनि दायित्व भएको बताए ।

सप्तरीमा विकासको काममा समेत अवरोध गर्ने नियतवश विरोध गर्ने विचित्रको परिपाटी देखिएको भन्दै उनले यस्ता विकासविरोधी प्रवृत्ति निरुत्साहित गर्न जनता जागरुक हुनु जरुरी रहेको बताए । सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताललाई देशकै नमूना अस्पतालको रुप दिने लक्ष्य रहेको बताउँदै उनले आफूले बोकेको उद्देश्यअनुसार भवन निर्माण सम्पन्न भइसकेको र छिट्टै हस्तातरण हुने तथा त्यसपश्चात जाँचका आधुनिक उपकरण जडान हुने बताए । गजेन्द्र नारायण सिंह अस्पताल नयाँ भवनमा सञ्चालन भएलगत्तै राजविराज नगरपालिका वडा नम्बर १० स्थित रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यले पनि तिव्रता पाउने उनले प्रतिवद्धता जनाए ।

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासको मुख्य आधार गजेन्द्रनारायण सिंह अस्पतालको स्तर उन्नति भएको बताउँदै उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले सप्तरीबासीले विकासको वातावरण बनाउनुपर्नेमा जोड दिए । सदरमुकाम राजविराजलाई आधुनिक शहरका रुपमा विकास गर्ने र त्यसको लागि रिङ्गरोडलगायतका काम सञ्चालनमा रहेको भन्दै उनले समग्र सप्तरीको विकासको लागि सडक सञ्जाल अपरिहार्य हुने बताए ।

‘विचार र राजनीतिक विरोध हुन्छ । तर विकासको गति अवरोध गर्नु राम्रो होइन । वास्तवमा विकासको विरोध गर्नेहरू सामाजिक अवरोधक हुन्,’ स्वास्थ्यमन्त्री यादवले भने, ‘विकासको अनुकुल वातावरण बनाइदिनुस्, वर्तमान सरकार विकासको गतिलाई तिव्रताका साथ अगाडि बढाउन चाहन्छ ।’ यादवले संघीय लोकतान्त्रिक गणतन्त्र बचाउने जिम्मेवारी मधेशी जनताको काँधमा आएकाले यसको अगुवाइ लिई हिमाल, पहाड र मधेशका उत्पीडित, विभेद र अन्यायमा परेको जनता एकठाउँमा आएर राष्ट्रिय शक्ति निर्माण गर्न आवश्यक रहेको बताए ।

जिल्ला अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा संघीय सांसद रञ्जु ठाकुर, मधेश प्रदेश सरकारका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेश सांसद अनिरुद्ध प्रसाद सिंह यादव, राजनीतिक समिति सदस्य विनोद चौधरी, संघीय सल्लाहकार समितिका सदस्य शैलेश चौधरी, केन्द्रीय सदस्य रमिला देवी साह, मधेश प्रदेश समितिका मुख्यसचिव दिनेश कुमार यादव, राजविराज नगरपालिकाका कार्यबाहक नगर प्रमुख इसरत परबिन, समाजवादी युवा संघका केन्द्रीय सदस्य राहुल कुमार राय, समाजवादी विद्यार्थी संघ सप्तरीका अध्यक्ष सजय यादव, जसपा सप्तरी क्षेत्र नम्बर १ का अध्यक्ष एवम् तिरहुत गाउँपालिकाका निवर्तमान अध्यक्ष मनोज बहरखेड यादव, राजविराज नगरपालिका–२ का वडा अध्यक्ष अरुण कुमार यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button