‘भारत नेपालको लोकतन्त्र सफलता चाहन्छ’

[mashshare]

मधेशदृष्टि
काठमाडौंँ ।
इन्डिया फाउन्डेसनका अध्यक्ष राम माधवले नेपाल आफ्नो कुनै पनि निर्णय लिन स्वतन्त्र रहेको बताएका छन् । नेपाल भारत संस्कृत सम्मेलन समापन समारोहमा उनले भने, ‘नेपालमा जे जति हुन्छ, त्यो नेपाली समाजको इच्छाअनुसार नै हुन्छ । यहाँ बेलाबखत राजनीतिक कुरा चलिरहन्छन् । यहाँ यदि कोही हिन्दू राष्ट्रको कुरा गर्छ भने त्यसलाई भारतको षड्यन्त्र भन्ने गरिन्छ । म तपाईंलाई आश्वस्त पार्छु, यसमा कुनै षड्यन्त्र छैन ।’

राष्ट्रिय स्वयम्सेवक संघ भारतका अखिल भारतीय कार्यकारी मण्डलका सदस्य र भारतीय जनता पार्टीका पूर्व महासचिवसमेत रहेका राम माधव भने, ‘नेपाल लोकतन्त्र हो, भारत पनि लोकतन्त्र हो । नेपालको लोकतन्त्र सफल होस भन्ने चाहान्छ भारत । र, नेपालको लोकतन्त्र सफल बनाउने जिम्मेवारी नेपालीहरुको नै हो । कोही पनि यसमा न त षड्यन्त्र गर्छ, न हस्तक्षेप । यसमा यदि नेपालले सहयोगको इच्छा देखाउँछ भने भने भारत सहयोगका लागि हरदम तयार छ ।’

उनले भने, ‘यहाँ कस्तो शासन व्यवस्था चाहिन्छ ? यसको निर्णय यहाँका मानिसले नै गर्नुपर्छ । हामी साझा संस्कृति र साझा विरासतका मानिस हौँ । यो राजनीतिक विषय नै होइन । यो सभ्यताको विषय हो । एउटै सभ्यताका व्यक्ति भएको नाताले हामीले एकआपसमा मिलेर काम गर्नुपर्छ । यो सम्प्रभुताका विषय होइन । युरोपका २७ देश मिलेर त्यहाँका कैयौँ मुद्दामा सामुहिक तवरमा छलफल गर्छन् र समस्या समाधान गर्छन् भने नेपाल र भारत मिलेर हाम्रो भाषा, संस्कृति अनि सभ्यताको पुनरूत्थानका लागि किन काम गर्न सक्दैनन् ? हामीले यो प्रयासलाई अगाडि बढाउनुपर्छ ।’ नीति अनुसन्धान प्रतिष्ठान, इन्डिया फाउन्डेसन र केन्द्रीय संस्कृत विश्वविद्यालयको संयुक्त आयोजनामा बुधबारदेखि सुरु भएको तीन दिवसीय अन्तरराष्ट्रिय संस्कृत सम्मेलन शुक्रबार सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button