‘चुरेको अर्बौँ लुट र बाँडफाडले मधेश उजाड’

[mashshare]

मधेशदृष्टि
काठमाडौँ ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् सांसद प्रभु साहले चुरे संरक्षणका नाममा अर्बौँ रकम लुटिने र बाँडफाँडमै सकिने बताएका छन् । चुरेको विनाशले हराभारा तराई मधेशका जिल्ला मरुभूमि भइरहेको उनले बताए । प्रतिनिधिसभाको बैठकमा पूर्वमन्त्रीसमेत रहेका साहले चुरेकोको विनाशले तराई मधेशमा पानीको हाहाकार भइरहेको बताए ।

उनले मौसम परिवर्तनको कारण तराई–मधेशमा पानीको सतह सुक्दै गएको बताए । साहले अवैध उत्खनन अहिले पनि जारी रहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । अहिले तराई मधेशको पर्यावरण पनि तहसनहस र बिग्रिएको साहको आरोप छ । ‘चुरिया संरक्षणका नाममा अर्बौँ बजेट बाँडफाँट हुन्छ, लुट हुन्छ । चुरिया संरक्षणमा के भइरहेको छ, हामी जान्न चाहन्छौँ । चुरिया संरक्षण किन अगाडि बढेन ? हालसम्म के कति प्रगति भयो, हामी जान्न चाहन्छौँ,’ आजपा अध्यक्ष साहले भने, ‘चुरिया संरक्षणको नाममा मान्छे मोटाउने, भ्रष्टाचार गर्ने काम मात्रै भइरहेको छ ।’

चुरिया दोहनले तराई मधेश मरुभूमि भइरहेको र कहिल्यै नसुक्ने गहिरो इनार सुकिरहेको, चापाकलमा पानी आउन छोडिसकेको बताउँदै उनले थपे, ‘चुरेको विनाशले कहिल्यै नसुक्ने त्यत्रो गहिरो इनार सुकिरहेको छ । चापाकलमा पानी आउन छोडिसकेको छ । खानेपानी अभाव नहुने ठाउँमा आजको दिनमा खानेपानीको हाहाकार भइरहेको छ । यस विषयलाई गम्भीररुपमा लिन र मानवीय दायित्वसँग आत्मसात गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

‘खास गरेर रौतहटका बकैया र बागमतीका बाँध गतवर्षका बाढीबाट तहसनहस भएका छन् । त्यतिबेला राजदेवीलगायतका गाउँ जलमग्न थिए । गाउँले डुबानमा थिए । अझैसम्म पनि बन्ने छाँटकाँट देखिएको छैन् । तराई–मधेशमा करिब सबैतिर यस्तै अवस्था छ । कि त भत्किएका छन्, कि भत्किने चरणमा छन् । तर, सरकार कानमा तेल हालेर बसेको छ । सरकार त बास्तवमा सुतेर बसेको छ । के यो मानवीय दायित्वसँग जोडिएको विषय होईन र ? तराई जलमग्न हुँदा हामीहरुले के टिभीमा हेरेर मजा लिने हो ? कि त्यसमा हाम्रो दायित्व पनि बन्छ ?’ साहले भने । उनले तराई–मधेशका लागि बाढी अभिसापसिद्ध भएको टिप्पणी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button