
वीरेन्द्र रमण
जनकपुरधाम ।
स्वास्थ्य मापदण्ड विपरित पशु बधशालाको मासु खान उपभोक्ता बाध्य छन् । मधेश प्रदेशको राजधानी जनकपुरधाममा मापदण्ड विपरित सञ्चालनमा रहेको मासु र माछा पसलको अनुमगन हुनसकेको छैन । जसकारण उपभोक्ता मारमा परेका छन् । उपभोक्तालाई हरेक उपभोग्य बस्तु स्वस्थ हुनुपर्छ भन्ने मान्यता छ । तर मधेश प्रदेशको राजधानी जनकपुरधाममा व्यवस्थित बधशाला अभावमा उपभोक्तामाथि ज्यादति छ ।
व्यवस्थित बधशाला नहुँदा उपभोक्ता अस्वस्थ्य मासु खान बाध्य छन् । सडकपेटीमा काटमार गरी खुलारुपमा गरिने मासु पसलले बजार फोहोर र दुर्गन्धित बनेको छ । जनकपुरधामका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन भइरहँदा पनि नियमनकारी निकाय मौन देखिँदा सर्वसाधारणको स्वास्थ्य, बजारको सौन्दर्य र उपभोक्ताको हक एकसाथ हनन् भएको छ ।
सरकारले उपभोक्तालाई स्वस्थकर मासु खाने व्यवस्थासहित पसल सञ्चालन गर्न मापदण्ड बनाएको छ । तर जनकपुरधामका अधिकांश मासु पसल मापदण्ड विपरित सञ्चालित छन् । धार्मिक नगरको रुपमा समेत परिचित जनकपुरमा जताततै मासुपसल सञ्चालन हुँदा यसले नगरको गरिमासमेत घटाएको छ । पशु बधशाला र मासु जाँच नियमावलीअनुसार जनकपुरधाममा एउटा पनि मासु पसल सञ्चालनमा छैनन् । अधिकांश पसलका सञ्चालकले नियमितरुपमा मापदण्ड अनुसार सफाई नगर्दा गुणस्तरहीन मासु किनबेच र उपभोग भइरहेको छ ।
जनकपुरका मासु बिक्रेताले पनि उपमहानगरपालिकाले नियमित अनुगमन नगर्दा अव्यवस्थितरुपमा मासु पसल सञ्चालन भइरहेको बताउन थालेका छन् । पशु बधशालाको अभावमा अव्यवस्थित तरिकाले मासु बिक्री वितरण भइरहेको छ । अव्यवस्थित ढंगबाट सञ्चालित मासु पसललाई व्यवस्थित गर्न नियमनकारी निकायको पनि तातिएको छैन । जसले उपभोक्तामाथि लुट जारी छ, मासु पसलले जनकपुरको सौन्दर्य र धार्मिक शहरको परिचयमा पनि मोसो दलिरहेको छ ।
स्थानीय मासु पसलले मापदण्डका विषयमा हाकाहाकी कुनै जानकारी नै नभएको बताउने गरेका छन् । जनकपुरको पिरारी चोकमा मासु पसल सञ्चालन गर्दै आएका सदाम अलिलाई बजारमा मासु पसल सञ्चालनको मापदण्डका विषयमा कुनै जानकारी नभएको बताउ । उनले कहिलेकहिँ अनुमगनका लागि विभिन्न निकायबाट आउने गरिए पनि कसैले केही नभनेको बताए ।
मधेशका विभिन्न जिल्लामा वार्षिक बरिव ४७ हजार ३ सय ५९ मेट्रिक टन मासु उत्पादन र खपत हुने गरेको छ । तर पसलको सरसफाइ, फोहोर व्यवस्थापन, मासु बिक्री कक्ष, बधस्थल तथा आवश्यक औजार सरसफाइमा ध्यान नदिँइदा उपभोक्ताको स्वास्थ्यमा समस्या हुने गरेको छ । अस्वस्थ्य मासु खाँदा उपभोक्ता बिरामी पर्ने जोखिमसमेत उत्तिकै छ । जनकपुरधामको विभिन्न चोक, माछा बजारलगायतका स्थानमा कुनै पनि मापदण्ड पूरा नगरी मासु पसल सञ्चालन गरिएका पाइन्छ । तर नियमन गर्ने निकाय जनकपुरधामसमेत मौन बस्दा उनीहरुको व्यवसायमा कुनै समस्या भएको छैन, उपभोक्ताको स्वास्थ्य र जनकपुरधामको धार्मिक पहिचानमा मात्र समस्या बनिरहेको छ । खुलेयाम मापदण्ड विपरितका कार्य भइरहेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका सीता चोकका स्थानीय श्रीप्रसाद साहले भने, ‘सडकमै जथाभावी रूपमा खसीबोका काटेर बिक्री गरिँदा पनि सम्बन्धित निकायबाटै कुनै अनुगमन हुने गरेको छैन ।’ जनकपुरधाम धार्मिक नगरी भएकाले जथाभावी काटमार गरिँदा यसको नकारात्मक असरसमेत परेको छ । जनकपुरधाम धार्मिक नगरी भएकाले समेत यसको गरिमा जोगाउन जरुरी छ । अर्कातर्फ व्यवस्थितरुपमा बधशाला निर्माण गरेर मासु पसल सञ्चालन जरुरी भएको छ । यसतर्फ उपमहानगरको ध्यान पुगेको छैन ।
जनकपुरधाम उपमहानगरपालिकाका नगर उपप्रमुख किशोरी साहले जनकपुरधामको धार्मिक गरिमा जोगाउन र मापदण्ड पूरा गरेर व्यवसाय सञ्चालन गर्नु पर्ने सबैको दायित्व रहेको बताए । उनले यसका लागि अनुगमन प्रभावकारी रुपमा अगाडि बढाइने बताए । सरकारले स्वस्थ मासु उत्पादनका लागि पशु बधशाला तथा मासु जाँच ऐन नियम बनाए पनि लागु हुन सकिरहेको छैन । पशु बधशाला र मासु जाँच ऐन, २०५५ र पशु बधशाला तथा मासु जाँच नियमावली, २०५७ कागजी पानामा सीमित भएको छ । सरकारले स्वस्थ मासु उत्पादनका लागि मासु बधशाला र मासु जाँच ऐन नियमावली बनाए पनि व्यवसायीले नियमावली अवलम्बन गरेका छैनन् । नियमनकारी निकायको ध्यान कम जाँदा व्यवसायीले सजिलो बाटो अपनाउँदै बजारका चोकमा पनि मासु पसल चलाइरहेका छन् । उनीहरुले काटमार गरिरहेको खसीबोका र चौपाया स्वस्थकर हो कि होइन भन्नेसमेत कुनै चेकजाँच छैन ।






