
मधेशदृष्टि
बारा ।
मधेश प्रदेशको बारा जिल्ला नेपाली राजनीतिमा सबैभन्दा बलशाली र शक्तिशाली देखिन्छ । बारा क्षेत्र नम्बर १, २ र ३ कै राजनीतिक अनुहार नेपाल सरकार र मधेश सरकारमा हालिमुहाली गरिरहेका छन् । बारा–१ को प्रदेशमा जितेका सरोजकुमार यादव मधेश प्रदेश सरकारका मुख्यमन्त्री छन् । क्षेत्र नम्बर २ बाट २०७९ मंसिरमा जितेका रामसहायप्रसाद यादव उपराष्ट्रपति छन् । वैशाख १० गतेको उपनिर्वाचनमा जितेका उपेन्द्र यादव नेपाल सरकारका उपप्रधानमन्त्री र स्वास्थ्य तथा जनसंख्या मन्त्री छन् । क्षेत्र नम्बर ३ का ज्वाला साह नेपाल सरकारकै कृषिमन्त्री छन् । क्षेत्र नम्बर ४ बाट जितेका किसान श्रेष्ठ मात्रै वर्तमान सरकारमा मन्त्री हुन रोकिएका हुन् । यसरी झट्ट हेर्दा नेपाली राजनीतिमा बारा जति भाग्यमानी र शक्तिशाली अरु को होला भन्ने पर्छ ।
तर यस्ता हेभिवेट नेताहरुको सहर, सदरमुकाम कलैयाको प्रादेशिक अस्पतालको भने बेहाल देखिएको छ । करिब डेढ महिनादेखि प्रादेशिक अस्पताल कलैयाको सघन उपचार कक्ष(आइसियु)मा एसी नै छैन । पत्याउनु हुन्छ, आइसियुमा एसी छैन भनेर ? नपत्याएर के गर्नुहुन्छ ? सामाजिक सञ्जालभरि एसी नभएको भिडियो भाइरल भइरहेको छ कि प्रादेशिक अस्पतालको एसी गायब छ । एउटा होइन, दुई–दुई वटा एसी छैन आइसियुमा ।
अस्पतालमा एसी नभएपछि बिरामी भएर नजिकको सरकारी अस्पताल जाने बिरामीले पंखा लिएर जाने गरेका छन् । बिरामीका आफन्तहरुले आफ्नै पंखा लिएर अस्पताल पुगेर आइसियुमा पंखाको हावामा उपचार गरिरहेको भिडियो सार्वजनिक भएपछि राजनीतिक नेतृत्वको पनि खिल्ली उडाइएको छ । राजनीति गर्ने नेताहरुले जनताको स्वास्थ्यमा कसरी नजरअन्दाज गर्छन् भनेर आलोचना पनि भइरहेको छ । अझ बारा–२ कै उपनिर्वाचनबाट जितेका उपेन्द्र यादव स्वास्थ्य मन्त्री छन् । स्वास्थ्य क्षेत्रमा राम्रो सेवा दिन शुक्रबार मात्रै जनकपुरमा निर्देशन दिइरहेका स्वास्थ्यमन्त्रीको चुनाव जितेको जिल्लामा भने डेढ महिनादेखि नै अस्पतालको आइसियुको बेहाल भएको खबरबारे यादव जानकार भएनन् या कसैले उनलाई सुनाएनन् ? जे होस्, कलैया अस्पतालको आइसियुको एसी गायव भएको विषयले अहिले मधेशभर तरंग दिएको छ । जनता सास्ती भोगिरहेका छन् । जनताले घरबाट पंखा लिएर उपचार गर्न जानु पर्ने बाध्यताबाट कहिले मुक्ति पाउलान् ?
‘नयाँ एसी किन्नुपर्ने अवस्था छ’ : प्रेम कुमार पण्डित, सूचना अधिकारी, कलैया अस्पताल
अस्पतालको आइसियु कक्ष अलि ठूलो छ । त्यहाँ दुई वटा एसी थिए । करिब डेढ महिनाअघि दुवै एसी बिग्रिए । बिग्रिनुमा चैँ चोरहरुले पाइप काट्ने काम गरेको पाइएको छ । दुई वटै एसी बिग्रिएपछि मर्मतको काम गरेका हौँ । एउटा एसी बनाएपछि चलिरहेको छ । अर्को बनाउन लागिरहेका छौँ । तर बन्ने सम्भावना कम छ । किनभने एसीका धेरै सामान खराब भएका छन् र चोरहरुले पाइप र तार काटेर क्षति पु¥याएको पाइएको छ । एसी गायब भएको होइन, निकालेर बनाउन पठाएका हौँ । एउटा मात्र बन्यो, अर्को बन्न सकेको छैन ।
यदि बनेन भने अर्को एसी नयाँ भए पनि किनेर जोड्नु पर्ने अवस्था छ । कोठा ठूलो भएकाले एउटा एसीले थेग्नै सक्दैन । बिरामीले दुःख पाएका हुन् । तर अस्पतालको एसी गायब पारिएको हल्ला मात्रै हो । सकभर मर्मत गर्छौँ, नभए आइतबार हेरेर नयाँ एसीका लागि पहल गर्छौँ । जनताले गरेको खबरदारी र आलोचनाले हामीलाई सेवाग्राहीप्रति जिम्मेवार हुन प्रेरणा मिलेको छ । पहिला गर्मी कम भएकाले लामो समय एसी नचाहिएको जस्तो देखिएको हो । अहिले गर्मी बढेकाले एसी चाहिन्छ नै, हामी प्रयत्नशील छौँ । (कुराकानीमा आधारित)






