
मधेशदृष्टि
जनकपुरधाम ।
उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रतिबद्ध हुन निर्देशन दिएका छन् । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमातहतको प्रादेशिक अस्पताल जनकपुरधाममा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले भौतिक संरचना निर्माण र प्राविधिक व्यवस्थापनले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव नरहेको उल्लेख गरे ।
दक्ष जनशक्तिको प्रतिबद्धताले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव रहेको उल्लेख गर्दै उनले चिकित्सकहरुलाई प्रतिबद्धताका साथ सेवामा जुटन निर्देशन दिए । उनले भने, ‘सरकारले भौतिक पूर्वाधार र दक्ष जनशक्ति व्यवस्थापन गर्छ, गुणस्तरीय सेवाका लागि प्रतिबद्धता देखाउने जिम्मेवारी मिथिलाबासीको हो । मिथिलावासीलाई प्रमाणित गरेर देखाउनु पर्दछ ।’
मधेश प्रदेशले छिट्टै स्वास्थ्य क्षेत्रमा फड्को मार्ने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री यादवले जनकपुर, राजविराज र वीरगंजमा स्वास्थ्य क्षेत्रको ठूलो प्रोजेक्टमा काम भइरहेकोे उल्लेख गरे । स्वास्थ्यलगायतका क्षेत्रमा अमेरिकी सहयोगका लागि अमेरिका सरकार र त्यहाँको जनतालाई धन्यवाद दिँदै उपप्रधानमन्त्री यादवले एमसिसीमार्फत भइरहेको विकास निर्माणको चर्चासमेत गरे ।
युएस इन्डो प्यासिफिक कमान्ड र युएस एम्बेसीको सहयोगमा करिब ६ करोड रुपैयाँको लागतमा निर्मित ७५ बेडको बर्थिङ्ग सेन्टर शिलान्याससमेत २०१८ नोभेम्बर १९ मा उपप्रधानमन्त्री यादवले नै गरेका थिए । प्रादेशिक अस्पतालमा वर्षेनी १२ हजार बढी प्रसुती हुँदै आएकामा बर्थिङ सेन्टर निर्माणले सुरक्षित प्रसुती सेवा प्रदान गर्न सहयोगी सावित हुने चिकित्सकहरुले बताए । यसका साथै मातृ मृत्युदर घटाउनसमेत मदत पुग्ने उनीहरुको भनाई थियो ।
प्रतिष्ठानका उपकुलपति डा. अंकुर साहको अध्यक्षतामा भएको समारोहमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह, ऊर्जा, खानेपानी तथा सिँचाइमन्त्री सिंगासन सा कलवार, राज्यमन्त्री केशव राय चौधरी, संघीय स्वास्थ्य सचिव रोशन पोखरेल, अमेरिकी राजदूत डिनआर थम्सन, प्रदेशका स्वास्थ्य सचिव डा. प्रमोद यादव, प्रादेशिक अस्पतालका निर्देशक रामनरेश पण्डितसहितको सहभागिता थियो ।






